कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

अस्तव्यस्त छन् सीमानाकाका हेल्थडेस्क

श्रावण २३, २०८१
अस्तव्यस्त छन् सीमानाकाका हेल्थडेस्क

भैरहवा — स्थलमार्ग हुदै भारतसँगको आवत जावतमा सर्वाधिक यात्रुले प्रयोग गर्ने सुनौली/बेलहिया सीमानाकामा सरकारले ‘हेल्थडेस्क’ संचालनमा ल्याएको पाँच वर्ष भयो । विदेशबाट आउने यात्रुबाट हुने संक्रामक रोगको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि स्थायी रुपमा संचालनमा ल्याइएको हेल्थडेस्क भौतिक पुर्वाधारसहितका संरचना र उपकरणको अभावले प्रभावकारी बन्न भने सकेको छैन ।   

हेल्थडेस्क प्रभावकारी रुपमा संचालनका लागि व्यवस्थापन पक्ष पनि फितलो देखिएको छ । स्वास्थ्य मन्त्रालय र विभागको भनाइमा भारत हुँदै नेपाल आउने विभिन्न संक्रामक रोगका शंकास्पद यात्रुको सीमा नाकाका हेल्थडेस्कमैं स्वास्थ्य परीक्षण हुने गरेको छ ।

त्यस्ता बिरामीको स्क्रिनिङसहित स्वास्थ्य जाँच सीमानाकामै गरिने भएकाले संक्रामक रोगहरु नेपाल भित्रिने जोखिम निकै कम छ । कोभिड, मलेरिया, क्षयरोग र एचआइभी संक्रामक रोगको नाकामा परीक्षण हुने गरेको छ । तर, स्थलगत रुपमा सीमा नाकामै पुगेर हेर्ने हो भने हेल्थडेस्कको वास्तविकता स्वास्थ्य मन्त्रालय र विभागले भनाइ भन्दा धेरै फरक छ ।

बेलहिया नाकामा हेल्थडेस्क कहाँ संचालनमा छ ? कुनै अत्तोपत्तो छैन । हेल्थडेस्कको साइनबोर्डसम्म पनि छैन । नाकाबाट नेपाल प्रवेश गरेका यात्रुलाई कहाँ स्क्रिनिङ गर्ने ? शंकास्पद संक्रमित यात्रुको स्वास्थ्य जाँच र रगत परीक्षण कहाँ गर्ने ? संक्रमित यात्रुलाई कहाँ राख्ने ? सबै प्रक्रिया भौतिक पुर्वाधारको अभावले अस्तव्यस्त र भद्रगोल छ । ।

‘हेल्थडेस्कका लागि आवश्यक पर्ने जनशक्ति, उपकरण र भौतिक पुर्वाधारको अभावले संचालन गर्न निकै कठिनाइ छ’ बेलहिया हेल्थडेस्कका इन्चार्ज लालमोहन चौधरीले भने, ‘यात्रुलाई स्क्रिनिङ गर्ने स्थान व्यवस्थित नहुँदा स्वास्थ्यकर्मीले वर्षा र गर्मीको बेलामा धेरै सास्ती बेहोर्नु परेको छ । रगत परीक्षण गर्ने स्थान समेत नहुँदा झोलामै किट बोकेर सडकमै उभिएर जाच्नु पर्ने बाध्यता छ ।’

चौधरीका अनुसार, सीमानाकाबाट दैनिक आवतजावत गर्नेबाहेक धेरै दिनसम्म भारततर्फ बसेर नेपाल आउने यात्रुलाई सीमानाकामा संक्रामक रोगका बारेमा सोधपुछ र स्क्रिनिङ गर्ने गरिएको छ । आवश्यकता अनुरुपको जनशक्ति नभएकाले नाकामा २४ सै घण्टा स्वास्थ्य जाँच हुन सकेको छैन ।

प्रयोगशाला कक्ष नभएकाले किट र अन्य स्वास्थ्य उपकरण सहितको झोला कर्मचारीले घरबाटै बोकेर नाकामा ल्याउँछन् । फर्किदासँगै लैजान्छन् । किटको अभावले बिगत छ महिनादेखि कोभिडको परीक्षण अवरुद्ध छ । कोभिड संक्रमणका बेलामा सीमानाकामा नियन्त्रणका लागि कोभिड परीक्षण सुरु गरिएसँगै सुनौली/बेलहिया सहितको मुलुकको प्रमुख नाकाहरुमा २०७७ देखि सरकारले कोभिड सहितका अन्य संक्रामक रोग नियन्त्रणकालागि स्थायीरुपमा हेल्थडेस्क संचालनमा ल्याएको हो ।

सीमानाकामा अपनाइनु पर्ने अन्तर्राष्ट्रिय मापदण्डलाई पूरा गर्नकालागि हेल्थडेस्क संचालनमा ल्याएको घोषणा गरेको सरकारले आवश्यकता अनुरुपको जनशक्ति, उपकरण र अन्य भौतिक पुर्वाधार उपलब्ध गराउनेतर्फ चासो नदिँदा औपचारिकता निभाउने र नाममा मात्रै सीमित हुन पुगेको छ, बेलहिया नाकाको हेल्थडेस्क ।

स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा.प्रकाश बुढाथोकीले बेलहिया सहित भारतसँग जोडिएका १६ वटा सीमानाकामा हेल्थडेस्क संचालनमा रहेको बताए । तीन–चार वटा महत्वपूर्ण नाकामा २४ सै घण्टा र अन्य नाकामा बिहान ८ देखि राति ८ बजेसम्म संचालन गर्ने गरी जनशक्ति खटाइएको उनले बताए ।

‘विदशेबाट नेपाल आउने यात्रुबाट विभिन्न संक्रामक रोग र नेपालमा उन्मुलन भैसकेका संक्रामक रोग नेपालमा भित्रिन नदिनेगरी सीमानाकामा हेल्थडेस्क संचालन गरिएका छन्,' उनले भने, ‘संक्रामक रोगहरुको परीक्षणकालागि आवश्यक पर्ने किटहरु माग गरे अनुरुप उपलब्ध गराइएको छ ।’

बेलहिया नाकाको हेल्थडेस्कको निगरानी कक्ष प्राय खाली रहन्छ । स्वास्थ्यकर्मी लगायतका सरोकारवाला व्यक्ति कतिखेर आउँछन् र बिरामी यात्रुको पहिचान तथा स्वास्थ्य जाँच गर्छन् ? कुनै नियमितता हुदैन । दशगजा सीमानामै रहेको निगरानी कक्षमा स्वास्थ्यकर्मीको सट्टा हेल्थडेस्कसँग असम्बन्धित टयाक्सी, गाडीवाला र बिचौलियाको अड्डा बनेको देखिन्छ ।

हेल्थडेस्क अगाडिको दशगजा सीमानाबाट हुलका हुल यात्रु भारतबाट आइरहेका हुन्छन् । हेल्थडेस्क सुनसान हुन्छ । कसैलाईपनि रोकेर सोधपुछ गरिदैन । पर्यटकको हकमा कुनैपनि स्वास्थ्य चेकजाच नै हुदैन । शंकास्पद बिरामीको स्वास्थ्य चेकजाच र स्क्रिनिङ कार्य औपचारिकतामा सीमित हुने गरेको छ ।

हेल्थडेस्कका इन्चार्ज चौधरी बिहानमा निगरानी कक्षमा स्वास्थ्यकर्मीको टोली पुगेर भारतको टाढाटाढादेखि आएका नेपाली यात्रुलाई चेकजाँच गर्ने गरिएको र ११ बजेपछि टेन्टले बारिएको निगरानी कक्षमा बस्नै नसकिने गरी गर्मी हुने गरेको बताए । ‘हेल्थडेस्कमा सहज तरिकाले काम गर्ने खालको संरचनाहरु केही पनि छैनन् । किट लगायतका उपकरण सकिएकाले परीक्षण कार्य अवरुद्ध हुन पुगेको जानकारी हामीले बारम्बार सम्बन्धित निकायमा गराएपनि उपलब्ध भएको छैन,’ चौधरीले भने ।

उनका अनुसार, गत आव २०८०/०८१ मा यस नाकामा ७ हजार २ सय ७७ जनामा कोभिड परीक्षण गर्दा ५ जना संक्रमित, ९ सय १२ जनामा एचआइभी परिषण गर्दा एकजना संक्रमित र १ हजार ५ सय ९५ जनामा क्षयरोगको परीक्षण गर्दा एक जना संक्रमित फेला परेका थिए ।

संघ सरकारको मातहतमा संचालन हुने सीमानाकाका हेल्थडेस्कको अनुगमन लगायतको व्यवस्थापन प्रदेश स्वास्थ्य निर्देशनालयको जिम्मामा छ । पहिला बेलहियामा रहेको अध्यागमन कार्यालयको भवनमा प्रयोगशाला संचालन गरिएको थियो ।

अध्यागमन कार्यालय अगाडि खाली स्थानमा टेन्ट गाडेर परीक्षण गरिएका यात्रुको बिश्राम कक्ष बनाइएको थियो । सडक बिस्तारका क्रममा ती संरचना तथा पुर्वाधार भत्काइएपछि बेलहिया नाकाको हेल्थडेस्क प्रयोगशाला र बिश्राम कक्षविहीन हुन पुगेको हो ।

सिद्धार्थनगर नगरपालिकाले हेल्थडेस्ककालागि सीमा नाकामा आफ्नो स्वामित्वमा रहेको एउटा कोठा उपलब्ध गराएको त छ । तर, त्यो कोठमा बत्तिको राम्रो प्रबन्ध नभएकाले न एयरकन्डिशन चल्छ न त कम्प्युटर नै । गर्मीले एकछिन पनि बस्न सकिदैन । भवन निर्माणकालागि जग्गा उपलब्ध हुन नसकेकाले स्थायी हेल्थडेस्क भवन निर्माणकालागि उपलब्ध गराइएको करिव ५० लाख बजेट बिगत दुई बर्षदेखि फ्रिज हुँदै आएको छ ।

मन्त्रालयका प्रबक्ता बुढाथोकीले बेलहिया हेल्थडेस्कमा भौतिक पुर्बाधारको अभावले काम प्रभावित हुने गरेको जानकारी आफु समक्ष नआएको बताए । अर्कोतर्फ, हेल्थडेस्कमा कार्यरत सवै स्वास्थ्यकर्मी सहितका कर्मचारीको करार नियुक्तिको म्याद असारमा सकिएपछि पुन नवीकरण भएको छैन । पुन नियुक्ति हुने/नहुने अन्यौलताले कर्मचारी चिन्तित छन् । बेलहिया हेल्थडेस्कमा ३ जना कार्यालय सहयोगी सहित हेल्थ असिस्टेन्ट, अहेव र ल्याब असिस्टेन्ट सहित १० जना कार्यरत छन् ।

प्रदेश निर्देशनलायले नियुक्ति गरेको ती कर्मचारीलाई संघदेखि तलव आउने हो । ‘गत आवमा आठ महिनासम्म बिना नियुक्ति काम गर्न बाध्य भइयो । दुई महिना बिना तलव काम गर्नु पर्यो’ नाम उल्लेख नगर्न आग्रह गर्दै एक कर्मचारीले भने, ‘अहिलेपनि अवको नियुक्ति के हुने ? भन्ने अन्यौलताले राम्ररी काम गर्ने मनस्थिती कर्मचारीमा छैन ।’

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वस्थ्य निर्देशक डा.बिनोद कुमार गिरी भौतिक पुर्वाधार र अन्य संरचना अभावका कारण बेलहियाको सीमा हेल्थडेस्क प्रभावकारी रुपमा संचालनमा आउन नसकेको स्विकार्छन् । ‘भौतिक पुर्वाधार लगायत्का संरचना नभएकाले बेलहिया हेल्थडेस्क व्यवस्थित हुन नसकेकाले हल्कापुल्का काम भैरहेको छ’ गिरीले भने, ‘सीमा नाकामा संचालन गरिने हेल्थडेस्ककालागि आबश्यक पर्ने पुर्वाधार उपलब्ध हुन सकेको छैन ।

कपिलबस्तुको कृष्णनगर नाकामा संचालन गरिएको हेल्थडेस्कपनि पुर्वाधारको अभावले गर्दा प्रभावकारी हुन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण २३, २०८१ १५:१४
×