कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लुम्बिनीमा पाँच लाखभन्दा माथिका सबै योजना बोलपत्रबाट : मुख्यमन्त्री आचार्य   

श्रावण १४, २०८१
लुम्बिनीमा पाँच लाखभन्दा माथिका सबै योजना बोलपत्रबाट : मुख्यमन्त्री आचार्य   

देउखुरी — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजनाको कामलाई प्रभावकारी बनाउन ५ लाखभन्दा माथिका सबै योजनालाई खुला प्रतिष्पर्धाबाट कार्यान्वयन गर्ने बताएका छन् ।

लुम्बिनीका १२ जिल्लामा सञ्चालन हुने विकास योजनालाई पारदर्शी ढंगले पूरा गर्ने लक्ष्य सरकारको रहेको उनले बताए । 'प्रतिष्प्रर्धा नगराउँदा एउटै व्यक्ति वा समुह हाबी हुने र लाभ उठाउने प्रवृत्तिको अन्य गर्नुछ,’ मुख्यमन्त्री आचार्यले भने,'५ लाख बजेट माथिका सबै प्रकारका योजनामा टेन्डर खोलिन्छ । योजना छनोट र कार्यान्यवन चरणलाई पारदर्शी बनाउँछु ।’

प्रदेश सरकारका काम कारवाहीलाई आर्थिक पारदर्शी, छिटोछरितो योजना सम्पन्न गर्ने र सुशसान कायम राख्न कडा निगरानी गरिने आचार्यले बताए । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारका मातहतका निकायलाई ५ लाख माथिका योजनालाई अनिवार्य टेन्डर गरेर मात्रै काम अगाडि बढाउने निर्देशन दिइसकेका छन् ।

अहिले मुख्यमन्त्री बनेका आचार्य अघिल्लो सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री थिए । त्यतिबेला उनले लुम्बिनी सरकारको चालु आर्थिक २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएका थिए । त्यो बजेटलाई पारदर्शी ढंगले खर्च गर्ने, सुशासन कायम राख्ने र जवाफदेहीता गराउन यो नियम अघि सारिएको आचार्यले बताए ।

योजना कार्यान्यवनमा हुने ढिलासुस्ती हटाउन साउन महिनाभित्र सबै मन्त्रालयमा योजना कार्यान्वयन कार्यविधि बनाइसक्ने सरकारको प्राथमिकता रहेको उनले बताए । मुख्यमन्त्रीको पदभार ग्रहण गर्दा आचार्यले सुशासन प्रवर्द्धन र भ्रष्टचार न्युनीकरणका लागि पाँच वर्षे राण्नीतिक कार्ययोजना लागु गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । आचार्यले आफुलाई बधाई दिन आउनेलाई खादामाला निषेध गरिएको बताए ।

प्रकाशित : श्रावण १४, २०८१ १८:२०
×