कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

खाने होइन त ‘बाजेको जलेबी’ ?

भाद्र ९, २०८१
खाने होइन त ‘बाजेको जलेबी’ ?

Highlights

  • १०६ वर्ष पुरानो जलेबी पसल

लुम्बिनी — चमकधमक र सजावट त्यस्तो धेरै केही छैन । गल्ली हुँदै जानुपर्ने यो पसल झट्ट हेर्दा सामान्यजस्तै लाग्छ । पुरानो बटौली भनेर परिचित बुटवल–१ मा छ, १ सय ६ वर्ष पुरानो बाजेको जलेबी पसल । जहाँ बिहानैदेखि ग्राहकको घुइँचो लाग्छ ।

जलेबी (जेरी) खरिद गर्न बुटवल र आसपासबाट ग्राहक पुग्छन् । पसल शताब्दी पुरानो भएको प्रमाण भित्तामा टाँगिएको तस्बिरबाटै मिल्छ । उक्त तस्बिरमा पसलका संस्थापक सीताराम हलुवाई, उनका छोरा लड्डुलाल र नाति किरण एकसाथ देखिएका छन् । अहिले तस्बिरमा रहेका दुई जना छैनन् । ५७ वर्षीय किरणले १९७५ सालदेखि बाजेले चलाउँदै आएको सोही जलेबी पसल धानिरहेका छन् । बाजेले थालेको व्यापारलाई नाति किरणले मात्र होइन, पनातिले पनि सम्हालिरहेका छन् । बाजेले सुरुवात गरेकाले किरणले पसलको नामै सीतारामको सम्झनामा जुराएका हुन्, बाजेको जलेबी पसल ।

हजुरबुवा र बुवाले बटौलीमा चलाइरहेको व्यापारमा किरणले १५ वर्षको उमेरदेखि साथ दिन थालेका थिए । घरनजिकैको विद्यालयमा पढ्थे । टिफिन खाने छुट्टीमा किरणले जलेबी र समोसा विद्यालयमै लगेर बेच्ने गरेको सुनाए । ‘५ रुपैयाँको ३ पिस जलेबी दिन्थ्यौं,’ किरणले भने, ‘अहिले पिसको २५ रुपैयाँसम्म पर्छ ।’

किरणको परिवार ठूलो थियो । हजुरबुवाहरू दुई भाइ । हजरबुवादेखि छोरा, बुहारी, नाति सबै संयुक्त परिवारमा बस्थे । ४५ वर्षअघि २ भाइ हजुरबुवा छुट्टिएपछि घर पनि आधाआधा भाग लाग्यो । कान्छो हजुरबुवाका छोरा, नातिले आफ्नो घरमा सोही व्यवसाय चलाइरहेका छन् । किरणको पसलपारि उनका काका गयाप्रसाद हलुवाईको पनि जलेबी र मिठाई पसल चलिरहेको छ । उनी १६ वर्ष पुग्दा हजुरबुवाको निधन भयो । व्यवसाय बुवाको जिम्मेवारीमा आइपुग्यो । किरणले पनि पढाइ छोडे । ‘घरको स्थिति त्यति राम्रो थिएन,’ उनले भने, ‘हामी चार भाइमध्ये जेठो म बुवालाई सघाउने जिम्मामा लागें ।’

उनले आफ्ना बुवाले पकाएको जलेबी खान आउने स्थानीय, नेता, व्यापारीको प्रशंसा सुन्दै हुर्किए र आफूले पनि त्यस्तै पकाउन सिक्नुपर्छ भनेर लागे । २० वर्षको उमेरमा विवाह भएपछि उनमा जिम्मेवारीको अर्को पाटो पनि थपियो । किरणले बुवालाई सघाउँदै जलेबी बेच्दै गर्न थाले । २०५७ मा बुवा बितेपछि किरणलाई व्यवसाय सम्हालेर घर–गृहस्थी चलाउने बन्धन थपियो । उनले त्यही व्यवसाय अघि बढाइरहे । बुटवलका स्थानीय त उनका सधैंका ग्राहक हुन् नै, अहिले पुरानो पसल हो भन्ने थाहा पाएर आउने, जलेबी चाख्ने र पार्सल गरी लैजाने पनि उत्तिकै छन् ।

स्थानीय सरकार नआउन्जेलसम्म ग्राहकमा मात्र सीमित किरणले पकाएको जलेबी अहिले सरकारी कर्मचारी, जनप्रतिनिधि तथा बुटवलमा आउने हरेक पाहुनाका लागि चाख्नैपर्ने वस्तु बनेको छ । बिहानै ५ बजे उनको पसलको ढोका खुल्छ । मर्निङ वाक गर्नेहरू चिया पकाउ भन्दै आउँछन् । २० वर्षअघिसम्म किरणको पसलमा चिया पाक्दैनथ्यो । पाल्पाबाट नुन किन्न आउने मानिस उनकै पसलको जलेबी खाएर पारि खस्यौली बजार जान्थे । उनले जलेबी, मिठाई र समोसा मात्र बेच्थे । तर, जलेबीसँग माग हुन थालेपछि चिया पकाउन पनि सुरु गरे । ‘६ बजेसम्म चिया मात्रै पिउने ग्राहक हुन्छन्,’ उनले भने, ‘६ बजेदेखि रातिको ८ बजेसम्म जलेबी, समोसा र मिठाई खानेको भीड लाग्छ ।’ दिनहुँ २५ देखि ५० किलोसम्म जलेबी बिक्री भइरहेको उनले बताए । ‘अर्डर नै भयो भने त्यही अनुसार छुट्टै बनाएर पठाउँछौं,’ उनले भने, ‘विवाह, पूजा, प्रसादका लागि समेत जलेबीको अर्डर आउने गरेको छ ।’

बाजेकै पालादेखिका भाँडामा जलेबीका लागि चाहिने माड तयार गर्छन् । त्यहीं पुरानो डाडुले माडलाई कपडामा राख्छन् र जलेबी घुमाउँछन् । ती पुराना भाँडाले पनि पुर्खाको झल्को दिइरहने भएकाले व्यवसायमा ऊर्जा थप्ने गरेको उनले बताए । केही वर्षअघिसम्म बाजेकै पालाको दुनाटपरीमा पार्सल लैजाने र पसलमै खानेलाई सालको पातमा दिने चलन थियो । ‘नुवाकोटका किसानले पात ल्याइदिन्थे,’ उनले भने, ‘दाउरा बालेर पकाउँथें, अहिले सुविधा आयो ग्यास, प्लेट राख्न थालें ।’

किरणकी श्रीमती संगीता बिहानैदेखि श्रीमान्‌लाई सघाउन पसलमै बस्छिन् । उनीहरूका ४ छोरा र एक छोरी छन् । सबै पसलमा भेटिन्छन् । कोही समोसाका लागि आलु तयार गर्छन्, कसैले जलेबीको माड बनाउँछन् । ग्राहकलाई जलेबी पुर्‍याउँछन् । सामान किन्न जान र बुवालाई सघाउन सबै सन्तानले उत्तिकै भूमिका खेलिरहेका छन् । किरणले ३ छोरालाई धेरै पढाउन सकेनन् । ‘भाग्य पनि हो रहेछ, कताकता प्रयास गरे, छोराहरूले सकेनन्,’ उनले भने, ‘दुई छोरा र एक छोरी पढिरहेका छन्, उनीहरूले यो व्यवसाय नगर्लान् ।’ उनका जेठा, माइला र साइँला छोरा भने यही व्यवसायमै अघि बढ्ने बताउँछन् ।

किरणले केही वर्षयता क्याटरिङको समेत काम गरिरहेका छन् । स्थानीयको घरमा केही कार्यक्रम आयोजना हुँदा उनलाई जलेबीसहित खाना पकाउनेसमेत अर्डर प्राप्त हुन्छ । त्यसबेला उनी छोरालाई पसल धान्न लगाएर क्याटरिङ गर्न जान्छन् । धेरैजसो किरण आफ्नै पसलमा समय बिताउँछन् । ‘मैले टिम तयार गरेको छु, एक पटक सिकाएपछि उनीहरूले काम गर्छन्,’ किरणले भने, ‘पसलमा मलाई खोज्दै र मैले पकाएको जलेबी खान चाहनेले छोडेकै हुन्नन्, त्यसैले म बढी समय यतै दिन्छु ।’

किरणलाई जतिसक्दो त्यही पुरानो स्वाद टिकाइराख्ने विचार छ । उनले पछिल्लो समय मासको दालको समेत जलेबी बनाउन थालेका छन् । यसलाई इमिर्ती भनिन्छ । शनिबार बिहानै सरकारी कर्मचारीको टोलीले उनीकहाँ इमिर्ती खाँदै गफ गर्छन् । उनीहरूकै चाहना अनुसार यो जलेबी बनाउन थालेको उनले बताए । उनको पसलमा ग्राहकले देख्ने गरी पकाउने परम्पराजस्तै छ ।

आफ्नो जन्म हुँदाको त्यो घर, त्यो पुरानो बटौलीको गल्ली अहिले भने फराकिलो बनिसकेको छ । पिच बाटो, पक्की घर थपिएका छन् । किरण र उनका परिवारका सदस्यले पुरानो बटौलीको सम्झना तस्बिरमा सँगालेका छन् । ग्राहकलाई तस्बिर देखाएर बटौलीको इतिहास सुनाउने गर्छन् । पुर्खाले गर्दै आएको पेसालाई नछोड्न किरणले आफ्नो छोरालाई समेत यसमै भिजाएका छन् । ‘बाजेबुवाले गरेका भएर मलाई चिने, अब मपछिका छोरालाई पनि यहीं बस्न छ,’ उनले भने, ‘यही पेसा गर्नु छ, सबैतिर चिनिनु छ, त्यसैले छोराहरूलाई पनि सिकाउँदै छु ।’

आफ्नो उमेर बढेसँगै अब सन्ततिलाई व्यवसाय जिम्मा लगाउने क्रममा अघि बढेको किरण बताउँछन् । किरणको पसलबाट नेपालका धेरै ठाउँसम्म जलेबी पुग्छ । फुड भ्लग बनाउने र त्यहीं गएर खानेको संख्या पनि उत्तिकै छ । वरपरका स्थानीयले त दिनहुँ एक पाउ, आधा केजी वा पाहुना आएका बेला खाजाकै रूपमा मिठाई, जलेबी र समोसा लैजाने गरेको उनले बताए । ‘बुटवलमा पुरानो भइयो,’ किरणले भने, ‘सबैको माया पाइयो, यही काफी छ ।’

प्रकाशित : भाद्र ९, २०८१ २०:३०
x
×