कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

महलीसागर बाँधले ३०० बिघा खेत डुबानमा

श्रावण १, २०८१
महलीसागर बाँधले ३०० बिघा खेत डुबानमा

भगवानपुर, कपिलवस्तु — भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधका कारण ३ सय बिघा खेत डुबानमा परेको छ । असार तेस्रो साताको वर्षाले विस्तारै खेत डुबान गर्दै लगेको बेला गत साताको भारी वर्षाले धान रोप्न नमिल्ने गरी डुबानमा परेको हो ।

यशोधरा गाउँपालिका–५ भगवानपुर लोहरौली र भैइसहियाका कृषकको ३ सय बिघा बढी धान रोप्न तयार गरिएको खेत डुबानमा परेको छ ।

भारतले बनाएको महलीसागर बाँध (ढोका राख्न बाँकी) मा एक मिटर चौडा डेढ मिटर लम्बाइको मोटामोटा सालका पटरा राखेर पानी छेकेको छ । बाँधमा १५ फाटक छन् । पानी निकास हुन नपाउँदा नेपालतिर खेत डुबानमा पर्ने गरेको छ । पानीको बहाब नेपालतिर बढ्दा स्थानीयले खेत सुरक्षित गर्न अस्थायी रुपमा बनाएको तटबन्ध भत्किएर गाउँतिरका खेत पनि डुबाएको छ ।

रोप्न तयारी गरिरहेका बेला खेत डुबानमा परेपछि कृषक तनाबमा छन् । ‘सम्पूर्ण र ६ जातको बीउ हुर्काएर काढ्ने तयारीमा थिए,’ भगवानपुरका मोहम्द सबिर शाहले भने, ‘अब बिउ छिप्पिन थाल्यो । १२ बिघा खेत कम्मरसम्म पानीले डुबेको छ । के कसो गर्ने दिमागले काम गर्न छाडेको छ ।’

७ हजार रुपैयाँ ऋणगर्जो गरेर तयार गरेको ब्याड पहेलिदै गएको उनले बताए । ‘रोपाइँ गर्न नपाए १४ जनाको परिवार कसरी चलाउने ?’ उनले भने, ‘भोक निद लाग्न छाडेको छ ।’ यो वर्षको डुबानले तीनका गाउँका कृषकलाई निक्कै गाह्रो पारेको कृषक यादवले बताए । दुई सातादेखि डुबेको खेतमा दिनदिनै पानी थपिँदैछ । मानो छरेर मुरी फलाएर नुनतेल गर्ने कृषकको जीवनयापन कष्टकर हुने उनले बताए ।

उक्त बाँध सीमा क्षेत्रबाट २ सय मिटरमा पर्छ । भारतको सिद्धार्थनगर जिल्ला, थाना शोहरतगढ अन्तर्गत महली गाउँमा निर्माणाधीन छ । भारतले ०५९ देखि बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पूरा हुन सकेको छैन् । बाँधमा अस्थायी रुपमा काठ राखेर पानी छेकेपछि नेपालको धानबाली डुबानमा परेको छ । बाँधमा ढोका राख्न बाकी १५ फाटक छन् । ढोका राख्ने ठाउँमा सालका पटरा राखेर पानी छेकेको छ । पटराले ढोकाको काम गरेको छ । बाँध माथिबाट हिँड्न डेढ मिटर चौडा सालको काठ राखेर २५ मिटर वाक वे (बाटो) पनि बनाइएको छ । बाँधसँगै सटेर रहेको बान्धा पनि बोरा र माटो थपेर मजबुत बनाउँदै लगेको छ ।

डुबानका कारण यो वर्ष खेती होला जस्तो नलागेको कृषक घनश्याम यादवले बताए । ‘उब्जाएको धानको बीउ ब्याडमै मर्न थाल्यो,’ उनले भने, ‘देस्रो पटक बिउ राख्नै सकिँदैन । पहिले राखेकैको ऋणगर्जो तिर्न सकिएको छैन ।’ गाउँका ५२ परिवारले रोपाइँ गर्न नसकेको उनले सुनाए ।

भगवानपुर, लौहरौली र भैइसहियाका डेढ सय बढी कृषक डुबानबाट नराम्ररी प्रभावित भएका छन् । ‘बढी वर्षा भएको ५/६ घण्टामै डुबान हुन्छ,’ मोहम्मद अयुबले भने, ‘वर्षा भएन भने पनि धान हुँदैन । बीउ राख्न पानी नपर्दा आकाशतिर हेरेर बस्नु पर्छ ।’ धेरै पानी परे घरसम्मै डुबान भरिएर क्षति हुने गरेको छ ।

बाँधका कारण नेपालको यशोधरा गाउँपालिकाको भगवानपुर, कचरिहबा, रंगपुर, भैईसहिया, लोहरौली तथा पर्सोहिया गाउँ प्रभावित हुने गर्छ । बाँधले तीन सय हेक्टर बढी नेपाली भू–भाग डुबानमा पर्ने नेपाली अधिकारीहरू बताउँछन् ।

बाँधकै कारण उक्त क्षेत्रमा नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमा स्तम्भ पनि वर्षाका बेला डुबानमा पर्छ । ‘रातदिन मेहनत गरी खेती गर्छौं । डुबानले महिनौंको मेहनत छिनमै नष्ट गर्दा रुनु न हाँस्नु भएको छ,’ स्थानीय रमेश यादवले भने, ‘त्यसै त गरिबको बाहुल्यता रहेको गाउलेको जीवनयापन अझ कष्टकर बन्दै गएको छ ।’

नेपालबाट हुने हरेक उच्चस्तरीय भ्रमणका बेला बाँध पीडितले समस्या समाधान गर्न माग गरेको पनि २१ वर्ष भइसक्यो स्थानीय सन्तराम केवटले बताउँछन् । नेता र उच्चपदस्थ अधिकारीहरू भारत भ्रमणमा जाने बेला मार्फत समस्या समाधानका लागि ध्यानाकर्षण गराउन सधैंजसो प्रशासन कार्यालय पुग्दै आए पनि अहिले सम्म सुनवाइ नभएको स्थानीयको गुनासो छ ।

दुई देशबीचको विषय भएकाले माथिल्लोस्तरबाट नै समाधान खोजिनुपर्ने यशोधरा गाउँपालिका अध्यक्ष शिवदयाल तिवारीले बताए ।

प्रकाशित : श्रावण १, २०८१ १६:००
×