कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सेवा प्रभावकारी बनाउन अस्पताल प्रशासनको ध्यानाकर्षण

श्रावण २७, २०८१
सेवा प्रभावकारी बनाउन अस्पताल प्रशासनको ध्यानाकर्षण

भैरहवा — बिरामीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधा प्रभावकारी बनाउन ‘बिएमजी ग्रुप’ भैरहवाले आइतबार भीम अस्पताल प्रशासनको ध्यानाकर्षण गराएको छ । भीम अस्पताल रुपन्देहीको जिल्ला अस्पताल हो ।

आम सर्वसाधारणले अस्पतालमा भोग्नु परेका कठिनाइ र समस्याका विषयमा भीम अस्पतालको ध्यानाकर्षण गराइएको हो । बिएमजी ग्रुपका अध्यक्ष विजयगोविन्द श्रेष्ठको नेतृत्वमा गएको टोलीले अस्पतालमा बिरामीको लाइन व्यवस्थित हुन नसकेको, स्वास्थ्य बिमाअन्तर्गत पाउनु पर्ने औषधिहरु सबै उपलब्ध र गुणस्तरीय नभएको, केही चिकित्सक र स्वास्थ्यकर्मीबाट बिरामीप्रति गरिने व्यवहार नम्र नभएको, आकस्मिक कक्षमा कार्यरत चिकित्सक सर्वसाधारणले चिन्ने पोसाकमा नहुने गरेको, फार्मेसी व्यवस्थित हुन नसकेको र अस्पताल व्यवस्थापन हेर्ने पदाधिकारीबीच समन्वयको अभाव रहेको लगायत विषयबारे ध्यानाकर्षण गराएको थियो ।

‘अस्पतालमा सेवा लिन आएका वृद्ध, अपांग र अशक्त बिरामीका लागि अलग्गै व्यवस्था नहुँदा धेरै सास्ती बेहोरेका छन्’ बिएमजी ग्रुपका अध्यक्ष श्रेष्ठले भने, ‘उनीहरुका लागि अस्पतालमा ओपीडी टिकट लिनेदेखि स्वास्थ्य जाँच र औषधी लिँदासम्मको सबै सेवाका लागि विशेष हेरचाहका साथमा अलग्गै व्यवस्था हुन जरुरी छ ।’ उनीहरुले औषधिको गुणस्तर जाँचमा ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।

अस्पतालका व्यवस्थापक छमबहादुर अधिकारीले सार्वजनिक खरिद ऐनअनुरुप अस्पतालले सबैभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउन कबुल गर्ने बोलपत्रदातालाई ठेक्का दिनु पर्ने प्रावधान रहेको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले आम सेवाग्राहीले गरेको गुनासोप्रति सजग रही अस्पतालको व्यवस्थापनमा सुधार ल्याउने बताइन् । ‘अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अभावका कारण धैरै समस्या छन्, त्यसलाई हल गरेर गुणस्तरीय सेवा प्रदान गर्न लाग्छौं,’ उनले भनिन् ।

प्रकाशित : श्रावण २७, २०८१ १८:२५
×