कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

जीवनदान पाएर साउदीबाट फर्किएका रामाशिषले भने, ‘मलाई माफ दिनूस्’

भाद्र १०, २०८१
जीवनदान पाएर साउदीबाट फर्किएका रामाशिषले भने, ‘मलाई माफ दिनूस्’

Highlights

  • यादवको जीवनदानका लागि मृतक दुर्गाप्रसाद शर्माका परिवारलाई श्रेय जान्छ, त्यही परिवारले जीवनदान दिएको हो : कृष्णप्रसाद शर्मा, अध्यक्ष, उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश

भैरहवा — रूपन्देहीका उद्योगी–व्यवसायीको आर्थिक सहयोगमा ‘ब्लडमनि’ जुटेपछि मृत्युदण्डबाट जोगिएका धनुषाको जनकपुर–१७, का रामाशिष यादव मुलुक फर्किएका छन् । एक साताअघि घर आइपुगेका रामाशिष सोमबार परिवारसहित जिल्ला प्रशासन कार्यालय रूपन्देही आएका हुन् । आफ्नो जीवन रक्षाका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, ब्लडमनि जुटाउने उद्योगी–व्यवसायीलाई धन्यवाद दिन आफू भैरहवा आएको उनले बताए ।

जीवनरक्षाका लागि सहमति जनाउने मृतक दुर्गाप्रसाद शर्माका परिवारसित उनले माफी पनि मागेका छन् । ‘दुर्गा दाइको परिवार महान छ,’ सोमबार यादवले भने, ‘हात जोडेर परिवारसित माफी माग्छु, मलाई माफ गरिदिनु होला ।’ शर्मा परिवारले ब्लड मनिमा सहमति जनाएकाले आफूले जीवनदान प्राप्त गरेको उनले बताए ।

पाँच वर्षअघि यादव र रूपन्देहीको कञ्चन गाउँपालिकाका दुर्गाप्रसाद शर्मा वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए । यादव र शर्मा त्यहाँको ‘अलयुनी’ कम्पनीमा सँगै कार्यरत थिए । शर्मा इलेक्ट्रिसियन र यादव मेकानिक थिए । एउटै कोठामा बसोबास गरिरहेका यादव र शर्माबीच छुट्टी मनाउने क्रममा विवाद भएको थियो । ‘मदिरा पिएपछि दुर्गा दाइ र मबीच झगडा भयो,’ यादवले भने, ‘उहाँको जनै फुस्केपछि मेरो टाउँकोमा हिर्काउनु भयो, मैले धकेलेपछि लड्दा उहाँको छातीमा चोट लागेर मृत्यु भयो ।’

यादवका अनुसार उनले साउदी अरबमा ६ वर्ष जेल सजाय पाए । साउदीको अदालतले उक्त अवधिमा पीडित परिवारसित ब्लडमनिमा सहमति कायम नभएमा यादवलाई मृत्युदण्ड हुने जनाएको थियो । ‘मेरो परिवारले ब्लडमनि जुटाउने अवस्था थिएन,’ यादवले भने, ‘त्यसैले बाँच्ने आस मारिसकेको थिएँ ।’ मृत्युदण्डको खबरले पत्नी र छोरीको अवस्था बेहाल बनेको उनले बताए ।

परिवारका सदस्यले जनकपुरका प्रमुख जिल्ला अधिकारी र व्यवसायीसित ब्लडमनि जुटाउन पहल गरिदिन अनुरोध गरे पनि सहयोग नपाएको यादव परिवारले बताए । यसै क्रममा यादवका पत्नी र छोरी रूपन्देही जिल्ला प्रशासन आइपुगे । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आएकी यादवकी पत्नी रेनोकुमारी र तीन छोरीले आफ्नो पीडा सुनाए ।

जनकपुरबाट पतिको जीवन रक्षाको माग गर्दै आएका रेनुकुमारी र छोरीहरूको रुवाबासी देखेपछि प्रमुख जिल्ला अधिकारी अर्यालले आफूलाई सम्हाल्न सकेनन् । अर्कोतर्फ साउदी दूताबासले कन्सुलर विभागमार्फत जिल्ला प्रशासनलाई पीडित परिवारलाई ब्लडमनिमा सहमति कायम गराउन र सहमत नभएमा त्यही अनुसारको बेहोरा उल्लेख गरेर कागजात तयार गरेर पठाउन पत्राचार गर्‍यो । ‘रामाशिषले सजाय पाएको ५ वर्ष पूरा हुन लागेको थियो,’ प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘पाँच वर्षभित्र ब्लड मनिमा सहमति कायम नभए मृत्युदण्ड दिने रहेछ ।’ आफ्नो हस्ताक्षरका कारण एक व्यक्तिले मृत्युदण्ड पाउने अवस्था सिर्जना भएपछि अर्याल ब्लडमनि जुटाउन र पीडित परिवारलाई त्यसमा सहमत गराउन लागिपरेको बताए ।

‘एकातिर कन्सुलर विभागबाट यादवका लागि पक्रियागत पक्षहरू पूरा गर्न बारम्बार पत्राचार भइरहेको थियो,’ उनले सोमबार भने, ‘अर्कोतिर मृत्युदण्डका लागि आफ्नो हस्ताक्षर प्रयोग नहोस् भन्ने चिन्ता थियो ।’ यादवको रिहाइको विषय मानवीय संवेदनासित गाँसिएकाले जीवन रक्षाका लागि आफूले पहल थालेको उनले बताए । सुरुमा परराष्ट्र र श्रम मन्त्रालयमा ब्लडमनिको व्यवस्थाबारे मन्त्रीसित कुराकानी गरेको उनले बताए । तर, यस्तो कार्य सरकारी स्तरबाट सम्भव नहुने बुझेपछि रूपन्देहीका उद्योग, व्यवसायसित ब्लडमनि जुटाउन पहल गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले रकम जुटाउन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, युवा व्यवसायी अमित गुप्ता र राजीव बेरियाल लगायतसित छलफल गरे । घटना विवरण सुनेपछि यादवको जीवन रक्षाका लागि आर्थिक सहयोग जुटाउन व्यवसायी तयार भए ।

‘त्यसपछि पीडित परिवारलाई ब्लडमनिका लागि सहमत गराउनुपर्ने अर्को चुनौती थियो,’ अर्यालले भने, ‘त्यसका लागि धेरै मिहिनेत गर्नुपर्‍यो, चोटमा परेको परिवारलाई सम्झाइ बुझाइ गर्न समय लाग्यो ।’ मृतक दुर्गाकी पत्नी सीता शर्मालाई ब्लडमनिका लागि सहमत तुल्याउन पीडित परिवार, आफन्त, नातागोता, दलका नेता र सामाजिक कार्यकर्तालाई मनाउनु परेको अर्यालले बताए । लामो प्रयासपछि पीडितले ५० लाख ब्लडमनि पाउनुपर्ने सर्तसहित जीवनदानका लागि सहमत भए । उक्त रकम यादवका परिवारबाट संकलन सम्भव थिएन । यादव पत्नी रेनोकुमारीले आफ्नो जायजेथा बिक्री गरेर १० लाख रुपैयाँ बटुलेर ल्याइन् ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख र उद्योगी व्यवसायीले ३६ लाख २५ हजार रुपैयाँ जुटाए । डेढ महिनाअघि उक्त ४६ लाख २५ हजार रुपैयाँ बुझेर मृतक पत्नी सीताले ब्लडमनि सम्झौतामा हस्ताक्षर गरिन् । लगत्तै जिल्ला प्रशासनले यादवको रिहाइका लागि कन्सुलर विभागले माग गरेका कागजी प्रक्रिया पूरा गरेर पठायो । कन्सुलर विभाग हुँदै दूतावास भएर ती कागज साउदी अदालतसम्म पुगे । त्यसपछि त्यहाँको अदालतले यादवलाई मुक्त गरेको थियो ।

ब्लडमनि जुटाउन अगुवाइ गरेका उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले मानवीय कार्यका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम जुटाएको बताए । ‘पीडितका बालबच्चाले राहत पाउने अवस्था बन्यो,’ उनले भने, ‘यादवको ज्यान पनि बच्ने र पीडित परिवारलाई आर्थिक रूपमा राहत मिल्ने अवस्थामा हामीले सहयोग जुटाएका हौं ।’ स्थानीय ३०/३२ व्यवसायीसित आग्रह गरेपछि रुकम जुटेको उनले बताए । ‘हामीले मृतकका परिवारलाई भविष्यमा पनि हाम्रो सहयोग जारी रहन्छ,’ उनले भने, ‘यादवको जीवनदानका लागि मृतक दुर्गाप्रसाद शर्माका परिवारलाई श्रेय जान्छ, मृतकका परिवारले जीवनदान दिएका हुन् ।’ आफूहरूको सहयोगबाट दोस्रो जीवन पाएका यादवलाई आगामी दिनमा सामाजिक कार्य गर्न र सत्कर्ममा लाग्न उनले सल्लाह दिए । ‘राम्रो काम गरेर जीवन बिताउनूस्,’ उनले यादवलाई भने ।

प्रकाशित : भाद्र १०, २०८१ १६:०१
x
×