कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कर्णाली राजमार्गमा पहिरो : करोडौंको स्याउ जुम्लामै अलपत्र

भाद्र १४, २०८१
कर्णाली राजमार्गमा पहिरो : करोडौंको स्याउ जुम्लामै अलपत्र

जुम्ला — पातारासी–६ उर्थुका सुकबहादुर बिष्टले बिहीबार बेचेको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ । बगैंचामै ७० रुपैयाँ किलोमा बेचेर भरेको स्याउ बोकेको ट्रक कर्णाली राजमार्ग पहिरोले अवरुद्ध भएपछि बाटोमै अलपत्र परेको हो ।

‘गगनेखोलामा पहिरोले सडकको नामोनिसान नै नरहने गरेर बगाएको खबर सुन्दैछु,’ उनले भने,‘कहिले सडक खुल्ने हो । कहिले स्याउ बजारसम्म पुग्ने हो भन्ने चिन्ता छ ।’

उनको स्याउ व्यापारीले बजारमा बेचेर मात्र रुपैयाँ दिने भनेका छन् । उनका अनुसार सडकमा पहिरो जाने वित्तिकै स्याउको मूल्य पनि किलोमा १० रुपैयाा घटेको छ । ७ सय बोट स्याउको बगैंचा भएका पातारासी–६ कै भीमबहादुर बिष्टले ४५ क्विन्टल स्याउ पठाएका छन् ।

बुधबारदेखिको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि उनले पठाएका गाडी पनि बाटोमै रोकिएका छन् । ‘१० क्विन्टल अलि पहिला पठाएकोले बजारसम्म पुगिसकेको छ,’ भीमबहादुरले भने,‘एक दिनअघि मात्र पठाएको ३५ क्विन्टल स्याउ बाटोमै अलपत्र परेको छ ।’

उनका अनुसार तीन दिनसम्म पनि सडक नखुले स्याउ कुहिन्छन् । उनले आफ्नो गाउँ उर्थुको ७५ प्रतिशत स्याउ बाटोमै रोकिएको बताए । उर्थुबाट लिइएका ३० गाडी स्याउ बाटोमै रोकिएको किसानहरुले बताएका छन् । यहाँका सयौं किसानले पठाएको स्याउ सडकमा रोकिएको छ ।

यो पटक जुम्लामा १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएकोमा १० हजार मेट्रिक टन निर्यात हुने प्रक्षेपण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले हरेक वर्ष सडकले जुम्ली किसानलाई धोका दिँदै आएको बताए । स्याउ बेचेर किसानले ४० करोड जुम्ला भित्र्याउने लक्ष्य राखिएको बताए ।

जुम्लामा चार हजार ५ सय हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ । स्याउ व्यापारी जयलक्ष्मी भण्डारीले बगैंचाबाट टिपेर राखेको स्याउन सडक बन्द भएपछि थन्किएको बताइन् । उनले भनिन्,‘एक दुई दिनमा सडक खुलेत ठिकै होला । नखुल्ने हो भने स्याउ कुहिएर खेर जाने निश्चित छ ।’


२२ वर्षदेखि स्याउको ब्यापार गर्दै आइरहेकी उनले जुम्ली स्याउको आफ्नै खाले पहिचान भए पनि सडक राम्रो नहुँदा बर्षेनी किसानले क्षति बेहोरिरहेको दुखेसो पोखिन् । उनले भनिन्,‘बजारमा जुम्ली स्याउको माग अधिक छ । सरकार सडक बनाइदिदैन । हरेक गाडीबाट १० प्रतिशत स्याउ त हल्लिएरै कुहिने गरेको छ ।’

जिल्ला प्रहरी प्रमुख डिएसपी अर्जुन केसी कालीकोट खण्डमा मात्रै २२ वटा स्याउका गाडी रोकिएको बताए । पहिरो पन्छाउने काम भइरहे पनि अझै कति समय लाग्ने भन्ने एकिन नभएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले बताए । कर्णाली राजमार्गमा गएको पहिरोले जुम्लाका स्याउ किसानलाई निकै असर परेको भन्दै छिटोभन्दा छिटो सडक खुलाउन पहल गर्न मुख्यमन्त्री यामलाल कँडेलको ध्यानाकर्षण गरिएको छ ।

हिमा–१ का वडाध्यक्ष रतबहादुर शाहीले अहिले काम भइरहेको र सरकारले प्राथमिकताका साथ पहिरो पन्छाउने कार्य अघि बढाइदिन आग्रह गरेको बताए ।

प्रकाशित : भाद्र १४, २०८१ २०:२५
x
×