कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

मनितलाल मृत्यु प्रकरण : अस्पतालले २६ लाख क्षतिपूर्ति दिनुपर्ने जिल्लाको फैसला उच्चबाट सदर

भाद्र २६, २०८१
मनितलाल मृत्यु प्रकरण : अस्पतालले २६ लाख क्षतिपूर्ति दिनुपर्ने जिल्लाको फैसला उच्चबाट सदर

नेपालगन्ज — उच्च अदालतले बिरामीको उपचारमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको लापरबाही भएको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार रुपैयाँ क्षतिपुर्ति दिनुपर्ने भन्ने जिल्ला अदालतको फैसला सदर गरेको छ ।

उक्त अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज उपमहानगरपालिका-२ घरवारी टोलका मनितलाल श्रेष्ठको निधन भएकोमा उनकी श्रीमती नम्रता श्रेष्ठले जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

अस्पतालको लापरबाहीका कारण आफ्नो श्रीमान्‌को ज्यान गएको उनको आरोप थियो । उक्त मुद्दामा जिल्ला अदालत बाँकेले २६ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा मंगलबार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो ।

मनितलालको मृत्युपछि नम्रताले ०७६ श्रावण ३१ गते मुद्दा दायर गरेकी थिइन् । फैसलाले न्यायको अनुभूति मिलेको मृतक मनितलाल श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठले बताइन्। ‘ढिलै भएपनि न्याय पाइयो,’ उनले भनिन्, 'यो निर्णयले अस्पताललाई थप जिम्मेवार बनाउन सहयोग पुर्‍याएको छ ।’

उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु र गोबिन्द जोशीको संयुक्त इजलासले यस्तो निर्णय गरेको पीडितको पक्षमा वकालत गरिरहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए । उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनमा आएपछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपुर्ति मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरीय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितको पक्षमा सुरु देखि कानूनी सहयोग गर्दै आएका अधिवक्ता गौतमले बताए ।

मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका साथै अधिवक्ताहरु बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी र हिरा बहादुर श्रेष्ठले वहश गरेका थिए भने विपक्षी नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालकोतर्फबाट अधिवक्ता लोक बहादुर शाहले वहश गरेका थिए ।

मनितलाल सामान्य ज्वरो आएपछि अस्पतालको इमरजेन्सी वार्डमा पुगेका थिए । अस्पतालमा ओजेटी गर्न आएका बिद्यार्थीलाई उपचारमा संलग्न गराएको कारण उनको मृत्यु भएको भन्ने पीडित परिवारको दाबी थियो ।

उक्त मुद्दामा बाँके जिल्ला अदालतका न्यायाधीश विदुर कार्कीको इजलासले ०७९ फागुन ११ गते अस्पतालको लापरबाहीका कारण श्रेष्ठको मृत्यु भएको ठहर गर्दै क्षतिपूर्ति तोकेको थियो ।

प्रकाशित : भाद्र २६, २०८१ २०:१३
×