कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

झरी बीच गरेको कालोपत्र उप्काइयो 

श्रावण ३, २०८१
झरी बीच गरेको कालोपत्र उप्काइयो 

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ दोभान बजार क्षेत्रमा असार अन्तिम साता झरीका बीच गरेको कालोपत्र उप्काउन लगाएको छ । 

साउन १ गते सडक डिभिजन कार्यालयले निर्माण व्यवसायी जीवन एण्ड ब्रदर्शलाई पत्र लेखेर सिद्धार्थ राजमार्गको दोभानमा निर्माण गरेको प्रिमिक्स कार्य अत्यन्त न्यून गुणस्तरको भएकाले उप्काएर सुरक्षित स्थानमा फाल्न निर्देशन दिएको हो । कार्यालयको निर्देशनअनुसार निर्माण व्यवसायीले कालोपत्र उप्काएको छ ।

डिभिजन प्रमुख बाबुराम सापकोटाले निर्माण व्यवसायीलाई असार २८ गते नै पहिलो पटक पत्र लेखेर कतिपय स्थानमा चिसो सर्फेसमा समेत कालोपत्रे गरेको पाइनुका साथै विभिन्न स्थानमा त्रुटि देखिएकाले उपयुक्त मौसम र तापक्रमबिना कालोपत्र अगाडि नबढाउन सचेत गराएको बताए । ‘कालोपत्र गर्ने काममा कतिपय स्थानमा त्रुटि भेटिएपछि तत्काल सच्चाउन लगाइएको हो,’ उनले भने, ‘निर्माण व्यवसायीले अटेरी गरेर काम गरेपछि हामीले पत्र पठाएर सचेत बनाएकै हो ।’

दैनिकजसो पानी पर्ने भइरहेका बेला कालोपत्र गरेपछि स्थानीयले समेत चासो दिएका थिए । असारको अन्तिम साता झरीका बीच कालोपत्र गरेर उप्किएपछि अनुगमनमा पुगेर त्रुटि भएका स्थानमा उप्काउन लगाएको प्रमुख सापकोटले बताए । पानी जमेका स्थानमा रिसिलिङको काम बाँकी रहेकाले सच्चाउन सकिने अवस्था रहेको डिभिजनका सूचना अधिकारी दुर्गा गौतमले बताए । ‘पानी पर्दा र तापक्रम नपुग्दा निर्माण व्यवसायीलाई काम नगर्न भनेकै हो,’ उनले भने, ‘निर्माण व्यवसायीले अटेरी गर्दा अहिले दोष हामीले खेप्नु परेको छ ।’

उत्तर-दक्षिण जोड्ने राजमार्गको काम कमसल भएको सञ्चारमाध्यममा आएपछि आफूहरुको ध्यानाआकृष्ट भएको पाल्पाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यद्वयले बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सदस्य ठाकुर गैरे, १ का नारायण आचार्यले समेत चासो दिएर अनुगमनका लागि दोभान पुगेका हुन् । जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापालगायत सरोकारवालाले स्थलगत अनुगमन गरेका हुन् ।

उनीहरुले सडक डिभिजन कार्यालय, पाल्पाका प्रमुख बाबुराम सापकोटा र निर्माण व्यवसायी राम रानाका साथै स्थानीयबीच छलफल गरे । प्रतिनिधिसभा सदस्य गैरेले धर्मकाँटा राख्ने प्रयोजनका लागि तीन वर्षअघि सडक चौडा गरेको साथै प्रहरी चौकी जाने सडकअन्तर्गत स्थानीय र प्रहरीको आग्रहमा काम गरेको जानकारी भए पनि काममा गुणस्तर हुनुपर्ने बताए । ‘जहाँसुकै काम गर्दा गुणस्तरीय हुनुपर्छ भन्ने नै हो,’ उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता गर्नुभएन ।’ अर्का प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ का आचार्यले जुनसुकै कार्यालयबाट हुने काममा गुणस्तर हुनुपर्ने र त्यसका लागि आफूहरु जहिलेसुकै निगरानी गर्ने बताए ।

राजमार्गअन्तर्गत दोभानमा गरिएको कालोपत्र ज्येष्ठ मसान्तमा भ्याटसमेत १८ लाख १६ हजारको ठेक्का भएको हो । निर्माण व्यवसायीले असारको २५ देखि ३१ गतेसम्म पानी परेको समयमा समेत कालोपत्र गरेपछि स्थानीयले सडक डिभिजनका कर्मचारीको लापरबाही भएको गुनासो गर्दै आएका थिए । तीन दिन नबित्दै कालोपत्र उप्किएपछि सरोकारवालाले समेत चासो दिएका हुन् । तीन दिनअघि मात्र कालोपत्र गरेको स्थानमा रुखको बोक्राजस्तै निस्किएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय कमल श्रेष्ठले वर्षौअघि सडक चौडा गर्दा यहाँ धूलोधुवाँ भएकाले निर्माण व्यवसायीलाई आग्रह गरेर प्रहरी चौकी जाने क्षेत्रमा कालोपत्र गर्न लगाएको बताए । निर्माण व्यवसायी राम रानाले आफू बाहिर भएको र आफ्ना काम गर्नेलाई थोरै भाग कालोपत्र गर्न आग्रह गरेअनुसार काम गर्दा अहिले आफूले सजाय पाएको बताए ।

घाम लागेका महिनामा निर्माण व्यवसायीले काम नगर्ने र बिल भुक्तानीका लागि पानी पर्न सुरु भइसकेपछि असारको अन्तिममा काम गर्दा कालोपत्र तीन दिन पनि नटिक्ने समस्या भएको हो । सिद्धार्थ राजमार्गको लामडाँडा क्षेत्रमा समेत पानी परेका बेला कालोपत्र गरेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए ।

सडक डिभिजनअन्तर्गत पाल्पाकै रामपुर–बेलडाँडा–मित्याल सडकको मित्याल बजार नजिकै १ हजार ४ सय मिटर ग्राभेल पनि राखेकै भोलिपल्ट बगेको छ । यसको स्थानीय तहका जनप्रतिनिधिका साथै स्थानीयले विरोध जनाउँदै आएका छन् । तीन वर्षदेखि काम नगरेको चण्डी निर्माण सेवाले असारमा वर्षा सुरु भइसकेपछि ग्राभेल गरेको सडक डिभिजन पाल्पाले जनाएको छ ।

‘जुन १ हजार ४ सय मिटर ग्राभेल गरेको छ त्यसको भुक्तानी हुँदैन,’ सडक डिभिजन प्रमुख सापकोटाले भने, ‘हामीले लाइन नै दिएका होइनौं । वर्षौंदेखि काम नगरेर बसेको निर्माण व्यवसायी आफ्नै ढंगले काम गरेको हो ।’ निस्दी गाउँपालिकामा सडक डिभिजनअन्तर्गत अमृत कन्ट्रक्सन र सुवेदी कन्ट्रक्सनले गरेका ठेक्काका काममा लापरबाही भएको स्थानीयले गुनासो गरेका छन् ।

प्रकाशित : श्रावण ३, २०८१ १६:५३
x
×