कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

भैरहवामा सडकमै पार्किङ गराएर शुल्क असुल्दै, भन्सार नाकामा अवरोध

भाद्र ५, २०८१
भैरहवामा सडकमै पार्किङ गराएर शुल्क असुल्दै, भन्सार नाकामा अवरोध

Highlights

  • अन्नपूर्ण टर्मिनल्स प्रालिद्वारा बेलहिया–बुटवल व्यापारिक सडक मार्ग र भन्सारबाट विशेष आर्थिक क्षेत्रतर्फ जाने सडकलाई आफूअनुकूल प्रयोग

भैरहवा — यातायात आवागमन नै प्रभावित हुने गरी भैरहवा भन्सार नाकामा एक निजी कम्पनीले सकडमै पार्किङ गरेर शुल्क असुल्दै आएको पाइएको छ । सार्वजनिक सडकमै आयात–निर्यातका मालवाहक गाडी पार्किङ गराएर उसले शुल्क असुल्दै आएको हो ।

भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङ तथा गोदामलाई व्यवस्थित गर्न ठेक्का लिएको निजी कम्पनी अन्नपूर्ण टर्मिनल्स प्रालिले विगत एक वर्षभन्दा अगाडिदेखि भैरहवा भन्सार परिसरमा शुल्क असुलीका लागि राजमार्गलाई नै आफूअनुकूल प्रयोग गर्दै आएको छ ।

अत्यधिक भारसहितका गाडी लगातार सडकमै पार्किङ गराइनाले यातायात संचालनमा अवरोध मात्रै भएको छैन, सडक दबेर भत्किएको पनि छ । सडकमै पार्किङ गराइनाले यातायात आवागमन असहज भएको र सडकमा क्षति पुगेको भन्दै पार्किङ नगराउन सडक डिभिजन कार्यालय बुटवलले बारम्बार पत्राचार पनि गर्दै आएको छ । तर सरोकारवाला निकायले कार्यान्वयन गर्नमा चासो देखाएको छैन ।

‘मालवाहक गाडीलाई राजमार्गमै पार्किङ गराइनाले भैरहवा भन्सार आसपासको सीमा नाकामा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर विष्टले भने, ‘सडकमै पार्किङ गराइँदा भन्सार नाकामा यातायात आवागमन बारम्बार अवरोध हुने गरेको छ ।’

उनका अनुसार राजमार्गमा लोड गाडीहरू दुई–तीनवटा लाइनमा पार्किङ गरिन्छ । भारत–नेपालबीच आवतजावत गर्ने पैदलमार्गी, आफ्नै गाडी लिएर नेपाल आउने भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक, भारत–नेपालबीच चल्ने लामो दूरीका बसहरू, बेलहिया–भैरहवाबाट छुट्ने नेपालभित्रकै लामो दूरीका बसहरू, तीन–तीन मिनेटमा छुट्ने लोकल बसको चापका कारण सीमा नाकामा ट्राफिक व्यवस्थापनमा समस्या थपिएको हो ।

भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङ र गोदामको उपयोग गर्ने र भन्सार कार्यालयमा सरसफाइ तथा संचारको व्यवस्थापन गर्ने गरी अन्नपूर्ण टर्मिनल्सले २०७९ भदौदेखि पाँच वर्षका लागि ६८ करोड ४ लाख रुपैयाँमा ठेक्का लिएको हो । यसको ठेक्का वाणिज्य मन्त्रालयअन्तर्गतको इन्टर मोडेल यातायात विकास समितिले लगाउने गर्छ ।

भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङ स्थलसहितको जमिनमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माण सुरु भएपछि पार्किङ स्थल अपुग भएकाले अन्नपूर्ण टर्मिनल्सले भन्सारअगाडिको ६ लेनको बेलहिया–बुटवल व्यापारिक सडक मार्ग र भन्सारबाट विशेष आर्थिक क्षेत्रमा जाने सडकलाई आफूअनुकूल प्रयोग गर्न थालेको हो । तर, उसले भन्सार क्षेत्रमा सडकसँग जोडिएको निजी जमिन भाडामा लिएर आफ्नो पार्किङ व्यवस्थापन गर्नेतर्फ ध्यान दिएको छैन । पार्किङ व्यवस्थापनका लागि निजी जमिन भाडामा लिँदा अतिरिक्त हुने खर्च जोगाउन उसले सडकमै पार्किङ गराएको हो ।

सुनौली/भैरहवा नाका स्थल मार्ग हुँदै तेस्रो मुलुकका सर्वाधिक पर्यटक नेपाल भित्रिने महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सीमा नाका हो । नेपाल–भारतबीच यात्रुको आवागमन पनि यो नाकाबाटै सबैभन्दा धेरै हुने गर्छ । भन्सार अगाडि सडकमा गराइने पार्किङले भन्सार नाका बारम्बार जाम हुने गर्छ । सर्वसाधारण यात्रु र पर्यटकले सास्ती खेप्दै आएका छन् ।

विशेष गरी नजिकको भारतीय रेलवे स्टेसनसम्म र्‍याकमा आयात गरिएका सामान ठूला र लामा ट्रकमा लोड गरेर नेपाल आउने गर्छन् । नेपाल प्रवेश गर्नासाथ भन्सारभित्र पसेपछि ती गाडीबाट लोड र गाडीको साइजअनुरूप अन्नपूर्ण टर्मिनल्सले पार्किङ शुल्क अग्रिम असुली गरेपछि भन्सार जाँचपास नहुन्जेलसम्म पार्किङका लागि ती गाडीलाई भन्सार बाहिर ल्याइ सडकमा पार्किङ गराउने गर्छ ।

भारतबाट आयात गरिएका फलामे ब्लेडका लामा र ठूला ट्रक, पेट्रोलियम पदार्थका ट्यांकर, आलु, प्याज, नुन, चामल ढुवानी गरिने लामा ट्रक, ग्यासका बुलेट, कोइला, मेसिनरी उपकरण बोकेका ट्रकलाई सडकमा पार्किङ गराउने गरिन्छ । नेपालबाट भारततर्फ निर्यात हुने सिमेन्ट, क्लिंकर, ब्लक, टायल्स र इँट्टा ढुवानी गरेका ट्रकलाई भन्सारमा प्रवेश नगराईकन भन्सार प्रक्रिया पूरा नहुन्जेल सडकमै पार्किङ गराएर शुल्क असुली गर्दै आइएको छ ।

अन्नपूर्ण टर्मिनल्स प्रालिले सडकमा पार्किङ गराइएका कुनै मालवाहक गाडी पार्किङ शुल्क नतिरी छुटेको भए त्यसको जाँचका लागि सडकमै आफ्ना कर्मचारीलाई ड्युटीमा खटाउने गर्छ ।

सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर तथा सूचना अधिकारी महेश्वर लम्सालले भैरहवा भन्सारअगाडिको राजमार्गमा मालवाहक गाडीको पार्किङ गराइँदा लोडले सडक बिग्रेको र त्यसरी पार्किङ नगराउन भनेर सम्बन्धित निकायलाई बारम्बार लिखित पत्राचार गर्दा पनि कुनै चासो नदिएको बताए ।

‘त्यस क्षेत्रमा हुने गरेको ओभरलोडसहितको पार्किङले सडक भत्केर बिग्रेको छ । राजमार्गमै पार्किङ स्थल बनाइएको विषयले निकै तनाव बनाएको छ,’ लम्सालले भने, ‘केही समयका लागि मात्रै बाहिर पार्किङ गरिएको भन्ने जवाफ दिने गरेको डेढ वर्ष भन्दा धेरै भयो ।’

लम्सालका अनुसार सडक डिभिजन कार्यालय बुटवलले २०७९ फागुन १४ मा भैरहवा भन्सार कार्यालयलाई भन्सार प्रयोजनका कामले मालवाहक ट्रक कन्टेनर लामो समयदेखि राजमार्गमा पार्किङ भइरहेको र यसरी पार्किङ गरिँदा स्थिर लोडका कारण सडक दिन प्रतिदिन क्षतिग्रस्त भइरहेको र सडक आवागमनमा समेत अवरोध सिर्जना भएको जनाउँदै यथाशीघ्र त्यहाँबाट हटाउने व्यहोराको पत्राचार गरेको थियो । यसको बोधार्थ जिल्ला प्रशासन कार्यालय रूपन्देही र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देही समेतलाई दिइएको थियो ।

उक्त पत्रका बारेमा कुनै सुनुवाइ नभएपछि उक्त कार्यालयले २०८० वैशाख १ मा त्यहाँबाट गाडी पार्किङ गराउन नछाडिएको भन्दै अघिल्लो पत्रको ध्यानाकर्षण गराउँदै पुनः ताकेता पत्र पठाएको थियो । दोस्रो पत्रको पनि कुनै सुनुवाइ नभएपछि सडक डिभिजन कार्यालयले २०८० असोज ३० मा नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई पत्राचार गर्दैर् पार्किङ नहटाइएकाले उपयुक्त स्थानमा पार्किङको व्यवस्था मिलाउन आग्रह गरेको थियो ।

यति धेरै पटक पत्राचार गर्दा पनि र भन्सार र जिल्ला प्रशासन कार्यालयमा हुने गरेको बैठकमा बारम्बार मौखिक कुरा गर्दा पनि पार्किङका लागि गरिएको सडक अतिक्रमण नहटेको लम्सालले बताए । ‘अब कुन निकायमा पत्राचार गर्ने ?’ उनले भने ।

एउटा निजी ठेकेदार कम्पनीले आफ्नो फाइदाका लागि अन्तर्राष्ट्रिय नाकामा हुने यातायात आवागमनलाई नै अवरोध गर्ने गरी राजमार्गमा पार्किङ गर्नु र यस विषयप्रति प्रशासन, प्रहरी, भन्सार लगायतका निकाय मौन रहनु रहस्यको विषय भएको नागरिक समाजका प्रतिनिधि बताउँछन् ।

‘नियमन गर्ने र सरोकारवाला निकायले यस विषयप्रति कुनै पनि कारबाही प्रक्रिया अगाडि नबढाउनुले उनीहरू मौन रहेको मात्रै होइन, अप्रत्यक्ष रूपमा ठेकेदार कम्पनीलाई पृष्ठपोषण गरेको सहज अनुमान गर्न सकिन्छ,’ भैरहवा क्षेत्रका नागरिक अगुवा विजयगोविन्द श्रेष्ठले भने, ‘अन्नपूर्ण टर्मिनल्सले आफ्नो फाइदा कमाउन सार्वजनिक सम्पत्तिको उपयोग गर्ने अधिकार छैन । न त यातायात आवागमन नै अवरोध हुने गरी राजमार्गको भोगचलन उसलाई गर्न दिने अधिकार नै कुनै निकायलाई छ ।’

अन्नपूर्ण टर्मिनल्सले भन्सारको स्वामित्वमा रहेको पार्किङ उपलब्ध नभएमा राजमार्गसँग जोडिएको निजी व्यक्तिको जमिन भाडामा लिएर पार्किङको व्यवस्थापन गरी पार्किङ शुल्क असुली गर्नुपर्ने श्रेष्ठले बताए ।

भन्सार एजेन्ट महासंघ नेपालका कार्यवाहक अध्यक्ष तथा स्थानीयबासी डा.शान्तकुमार शर्माले भन्सारको पार्किङ क्षेत्रमा आईसीपी बन्दै गरेकाले भन्सार परिसरबाहिर पार्किङ गर्नुपर्ने परिस्थिति आए पनि सडकमै पार्किङ गर्न भने नमिल्ने बताए । ‘ठेकेदार कम्पनीले सडकको विकल्प खोजेर पार्किङको व्यवस्थापन गर्नु पर्छ । तर सडकमै पार्किङ गराएर शुल्क असुली गर्न पाइँदैन,’ शर्माले भने, ‘अन्तर्राष्ट्रिय नाकामा निर्बाध रूपमा सर्वसाधारण यात्रु, पर्यटक र गाडीको आवागमन हुन पाउनु पर्छ ।’

राजमार्गमै पार्किङ गराइने मालवाहक गाडीको संख्या सधैं एकैनास हुँदैन । गाडीको धेरै चाप भएका बेलामा ६ लेनको सडकमा भन्सारदेखि करिब ८ सय मिटर दूरीसम्म दोहोरो गाडीको लाम हुने गर्छ । गाडीको कम चाप भएको बेलामा पनि भन्सार अगाडि २–३ सय मिटर दूरीसम्म सधैं नै दोहोरो मालवाहक गाडीको लाम लाग्ने गर्छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले एकीकृत भन्सार जाँच चौकी निर्माणका क्रममा भैरहवा भन्सार कार्यालयको पार्किङ अपुग भएकाले त्यसको सहजीकरणका लागि सीमित सामान ढुवानी गर्ने गाडीमात्र केही बेर मात्र राजमार्ग रोकिने गरेको बताए । बरु, सुरक्षा जाँच र ओभरलोडबापतको कारबाहीका लागि भन्दै प्रहरीले राजमार्गमा लोड गाडी राख्ने गरेको आरोप उनले लगाए । ‘पार्किङ समस्याको दीर्घकालीन समाधान हुने आईसीपीजस्तो महत्त्वपूर्ण पूर्वाधार तयार हुँदैछ,’ गौतमले भने, ‘यस खालका पूर्वाधार तयार पार्ने क्रममा कसैलाई अप्ठेरो पर्‍यो भनेर रोक्ने हो भने पूर्वाधार कसरी तयार बन्छ ?’

गौतमले भन्सार क्षेत्र आसपासको राजमार्ग पनि भन्सार क्षेत्रअन्तर्गत नै पर्ने दाबी गरे । उनका अनुसार दशगजा सिमानादेखि ४ सय मिटर राजमार्गसहितको दूरी भन्सार क्षेत्रमा पर्छ । भैरहवा भन्सारबाट दैनिक ३ सय ५० भन्दा धेरै मालवाहक गाडी भित्रिने गर्छन् । १ सय २५ जति मालवाहक गाडीबाट निर्यात हुने गर्छ । भन्सारसँग २ सय ५० जति मालवाहक गाडीमात्रै अट्ने क्षमताको एउटामात्र यार्ड (पार्किङ क्षेत्र) रहेको छ ।

भन्सार क्षेत्र आसपासको राजमार्ग क्षेत्र पनि भन्सारअन्तर्गत नै पर्ने उनको दाबीलाई सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर लम्सालले खण्डन गर्दै सडक तथा राजमार्ग पूर्ण रूपमा सडक विभागको अधिकार क्षेत्रभित्र पर्ने बताए । ‘हामीले त्यस क्षेत्रमा राजमार्ग विस्तारका क्रममा भन्सारकै संरचना भत्काएर बनाउँदै छौं,’ लम्सालले भने, ‘अनि राजमार्ग भन्सारको क्षेत्राधिकारभित्र कसरी पर्छ र ?’

उनका अनुसार अहिलेको मापदण्डअनुरूप ६ लेनको १ किमि सडक निर्माण गर्नका लागि करिव २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अत्यधिक ओभरलोडसहितका मालवाहक गाडी पार्किङका कारण त्यस क्षेत्रमा झन्डै ५ सय मिटर सडक दबेर भत्किएको छ ।

अन्नपूर्ण टर्मिनल्सले २४ घण्टासम्म प्रति ट्रकको २ सय ५९, कन्टेनर ट्रेलरको ७ सय १८, ४० फिटको ट्रेलरको ७ सय ७८, एलपी ग्यास बुलेटको ७ सय ७८, ट्यांकरको २ सय ५९, बसको २ सय ५९ रुपैयाँका दरले पार्किङ शुल्क असुल गर्दै आएको छ । २४ घण्टा भन्दा धेरै समय पार्किङ गरे त्यसको थप शुल्क लाग्छ ।

अन्नपूर्ण टर्मिनल्स प्रालिका संचालक सदस्य सुभाष सुवेदीले राजमार्गमा मालवाहक गाडी पार्किङ गराउनु रहर नभएर बाध्यता भएको बताए । ‘आईसीपी निर्माण नहुन्जेल पार्किङको व्यवस्था कहाँ गर्ने भनेर सबै सरोकारवाला निकायको बैठक गर्दा केही सडक क्षेत्रलाई भन्सार क्षेत्र घोषणा गरिएको निर्णय गरिएपछि त्यही अनुरूप पार्किङ गरिएको हो,’ उनले भने, ‘अब एक वर्षपछि आईसीपी तयार भएपछि यो समस्या समाधान हुनेछ ।’ मालवाहक गाडी पार्किङका लागि भन्सार नजिकैको विशेष आर्थिक क्षेत्रमा व्यवस्थापन गर्न खोज्दा खाली जमिन नभेटिएको र आसपासको क्षेत्रमा पनि निजी जमिन पार्किङका लागि उपलब्ध नभएको उनले बताए ।

प्रकाशित : भाद्र ५, २०८१ २१:३३
x
×