कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एचआईभी संक्रमणको जोखिममा रहेकालाई 'प्रेप सेवा' 

भाद्र २०, २०८१
एचआईभी संक्रमणको जोखिममा रहेकालाई 'प्रेप सेवा' 

पाल्पा — एचआईभी संक्रमणको जोखिममा भएकाहरुका लागि लक्षित गरी प्रिएक्सपोजर फाइलायासिस (प्रेप) सेवा सुरु भएको छ । यो सेवा पश्चिम नेपालमै पहिलो पटक पाल्पामा सुरु भएको हो । यहाँ नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको तानसेनस्थित क्लिनिकमार्फत् सेवा सुरु भएको छ ।

पाल्पा, गुल्मी, रुपन्देही, अर्घाखाँची, स्याङ्जा लगायत छिमेकी अन्य जिल्लाका बासिन्दाले यो सेवाबाट फाइदा पाउनेछन् ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार नारायणी पश्चिमका एचआईभी सक्रमण भई नसकेका तर उच्च जोखिम भएका व्यक्तिहरूलाई लक्षित यो उपचार सेवाले फाइदा पुग्नेछ । यो सेवाले छिमेकी मुलुक भारतमा काम गर्न गएर फर्किने जोखिममा परेका श्रमिकलाईसमेत फाइदा पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

एचआईभी सक्रमण भई एआरटी सेवा लिइरहेका व्यक्तिहरूको यौन साथीलाई सबैभन्दा बढी फाइदा पुग्ने स्वास्थ्य कार्यालय पाल्पाका अधिकृत विश्वनाथ न्यौपानेले बताए । यी बाहेक समलिंगी महिला तथा पुरुषले पनि फाइदा पाउनेछन् ।

यौनकर्मी महिला वा पुरुषलाई पनि प्रेप सेवा दिन सकिनेछ । समाजमा कतिपय सुईबाट नशालु पदार्थ लिनेहरू तथा यौन रोगीहरूलाई केन्द्रित गरेर एचआईभी संक्रमणबाट बचाउन यो सेवा सुरु भएको नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।

एचआईभी संक्रमण जोखिममुक्त बनाउन विदेशबाट आउने महिला तथा पुरुषलाई विभिन्न माध्यमबाट निगरानी राख्नेछ । त्यसका लागि मेडिकल अधिकृत साथै १० जना सामुदायिक स्वयंसेवक खटिएको परिवार नियोजन संघ पाल्पाले जनाएको छ ।

प्रेप उपचार सेवा रोग लाग्नुभन्दा अगाडि नै लक्षणको आधारमा गरिने उपचार विधि भएको परिवार नियोजन संघका वरिष्ठ मेडिकल अधिकृत राकेशलाल बज्राचार्यले बताए । प्रेप उपचार निःशुल्क हुनेछ । पूर्ण गोपनीयताका साथ गरिने भएकाले ढुक्कसंग सेवा लिन सकिने डा. बज्रचार्याले बताए । यो उपचारका लागि २४ सै घण्टा सेवा दिइनेछ ।

प्रेम उपचार सुरु गर्नुपहिले र पछि गरिने सम्पूर्ण जाँचहरू निःशुल्क हुनेछ । प्रेप औषधि प्रयोगले प्राकृतिक रूपमा रहेको यौनशक्तिमा कुनै कमी नआउने विश्वास मेडिकल अधिकृत बज्राचार्यले दिलाए । एचआईभी संक्रमण जोखिममा रहेकाले प्रेप मुखबाट खाने औषधी भएकाले दैनिक रुपमा एक गोली सेवन गर्नुपर्ने हुन्छ ।

एचआइभी संक्रमणको सुरक्षाका लागि मात्र हुने भएकोले अन्य यौनजन्य रोगबाट बच्नका लागि कण्डम प्रयोग गर्नुपर्ने बरिष्ठ मेडिकल अधिकृत बज्राचार्यले बताए । प्रेप औषधि सेवन गर्नु भन्दा अगाडि र प्रयोग गरिरहेको समयमा नियमित रुपमा एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ । नियमित रुपमा चिकित्सकसंग परामर्श लिनुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न एचआइभी संक्रमित समुदायमा खुल्न नचाहने भएकाले उनीहरुबाट जोखिममा रहेका व्यक्तिहरुको सुरक्षा गर्न सहयोगी हुने बताए । यो सेवा आफैँमा चुनौतीपूर्ण रहेको उनले बताए । पाल्पामा गत आर्थिक वर्षको अन्त्यसम्म करिब तीन सय ५० एचआइभी संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ २०:५४
x
×