कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

बडिमालिका गएको सरकारी टोलीलाई खलंगामा भव्य स्वागत

भाद्र ९, २०८१
बडिमालिका गएको सरकारी टोलीलाई खलंगामा भव्य स्वागत

जुम्ला — जुम्लादेखि पूजा गर्न बाजुरास्थित बडिमालिका पुगेर फर्किएको सरकारी टोलीलाई सदरमुकाम खलंगामा भव्य स्वागत गरिएको छ । बडिमालिकाबाट मुगु हुँदै कनकासुन्दरी मन्दिरको पूजा गरेर टोली खलंगा फर्किएको हो । टोलीलाई सेनाको टुकुडीले सलामी दिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मीनबहादुर रावल नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहितको टोलीलाई जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, चन्दननाथ नगरप्रमुख राजुसिंह कठायत, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र सरकारी उच्च अधिकारीले नेपाली सेनाको टुँडिखेल मैदानमा भव्य स्वागत गरेका हुन् ।

१८ दिन पहिले सरकारी टोली बडिमालिकाका लागि प्रस्थान गरेको थियो । तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाको सरकारी टोली बडिमालिका पुगेर फर्किएको सरकारी टोली प्रमुख मीनबहादुर रावलले बताए ।

सेनाले सलामी चढाएपछि सरकारी टोलीले ल्याएको डोलीलाई बाजागाजासहित खलंगा बजार परिक्रममा गरेर चन्दननाथ भैरवनाथ मन्दिर हुँदै दरबार मालिका मन्दिरमा पुर्‍याइएको थियो । डोली दरबार मालिकामा विधिवत् रूपमा बुझाइएको पुजारी उपाध्यायले जानकारी दिए ।

टोलीको स्वागतका लागि दुर्गम गाउँका भक्तजन पनि सदरमुकाम खलंगामा आइपुगेका थिए । उनीहरूले फुलमालासहित अबिर लगाइदिएका थिए । पुजारी उपाध्यायले जुम्लाबासीले दिइएको ध्वजा र अक्षता नासो पुर्‍याएर सबैको मनोकामना पूरा होस भन्ने कामना गरेर फर्किएको बताए ।

प्रकाशित : भाद्र ९, २०८१ २०:३०
x
×