कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

गुरुयोजना विनाको कामले कुपिण्डे तालको संरक्षण न विकास

भाद्र ९, २०८१
गुरुयोजना विनाको कामले कुपिण्डे तालको संरक्षण न विकास

सल्यान — गुरुयोजनाविनै खर्च गरिँदा ‘मिनी रारा’को नामले समेत चिनिने बन्गाड कुपिण्डे नगरपालिका–८ मा पर्ने कुपिण्डे तालको संरक्षण हुन सकेको छैन । जिल्लाको महत्वपूर्ण पर्यटकीयस्थल कुपिण्डे ताल संरक्षणसँगै विकासका लागि नेपाल सरकार, पर्यटन बोर्ड, तत्कालीन जिल्ला विकास समिति, गाविस, संसद् विकास कोष, स्थानीय तह, प्रदेश सरकारले २० वर्षको अवधिमा झन्डै ५ करोड बजेट खर्च गरिसकेका छन् ।

प्रभावकारी काम हुन नसक्दा दुई दशकअघि ताल जस्तो थियो अहिलेसम्म त्यस्तै अवस्थामा छ । गुरुयोजना नबनाई हचुवाको भरमा संघसंस्था तथा टाठाबाठालाई काम गर्ने जिम्मेवारी सुम्पिदा तालमा कुनै परिवर्तन आउन नसकेको हो । सडक खन्दा खसेका ढुंगामाटो, बर्षातको समयमा पानीको भेलले बगाई ल्याएको फोहरले कुपिण्डे ताल साँघुरिदै गएको छ । ३० हेक्टर क्षेत्रफलमा रहेको तालको लम्बाई १ हजार २ सय मिटर, चौडाई २ सय ५० मिटर, गहिराई ५१ मिटर छ ।

पर्यटकले प्रयोग गरी फालेका बस्तुले ताल आसपासका क्षेत्र दुर्गन्धित बन्दै गएको छ । ताल संरक्षणका साथै विकास निर्माणको काम अन्तर्गत सडक, बाढीपहिरो रोकथामका लागि तटबन्ध, पानी, प्रतिक्षालय, पर्यटक तथा तीर्थयात्रीलाई आवास, ताल अवलोकन गर्न रिङ्गरोड तथा भ्यूटावर निर्माण गर्ने भन्दै आए पनि सरकारले उपलब्ध गराएको रकमबाट चार प्रतिक्षालय, एक चारकोठे आवास, प्रबेशद्वार र एक किलोमिटर जति सडक र ताल वरिपरी रहेका खहरे खोलामा तटबन्धमा सिमित छ । एक प्रतिक्षालय र तालको छेउसम्म जान बनाएका सिढीसहितका रेलिङ्ग भत्किएर पुरिइसकेका छन् । भएका संरचना केही जीर्ण भएर प्रयोग गर्न नमिल्ने भएका छन् ।

सडक निर्माण गर्दा र वर्षातको समयमा खोलाले बगाएको फोहर तथा नदीजन्य वस्तु व्यवस्थापन गर्न नसक्दा ताल साँघुरिदै गएको स्थानीय तथा डुंगा संचालक शंकर यरीले बताए । विभिन्न संरचना निर्माणको लागि आएको बजेटबाट सडक निर्माण गरेका र पछिल्लो समयमा सरकारले उपलब्ध गराएको बजेट विभिन्न अवरोधका कारण फिर्ता गैरहेकाले थप कुनै संरचना नबनेका उनले बताए ।

‘बनेका संरचना पनि अहिले काम लाग्ने अबस्थामा छैनन् । ताल अवलोकनका लागि आएका पर्यटकले प्रयोग गर्न छाडेका छन्,’ उनले भने ‘पर्यटकलाई खानबस्नका होमस्टे संचालन, पर्यटक आकर्षित गर्न ताल वरिपरी रेलिङ्ग, चारैतिरबाट ताल अवलोकन गर्न भ्यूटावरलगायत धेरै काम गर्ने भने पनि अहिलेसम्म ती काम हुन सकेका छैनन् ।’ दैनिक दुई सय बढी पर्यटक आउने कुपिण्डे तालमा पछिल्लो समयमा पर्यटक घटेका उनको भनाई छ ।


पछिल्लो समयमा समिति निस्क्रिय भएकाले ताल संरक्षणका विषयमा खासै कुरा उठ्न छाडेको स्थानीय डुंगा चालक कुमार कवरले बताए । बर्षातको समयमा बराह मन्दिरको छेउछाउसम्म पानी हुने कुपिण्डे तालमा अहिले सतह घटेको उनले बताए ।

उनले भने, ‘ताल चारैतिरका जंगलमा फागुन, चैतमा लालीगुँरास फुलेर रातै देखिने गर्छ । तालसँगै जलचर र आसपासका क्षेत्रबाट अन्य वस्तु अवलोकन गर्न सकिन्छ । त्यतातिर कसैको ध्यान गएको छैन । जसका कारण आएका पर्यटक तालमा डुंगा शयर गरेर मात्र फर्कने गर्छन् । सानातिना संरचना भन्दा पछिल्नो समयमा पर्यटक घट्दै गएको बेला पर्यटकलाई आकर्षित गर्ने र टिकाउने कार्य गर्न आवश्यक छ’ ।

नेपाल सरकार, जिविस, पर्यटन बोर्डले २०६२ देखि वार्षिक आठदेखि १० लाख अनुदान दिने क्रममा अहिलेसम्म एक करोड बढी खर्च भएको छ । पहिरो नियन्त्रणका लागि भन्दै तत्कालीन भूसंरक्षण कार्यालयले ५० लाख, तत्कालीन जिविसले संसद विकास कोषबाट ४० लाख, संघीयता पश्चात संघले २५ लाख, कर्णाली प्रदेशले ४० लाख, बन्गाड कुपिण्डे नगरपालिकाले ८० लाख, डिभिजन वन कार्यालयले पर्यटन प्रवर्द्धनका लागि ८० लाख, जलाधार कार्यक्रमबाट ३० लाख, बजेट बिनियोजन गरेपनि ती रकमले मात्र काम भएको देखिएको र ती रकमबाट तटबन्ध, गेट, सडक निर्माण गरिएको बन्गाड कुपिण्डे नगरपालिका-८ का वडाध्यक्ष कुलबहादुर पुरीले बताए ।

गुरुयोजना प्रभावकारी बन्न नसकेको, ताल संरक्षण समिति निस्क्रिय भएको र आएको बजेट काम हुन नसकी फिर्ता गएकाले ताल संरक्षणमा खासै काम भएको नदेखिएको उनले जानकारी बताए ।

‘पर्यटन प्रबर्द्धनका लागि धेरै काम गर्न बाँकी छ । त्यसको लागि करोडौं खर्च लाग्न सक्छ तर विभिन्न निकायले कनिका छरे जस्तै गरी बजेट दिने गरेको छ । यसले काम हुने भन्दा बढी दुरुपयोग हुने गरेको छ,’ उनले भने ‘अघिल्लो वर्ष ताल संरक्षण तथा पूर्वाधार निर्माणको लागि सबै भन्दा बढी बजेट ८ करोड विनियोजन भएको थियो । विभिन्न अवरोधका कारण रकम त्यत्तिकै फिर्ता गयो । अहिले बजेटै छैन ।’

सरकारले विगतमा ताल संरक्षण तथा ब्यबस्थापनको लागि धेरै बजेट विनियोजन गरेपनि निर्माणको कामको जिम्मा पाएका ब्यक्ति तथा संघसस्थाले जनताको आँखामा छारो हाल्ने मात्र काम गरेकाले ताल संरक्षण तथा अन्य ब्यबस्थापनको काम हुन नसकेको बन्गाड कुपिण्डे नगरपालिकाका नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताए । संरक्षणमा भएको लापरबाहीकै कारण विगतमा बनाएका केही संरचना पनि जीर्ण भएर प्रयोग गर्न नमिल्ने भैसकेका उनले बताए ।

‘कुपिण्डे ताल संरक्षण र ब्यबस्थापनका लागि अहिले हामीले डिपिआर र वातावरण परीक्षण गरेका छौं । त्यसका लागि विभागसँग काम गर्ने अनुमति लिदैछौं । विभागले ५ हेक्टर जमिनमा विभिन्न संरचना निर्माणको लागि अनुमति दिने तयारी गरेको छ । अनुमति प्राप्त गरेमा यो बर्षदेखि नै ब्यापार ब्यबसाय गर्नका लागि स्टल, प्रतिक्षालय, मन्दिर सुधार, खानेपानी, सौचालय, सडक स्तरबृद्धिको काम गर्ने छौ’ उनले भने । ताल अवलोकन गर्न सुर्खेत, जाजरकोट, रुकुम, नेपालगन्ज, दाङ्ग, बर्दिया, धनगढी, काठमाडौं र बिदेशी पर्यटक आउने गरेका छन् ।

पर्यटन प्रवर्द्धन सम्बन्धी काम हेर्दै आएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख जितेन्द्र महतले ताल वरपर ठूलाठूला पहाड, चारैतिर खहरे खोला भएकाले बर्षातको समयमा बगाएर ल्याएका सबै बस्तु तालमै पुग्ने भएकाले साँघुरिदै गएको बताए । ताल संरक्षणका लागि कार्यालयले तीन वर्षयता झन्डै एक करोड बजेटबाट खहरे खोलामा तटबन्ध निर्माण, सडक निर्माण र पर्यटक आकर्षित गर्न प्लाष्टिक बोट उपलब्ध गराएको उनले बताए । गुरुयोजना बनाई बजेट विनियोजन गरेर काम अगाडी बढाए मात्र ताल संरक्षण सम्भव हुने उनको भनाई छ ।

प्रकाशित : भाद्र ९, २०८१ २०:२०
x
×