कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कालिदहमा एकीकृत जाँच विन्दु संचालन

भाद्र २६, २०८१
कालिदहमा एकीकृत जाँच विन्दु संचालन

भैरहवा — बुद्ध जन्मस्थल रूपन्देहीको लुम्बिनी नजिकै रहेको कालिदह नाकामा पर्यटकको सहजताका लागि एकीकृत जाँच विन्दु संचालनमा ल्याइएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले संयुक्त रूपमा उद्घाटन गरी एकीकृत जाँच विन्दु बुधबारदेखि संचालनमा ल्याइएको हो ।

कालिदह नाकाबाट निजी र समूहगत रूपमा लुम्बिनी र नेपालमा रहेका बुद्धसँग सम्बन्धित अन्य स्थलको भ्रमणका लागि भारतीय पर्यटकको आगमन बढ्न थालेकाले भारतीय पर्यटकको सहजताका लागि एकीकृत जाँच विन्दु संचालनमा ल्याइएको हो ।

निजी र समूहगत रूपमा सवारी साधन लिएर नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा पर्यटकलाई हैरानी हुने र दुःख पाउने गरेको गुनासो बढेपछि कालिदह नाकामा एकीकृत जाँच विन्दु संचालनमा ल्याइएको प्रजिअ अर्यालले बताए । ‘यस नाकाबाट नेपाल आउने भारतीय पर्यटकलाई एकीकृत जाँच विन्दुमा रहेका भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकै ठाउँमा जाँच गर्ने छन्,’ उनले भने, ‘सुरक्षा निकायले विशेष कारणबाहेक एकीकृत जाँच विन्दुमा जांच भइसकेको पर्यटक र सवारी साधनलाई बारम्बार अन्यत्र चेकजाँच हुनेछैन ।’

पर्यटक र सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेंलो कार्ड उपलब्ध गराइने सोही कार्ड देखाएर गन्तव्यसम्म पुग्न सक्नेछन् ।

कालिहद नाकामा अध्यागमन कार्यालय नभएकाले भारतीय बाहेक तेस्रो मुलुकका पर्यटकलाई भने सुनौली/बेलहिया नाकाबाट नेपाल आउनुपर्ने बाध्यता छ । स्थानीय पालिकासँगको समन्वयमा जिल्ला प्रशासन कार्यालयको पहलमा एकीकृत जाँच विन्दु संचालनमा ल्याइएको हो ।

यसअघि रूपन्देहीको बेलहिया नाकामा गत असार २६ मा एकीकृत जाँच विन्दु संचालन गरिएको थियो ।

प्रकाशित : भाद्र २६, २०८१ १८:०२
×