कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

तरकारी खेतीले सुधारियो जीवन 

भाद्र १२, २०८१
तरकारी खेतीले सुधारियो जीवन 

सल्यान — सिद्धकुमाख गाउँपालिका-३ ढोडचौरका ४२ वर्षीय कुलाराम रेउले बच्चैदेखि कृषि पेसामा रुची राख्थे । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई पढाइ खर्च जोहो गर्न समेत मुस्किल हुन्थ्यो। त्यहीकारण कक्षा ८ मा पढ्दा-पढ्दै उनले करेसाबारीमा तरकारी लगाउन सुरु गरे ।

विद्यालय कृषि र पूर्व व्यवसायिक शिक्षाबाट प्रभावित भएर करेसाबारीमा तरकारी लगाएका उनले पढाइ खर्चका लागि केही रकम जुटाई २०५८ तिर एसएलसी पास गरे ।

त्यसपछि पढाइ खर्च जुटाउन हम्मे-हम्मे पर्न थालेपछि उनी २०६३ सालदेखि कृषि सम्बन्धी सामान्य ज्ञानकै भरमा व्यवसायिक तरकारी खेतीमा लागे । व्यवसायिक तरकारी खेतीमा लागेका उनले अहिले वार्षिक ४२ लाख आम्दानी गर्दै आएका छन् । तरकारी खेतीबाटै उनको जीवन सुधारिएको छ ।

सुरुवातमा घरकै करेसाबारी हुँदै केही रोपनी जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेका उनले अहिले ५७ रोपनी जग्गामा विभिन्न जातका तरकारी, अदुवा, बेसार लगाउँदै आएका छन् । विगतमा विभिन्न अभाव र दबाब झेल्दै आएका र घर खर्च चलाउन हम्मे-हम्मे पर्ने उनी व्यवसायिक तरकारी खेतीमा लागेपछि जिल्लाकै उत्कृष्ट किसानको रुपमा परिचित भएका छन् ।

पुरानो घर उचाल्ने र ढोडचौरमा बन्दा, काउली, खुर्सानी, भेडे खुर्सानी, टमाटर, अदुवा, बेसार लगाउँदै आएका उनले कमाएको पैसाले घरको सातजनाको परिवारलाई सजिलै पाल्दै मात्र आएका छैन् । तरकारी बिक्री गर्नका लागि उनले आफ्नै एक गाडी समेत खरिद गरेका छन् । विगतमा काम खोज्दै हिड्ने गरेका उनी अहिले घरमै वार्षिक १५ जनालाई रोजगारी दिन सक्षम भएका छन् ।

तरकारी खेतीबाटै कमाइ गरेको रकमले उनले २० रोपनी जग्गा जोडेका छन् भने आफ्ना तीन भाई बहिनीलाई पढाएर सरकारी जागिर खुवाउन सफल भएका छन् । देशमा रोजगारी नपाएको नाममा अहिले दैनिक सयौँ युवा युवती विदेश पलायन भइरहेका बेला इच्छाशक्ति भए गाउँघरमै काम गरेर राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् उनी ।

बच्चैदेखिको रुचीका साथै विद्यालयमा पढ्दै गर्दा कक्षा ८/९ मा पूर्व व्यवसायिक र कृषि शिक्षा पढेर नै त्यसबाट प्रभावित भएर तरकारी खेतीमा लागेको कुलाराम बताउँछन् । तरकारी खेतीबाटै कमाएको रकमले २० रोपनी जग्गा, केही घडेरी जाडेको र आफना तीन भाईलाई पढाएर सरकारी नोकरी खुवाउन सफल भएको उनले बताए ।

‘पहिला आर्थिक अवस्था कमजोर भएकाले जीविकोपार्जन गर्न कठिन थियो । आफूले सोचे अनुसार केही गर्न सक्ने अवस्था थिएन, तरकारी खेतीमा लागेपछि जीवनयापनमा सहज भएको छ,’ उनले भने, 'अहिले न त रोजगारीको लागि कसैसँग हात जोडनु परेको छ, न दुई छाँक खर्च टार्नलाई अरुको भर पर्नु परेको छ’ ।


कृषिका बारेमा पोख्त नभई तरकारी खेती गर्दा विभिन्न किसिमका अवरोध सिर्जना भएपनि ती सबैलाई पार गर्दै निरन्तर तरकारी खेतीलाई अगाडी बढाएको उनको भनाइ छ ।

उनले ४० रोपनी जग्गामा बन्दा, खुर्सानी, काउली र १० रोपनी जग्गामा अदुवा र बेसार खेती लगाएका छन् । त्यस्तै, ढोडचौरको १७ रोपनी जग्गामा पनि तरकारी खेती छ । दुवै ठाउँको खेती उनको परिवारले नै हेर्दै आएका छन् । तरकारी खेतीबाट परिवारका सात जनालाई घरमै रोजगारी मिलेको उनले बताए । 'घरका सबैले यही काम गर्छौँ । बाहिरका १० जनालाई नियमित रोजगारी दिएको छु,' उनले भने ।

सामान्य पढेको आधारमा व्यवसायिक तरकारी खेती गर्दा विगतमा धेरै समस्या भोग्नु परेको र बेलाबेलामा रोगका कारण लाखौँको लगानी गुमाउनु परेको तितो अनुभव पनि छ उनीसँग । कृषि बिकास कार्यालयले प्राविधिक, आर्थिक सहयोगका साथै सिँचाइका लागि कुलो निर्माण गरेपछि तरकारी खेती गर्न धेरै सहज भएको उनले बताए ।

उत्पादित तरकारी कतिपय स्थानीय बजारमा बिक्री गर्दै आएको र धेरैजसो आफ्नै गाडीमा दाङ, नेपालगन्ज, बुटवल, भालुबाङ लगेर बिक्री गर्दै आएको उनको भनाइ छ । तरकारीको मुल्यमा एकरुपता नभएकाले र स्थिर मूल्य नहुँदा सस्तोमा उत्पादित तरकारी बिक्री गर्नु पर्ने बाध्यता रहेको उनले दुःखेसो पोखे ।

उनले भने, ‘मंसिरमा उत्पादित काउलीले भाउ नपाउँदा बुटवल लगेर ५ रुपैयाँप्रति किलो बिक्री गर्न पर्दा झन्डै ३ लाख घाटा भएको थियो । सम्बन्धित निकायले बजारको उचित व्यवस्था गरिदिए उत्पादित तरकारी बिक्री गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १२, २०८१ १६:२२
x
×