कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

हामी सक्किन होइन, सच्चिन चाहन्छौं : मुख्यमन्त्री आचार्य

भाद्र २५, २०८१
हामी सक्किन होइन, सच्चिन चाहन्छौं : मुख्यमन्त्री आचार्य

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आफूहरू सक्किन होइन, सच्चिन चाहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ दाङले प्रकाशन गरेको पुस्तक ‘मिडिया मन्थन’ को मंगलबार घोराहीमा विमोचन गर्दै आचार्यले प्रदेश सरकारले मिडियाबाट रचनात्मक सुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे । प्रदेश सरकार र मन्त्रीहरू गल्ती कमजोरी सच्चाएर काम गर्न तत्पर रहेको उनले बताए ।

प्रदेश सरकारले भ्रष्टाचारविरूद्ध अभियान स‌ंचालन गरेको उनले बताए । आफूले होटलमा बास नबस्ने, प्रहरीको मोबाइल स्कर्टिङ नराख्ने, पूर्वविशिष्टका नाममा कुनै सुविधा प्रयोग नगर्ने, कार्यक्रममा खादा र माला नलगाउने र पूर्वसरकारले निर्णय गरेका पूर्वविशिष्टका सेवा सुविधासम्बन्धी व्यवस्था कटौती गर्ने काम गरेको उनले बताए । यी सुशासनका प्रयासले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास गरेको आचार्यले बताए ।

मन्त्रिपरिषद्को आचारसंहिता बनाइ लागू गरिरहेको र त्यसको कार्यान्वयन भए नभएको बारे सबैले प्रश्न गर्न आवश्यक रहेको उनले बताए। नागरिकका गुनासा सम्बोधन गर्न प्रदेशका सबै कार्यालयलाई सुझाव पेटिका राख्न पनि निर्देशन गरेको उनले बताए ।

प्रकाशित : भाद्र २५, २०८१ १५:१८
×