कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

हुलाकी राजमार्गको काम तत्काल अघि बढाउन माग

भाद्र ५, २०८१
हुलाकी राजमार्गको काम तत्काल अघि बढाउन माग

परासी — हुलाकी राजमार्ग निर्माणको काममा ढिलासुस्ती भएको भन्दै प्रतापपुर गाउँपालिकाले संघीय सरकारलाई पत्राचार गर्दै सडक निर्माणको काम तत्काल अघि बढाउन माग गरेको छ । गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले हुलाकी सडक निर्देशनालयलाई लेखेको पत्रमा सडक निर्माणको काम तत्काल अघि नबढाए अनसन बस्ने चेतावनी दिएका छन् । 

हुलाकी सडक निर्देशनालयअर्न्तगत गोपिगञ्जदेखि बेलटारीसम्मको ६ दशमलव ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुँदा पनि सम्पन्न नभएपछि गाउँपालिकाले तत्काल कामलाई अगाडि बढाउन र निर्देशनालयले काम गर्न नसक्ने हो भने गाउँपालिकालाई कार्यान्वयनको जिम्मा दिन माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले संघ सरकारलाई पठाएको पत्रमा पालिकालाई कार्यान्वयनको जिम्मेवारी दिएमा बाँकी काम ४ महिनामा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

सडक निमार्णको क्रममा खनिएको खाडलले गर्दा हिउँदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको भन्दै तत्काल काम अगाडि नबढाएमा पालिका अध्यक्षको नेतृत्वमा अनसनमा बस्ने चेतावनी दिएका छन् । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसँग पटक-पटक समन्वय गर्दा पनि काम अगाडि नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न माग गरिएको छ ।

२०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अहिलेसम्म पनि सम्पन्न नभएको भन्दै गाउँपालिकाले ध्यानाकर्षण गराएको हो ।

प्रकाशित : भाद्र ५, २०८१ २०:३८
x
×