कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

स्याउ बेचेर छोरालाई इन्जिनियर

भाद्र १०, २०८१
स्याउ बेचेर छोरालाई इन्जिनियर

जुम्ला — चन्दननाथ नगरपालिका २ का ५८ वर्षीय रत्नबहादुर भण्डारीले गरिबीका कारण पढ्न पाएनन् । चन्दननाथ मावि खलंगाबाट १० कक्षा उत्तीर्ण गरेका रत्नबहादुरको पढाइमा गरिबीको पहाड उभियो । आफूले पढ्न नसकेको पीडा सम्झिँदै रत्नबहादुर अहिले सन्ततिको भविष्य बनाइरहेका छन् ।

आय आर्जनका अरू काम नभएपछि उनले २०५२ सालमा ६५ वटा स्याउका विरुवा रोपेर बगैंचा स्थापना गरे । उतिबेला प्रति स्याउका विरुवा दुई रुपैयाँ थियो । विरुवा खरिद गर्ने दुई रुपैयाँको जोहो गर्न पनि त्यतिबेला हम्मेहम्मे पर्थ्यो । रोपेको तीन वर्षमै उत्पादन दिन थाल्यो । त्यसपछि विरुवा थप्दै गए । अहिले उनको बगैंचामा ३ सय ६५ स्याउका बोट छन् । सबै बोटले फल दिन्छन् । स्याउबाटै पछिल्लो दुई–तीन वर्षमा वार्षिक आम्दानी ३ देखि ४ लाख रुपैयाँसम्म भइरहेको उनले बताए ।

स्याउकै आम्दानीले २३ वर्षीय छोरा दिनेश भण्डारीलाई काठमाडौंमा राखेर सिभिल इन्जिनियरिङ पढाइरहेको रत्नबहादुरले सुनाए । एकमी कलेजमा पढिरहेका दिनेशको पठनपाठन पनि राम्रै छ । त्यसअघि दिनेशले नासा कलेजमा पढेका थिए । एसईईपछि छोराको पढाइमा झण्डै ४० लाख खर्च भइसकेको उनले बताए ।

‘आफूले खर्च नहुँदा धेरै आशाहरू मार्नु परे पनि अब छोराछोरीको भविष्यमा कुनै बाधा आउन दिनेछैन,’ रत्नबहादुरले भने, ‘स्याउ बगैंचामा चाहिने मलका लागि स्थानीय र उन्नत जातका गरेर १३ वटा गाई पालेको छु । गाईको दुध बेच्न सदरमुकाम खलंगाको कालेखोलीमा आफ्नै पहलमा डेरी खोलेको छु । दुध बेचेर पनि मासिक १५ देखि २० हजार कमाइरहेको छु ।’

रत्नबहादुरले छोरालाई इन्जिनियरिङ मात्र पढाएका छैनन्, माइली छोरी मीनालाई सशस्त्र प्रहरी बनाएका छन् । साइँली छोरी संगीता सर्भे विषय पढिरहेकी छिन् । कान्छी छोरी निराशा जेटीए सकेर अहिले चन्दननाथ माविबाट १२ कक्षा पढ्दैछिन् । जेठी छोरी मायादेवीले स्नातक उत्तीर्ण गरेकी छन् । तीन छोरीले विवाह गरिसकेकाले रत्नबहादुरको घरमा चार जना मात्रै छन् । ‘घर बलियो नहुँदा १० कक्षासम्म पढें । त्यसभन्दा अघि बढ्न सकिनँ,’ उनले भने, ‘समयमै स्याउ खेतीतिर लागेर छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन पाएकामा खुसी छु ।’

रत्नबहादुर विगत २५ वर्षदेखि उनले स्याउ बेचिरहेका छन् । अहिलेसम्म स्याउ खेतीबाट मात्रै ५० लाख रुपैयाँसम्म कमाइ गरेको अनुभव उनको छ । उनले भने, ‘जति स्याउबाट कमाएँ, बालबालिकामा खर्च गरें ।’

१० हजार वर्गमिटर क्षेत्रफल फैलिएको बगैंचामा रेड, रोयल र गोल्डेन जातको स्याउ रोपिएको छ । यो समयमा रत्नबहादुरलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । गत वर्षसम्म भदौ १५ देखि स्याउ टिप्ने उनी यस वर्ष पहिलो सातामै स्याउ टिपिरहेका छन् । जलवायुको हलचलका कारण स्याउ छिटो पाकिरहेको उनको भनाइ छ । ‘यस पटक स्याउमा कलर पनि छिटो आयो । गुलियो पनि छिटो भरियो,’ उनले भने, ‘अचेल स्याउ पाक्ने सिजनमा फरक भइरहेको छ ।’

स्याउ बगैंचामा स्याउ टिप्न र गोडमेलको लागि बर्सेनि चार जनासम्मलाई उनले रोजगारी दिइरहेका छन् । प्रतिकेजी ७० रुपैयाँमा किसानले बगैंचाबाटै स्याउ बेचिरहेका छन् । लामो खडेरीका कारण यस वर्ष स्याउ उत्पादनमा गिरावट आएको छ । चार लाखसम्मको स्याउ बेच्ने उनको तयारी छ ।

पहिले जस्तो स्वाद नहुने, समयमै पाकेजस्तो देखिने, रुख र दानाको साइज घट्दै गएको छ । स्याउ खेतीमा लगाव देखिएको भन्दै उनलाई जिल्ला कृषि विकास कार्यालय जुम्लाले उत्कृष्ट मुख्यमन्त्री कृषक पुरस्कारसमेत दिएको थियो । सुख्खा पाखोमा पानी बोकेर हुर्काएर फल दिइरहेका स्याउले जीवनमा निकै परिवर्तन ल्याएकामा उनी खुसी छन् । ‘सुरुमा विरुवा रोप्दा कसैले पत्याएका थिएनन्,’ उनले भने, ‘अहिले बर्सेनि लाखौंको स्याउ बेच्दा अचम्म मान्छन् ।

एक पटक सुपरजोन र कृषि कार्यालयले वर्षायामको पानी र हिउँदको हिउँ संकलनले तीन/तीन लाखको पानी ट्यांकी बनाइदिएका थिए । त्यसबाहेक सरकारी सुविधा नपाएको उनको दुखेसो छ । ‘किसानको अनुदान बिचौलियाको हातमा पुगेको छ । कृषि उत्पादनमा लगानी छैन । राम्रो बजार र सडक छैन,’ उनले भने, ‘तैपनि, हामी किसानले उत्पादन बढाइरहेका छौं ।’ छोरा दिनेशको नामबाटै उनले स्याउ बगैंचाको नाम पनि राखेका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ १६:४६
x
×