कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

दुई ठूला दलको समीकरणले अर्थतन्त्रको सूचकांक उकालो लागेको छ : मुख्यमन्त्री आचार्य

भाद्र ८, २०८१
दुई ठूला दलको समीकरणले अर्थतन्त्रको सूचकांक उकालो लागेको छ : मुख्यमन्त्री आचार्य

तिलोत्तमा — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई ठूला दलको समीकरणले अर्थतन्त्रको सूचकांक उकालो लागिरहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले नेपालमा व्यावसायिक कायापलट कृषिबाट नै गर्न सकिने सम्भावना रहेको दाबी पनि गरे ।

‘सरकारले कृषि अनुदानमा समेत लगानी गरिरहेकाले युवाहरू कृषि पेसामा आकर्षित भएका छन्,’ उनले भने, ‘नेपालले कृषि र पर्यटन क्षेत्रमार्फत आर्थिक उन्नति गर्न सक्ने सम्भावना प्रचूर छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले वर्तमान सरकारले नै सबै समस्याको समाधान गर्नुपर्ने बाध्यता रहेको बताए । यो सरकारलाई समस्या समाधान गर्नबाट छुट नभएको भन्दै उनले केही सकारात्मक संकेतसमेत देखापरिसकेको बताए । बुद्धको देश नेपालले बुद्धका ज्ञानलाई विश्वभरि प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सके व्यावसायिक सफलतासमेत हुने उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले बितेको ३ वर्षमा ३५ लाख नेपाली विदेशिएकाले नेपालमा सोको परिपूर्तिका लागि पर्यटक भित्र्याउने पोलिसी जरुरी रहेको बताए । यस प्रदेशको आर्थिक अवस्था सुधार्न कृषि, उद्योग र पर्यटनमा थुप्रै सम्भावना रहेकाले प्रदेश सरकार यस दिशातर्फ केन्द्रित हुनुपर्ने उनले सुझाव दिए ।

प्रकाशित : भाद्र ८, २०८१ २१:२१
x
×