कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

डाक्टरले सहयोग जुटाएर वृद्धलाई पठाए अस्पताल

भाद्र २१, २०८१
डाक्टरले सहयोग जुटाएर वृद्धलाई पठाए अस्पताल

रोल्पा — आर्थिक अवस्था कमजोर भएका रोल्पाका एक वृद्धलाई रोल्पा अस्पतालका चिकित्सकको पहलमा सहयोग रकम संकलन गरी थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ।

पुरानो सुगरको जाँच गराउन रोल्पा अस्पतालमा आइपुगेका रोल्पा नगरपालिका-१० धवाङ गाउँका ८० वर्षका धनबीर बुढा मगरलाई मृगौलामा समस्या देखेपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी अस्पतालमा मृगौलाको डाइलाइसिस गराउन पठाइएको हो।

शुक्रबार बेलुकी आर्थिक सहयोग संकलन गरेर रोल्पा अस्पतालका चिकित्सक डा रिषभ गौतमले ठूलो बुटवलमा पठाएका हुन्। 'पुरानो रोग सुगर भएर उहाँ यहाँ आउनुभएको थियो। जाँच गर्दा मृगौलामा पनि समस्या भएको थाहा भयो। आर्थिक अवस्था कमजोर भएकोमा साथीहरू मिलेर केही रकम जम्मा गर्‍यौं र बुटवलमा पठायौं,' डा रिषभले भने।

उनका अनुसार बुटवल पुर्‍याउन एम्बुलेन्स भाडा र केही खर्च जुटाएर आफन्तक साथमा पठाइएको हो। उनले बिरामीको अवस्थाको बारेमा सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेपछि सहयोग जुटेको हो।

डा रिषभका चिकित्सा कक्षामा साथै पढेका साथीहरूले रकम दिएका हुन्। उनको पहलमा डा. प्रशान्त भट्टले ५ हजार, डा. आदर्श घिमिरेले ३ हजार, डा. अखण्ड उपाध्यायले २ हजार ५०, डा.मुबासिर हुसेनखाणले १ हजार, अर्जुन गौतमले १ हजार १ सय र नाम खुलाउन न चाहने अर्का एक जनाले १ हजार गरेर १३ हजार १ सय ५० सहयोग रकम संकलन भएको हो। अस्पतालको सामाजिक सुरक्षा इकाई मार्फत १० हजार प्रदान गरिएको छ।

बुटवलमा पुर्‍याएर डायलाइसिसपछि बिरामीको अवस्थामा सुधार आउन बिश्वास भएको डा गौतमले बताए । बिरामीको आफन्तले मृगौलाको उपचार गर्न थप रकम आवश्यक पर्ने बताएका छन्। डा गौतमले बिरामीको लागि उपचार गर्न आवश्यक परे थप रकम संकलन गर्न आग्रह समेत गरेका छन्। केही वर्ष अघि निर्माण गरिएको रोल्पा अस्पतालमा मृगौला डाइलाइसिस सुविधा छैन।

प्रकाशित : भाद्र २१, २०८१ २१:१७
x
×