कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

वैकुण्ठधामका लागि अभियान 

भाद्र १०, २०८१
वैकुण्ठधामका लागि अभियान 

नेपालगन्ज — बाँकेमा वैकुण्ठधाम निर्माणका लागि नागरिक समाजले आर्थिक संकलन अभियान थालेका छन् । नेपालगन्ज मात्रै नभएर बाँकेका अधिकांश स्थान र बाहिरी जिल्लाका समेत व्यक्तिको मृत्युपश्चात् अन्त्येष्टि गरिने राप्ती नदीस्थित सिधनियाघाटमा वैकुण्ठधाम निर्माणका लागि समाज एकजुट भएर अभियान सञ्चालन गरिएको हो । 

जिल्लास्थित नागरिक समाज, संघसंस्था र अधिकारकर्मीहरूले अभियान चलाएर वैकुण्ठधाम निर्माणका लागि अपिल गरेका छन् । वैकुण्ठधामका लागि जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने भएपनि बाँकेमा भने निजी क्षेत्रले पहल थालेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले सिधनियाघाटस्थित वैकुण्ठधाम निर्माणकालागि सबैले आफ्नो क्षमता अनुसार सहयोग गर्न आह्वान गरे । ‘सहयोग पैसाको मात्र हुदैन । समय वा सुझाव दिएर पनि सबैले सहयोग गर्न सक्नुहुन्छ । यो मेरो तपाइको लागि मात्र होइन, सबैको लागि आवश्यक कुरा हो,’ उनले भने,‘जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपीआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।’

नगरप्रमुख विष्टले सोमबार नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालय उद्घाटन गरे ।सोमबार कृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगन्जमा आयोजकले वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिको सचिवालयको कार्यालय उद्घाटन गरिएको हो । नगरप्रमुख विष्टले वैकुण्ठधाम निर्माणका लागि व्यक्तिगत तर्फबाट ५१ हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिका अध्यक्ष सुरेशकुमार कनोडियाले सिधनियाघाटमा वैकुण्ठधाम निर्माणका लागि सहयोग जुटाउन वैकुण्ठधाम आध्यात्मिक महोत्सवको आयोजना गरिने बताए ।‘अन्त्येष्टि स्थल सबैको साझा हो, यो सबैको हो सबैका लागि हो,' उनले भने, 'त्यसकारण सबैबाट सहयोग हुने अपेक्षा गरेका छौँ ।'

धाम निर्माणका लागि करिब २० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान उनले सुनाए ।

प्रकाशित : भाद्र १०, २०८१ १७:०३
x
×