कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

लुम्बिनीमा यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

भाद्र १४, २०८१
लुम्बिनीमा यातायात क्षेत्र सुधार गर्न कार्यदल गठन

देउखुरी — लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले यातायात क्षेत्र सुधारका लागि कार्यदल गठन गरेका छन् ।

पछिल्लो चरणमा यातायात क्षेत्रमा देखिएका समस्यालाई सहजीकरण गर्न भन्दै मन्त्रालयका महाशाखा प्रमुख रमेश गौतमको संयोजकत्वमा १० सदस्यीय लुम्बिनी प्रदेशको समग्र यातायात प्रशासन सुधार सुझाव कार्यदल गठन गरिएको हो ।

कार्यदल सदस्यमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत, सूचना प्रविधि प्रतिष्ठानका प्रतिनिधि, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी चालक अनुमति-पत्र) का प्रमुख, यातायात व्यवस्था कार्यालय रुपन्देही (सवारी) का प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रतिनिधि, उद्योग पर्यटन तथा यातायात मन्त्रालयका मेकानिकल इन्जिनियर र मन्त्रालयका यातायात शाखा प्रमुख सदस्य रहेका छन् ।

कार्यदलले यातायातको सेवा प्रवाहमा देखिएका नीतिगत, कानुनी जटिलता, सेवाग्रहीका गुनासा, सेवा लिँदा आमा नागरिकले भोग्नु परेका समस्याका बारेमा अध्ययन प्रतिवेदन तया गर्नेछ । यातायात कार्यालयबाट सेवा लिँदा सेवाग्रहीले झन्झट बेहोर्नु परेकाले वास्तविकता अध्ययन गरेर सहज सेवा बनाउने र आवश्यक कारवाहीका प्रक्रिया अघि बढाइने मन्त्री न्यौपानेले बताए ।

‘सेवाग्राहीले के कस्तो समस्या व्यहोर्नु परेको छ, समस्या पहिचान गर्छौं,’ उनले भने, ‘यातायात क्षेत्रलाई नागरिक मैत्री बनाउने लक्ष्य छ ।’ यातायात कार्यालयमा टोकन नहुँदा सेवाग्रहीले दुःख पाएको गुनासो आएपनि मन्त्री न्यौपानेले केहीदिन अघि तत्काल टोकनको व्यवस्था लागू गर्न यातायात कार्यालयलाई निर्देशन दिएका थिए ।

कार्यदलले प्रशासनीक एवं व्यवस्थापकीय समस्या, अन्तर मन्त्रालय समन्वय र भूमिकाका विषयमा समेत प्रतिवेदन तयार गर्नेछ । कार्यदलको प्रतिवेदनअनुसार आगामी कामका लागि मार्गनिर्देशन दिने उनले बताए ।

प्रकाशित : भाद्र १४, २०८१ १०:५०
x
×