कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

तुलसीपुरमा सडकपेटी खाली गर्ने अभियान सुरु

भाद्र २०, २०८१
तुलसीपुरमा सडकपेटी खाली गर्ने अभियान सुरु

दाङ — तुलसीपुर बजारमा सडकपेटी खाली गर्ने अभियान थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाको सार्वजनिक सूचनालाई अटेर गर्दै व्यापारीले सडकपेटीमै सामान बेच्न थालेपछि बुधबारदेखि हटाउने अभियान थालिएको नगर प्रमुख टीकाराम खड्काले बताए ।

अटेर गर्नेको सामान नै जफत गरिएको उनले बताए । ‘बजारलाई व्यवस्थित र सुन्दर बनाउन सडकपेटी खाली गराउन थालिएको हो,’ उनले भने, ‘व्यापारीले सटकपेटी मिचेर सामान राख्दा बजार अस्तव्यस्त भयो । व्यापार गर्ने कोठामा हो । सडकपेटीमा होइन ।’

अबदेखि बजारमा सटरभन्दा बाहिर सामान राख्न नदिइने उपप्रमुख स्यानी चौधरीले बताइन् । सटकपेटीमा सामान राख्दा यात्रु सडकमा हिँड्नुपर्ने अवस्था आएको र यसले दुर्घटना निम्त्याउने जोखिम बढेको चौधरीले बताइन् । ‘फुटपाथमा सामान राखिएको छ । मानिसहरु हिँड्ने ठाउँ छैन,’ उनले भनिन्,‘यात्रु मुख्य सडकमा हिँड्नुपर्ने अवस्था छ । यसले दुर्घटना निम्त्याउँछ । यात्रुको सुरक्षा र सहरको सुन्दरताका लागि सडक पेटी खाली हुनुपर्छ ।’

पहिलोपटक सबै व्यवसायीलाई सचेत गराइएको र फेरि सडकपेटीमा सामान राखेको पाइएमा जफत गरी जरिवानासमेत गरिने बजार व्यवस्थापन शाखा प्रमुख रेखा शर्माले बताइन् । ‘पहिलोपटक नगर प्रमुख, उपप्रमुखलगायत सरोकारवालाहरुबाट संयुक्त अनुगमन गरी सबैलाई सचेत गराइएको छ,’ उनले भने,‘नियमित अनुगमन गरी अटेर गर्नेलाई कारबाही गरिनेछ ।’

प्रकाशित : भाद्र २०, २०८१ ०९:४२
x
×