कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मिना परियार हत्या प्रकरण : प्रेमीद्वारा गर्भवती प्रेमिकाको हत्या गरी गाडेको स्वीकार

भाद्र २१, २०८१
मिना परियार हत्या प्रकरण : प्रेमीद्वारा गर्भवती प्रेमिकाको हत्या गरी गाडेको स्वीकार

Highlights

  • वयानका क्रममा प्रेमी राम खत्रीले अन्तरजातीय प्रेम छिपाउन गर्भवती प्रेमिकाको छुरा हानी हत्या गरी शव जंगलमा लगेर गाडेको स्वीकारेको प्रहरीको दाबी

म्याग्दी — जिल्ला प्रहरी कार्यालयले बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय गर्भवती प्रेमिका मिना परियारको हत्या गरी गाडेका प्रेमी राम खत्रीविरुद्ध शुक्रबार जिल्ला अदालतमा ज्यान सम्बन्धी कसुरमा अभियोगपत्र दर्ता गरेको छ ।

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता ०७४ को परिच्छेद १२ को दफा १७७ माग दाबी गरिएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ ।

शुक्रबार अभियोग पत्र अदालतमा ढिला दर्ता भएकोले समय अभावले थुनछेक आदेश भएन । सोही अभियोगमा रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई पनि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

८ महिनादेखि बेपत्ता रही गत २७ गते जंगलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरी अनुसार अनुसन्धान हुँदा अभियुक्तले हत्या गरी गाडेको बयानमा स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यान सम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरत श्रेष्ठले बताए ।

उनले भने, ‘अन्य प्रमाण लाग्ने वस्तु डीएनए टेष्टलगायतको परीक्षण रिपोर्ट केन्द्रीय विधिविज्ञान प्रयोगशालाबाट आउन बाँकी छ ।’ ०८० पुस १६ गते राति ११ः१५ बजेबाट घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको शव गत साउन २७ गते जंगलमा गंगटा खोज्ने क्रममा स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले जमिनमुनि गाडेको शव उत्खनन् गर्दा अनुहार र लिङ्ग पहिचान हुन नसक्ने अवस्थामा थियो ।

उत्खनन् भएको ‘सडेगलेको मृत शरीर’ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरा पुर्‍याइ ०८१ साउन ३१ गते पोष्टमार्टम गरिएकोमा रिपोर्टले ‘शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुण समेत रहेको’ पुष्टि गरेको थियो ।


परियारलाई बेपत्ता बनाएको ‘ब्यक्ति बेपत्ता पार्ने सम्बन्धी कसुर’ सम्बन्धी अभियोगमा जिल्ला अदालतको ०८० फागुन १७ गतेको थुनछेक आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका राम खत्रीलाई झिकाई सरकारी वकिल कार्यालयमा बयान लिइएको, बयान लिने क्रममा पोलीग्राफ परीक्षण गरिएको तथा बयानमा राम खत्रीले अर्न्तरजातीय गर्भवती प्रेमिकाको आफू एक्लैले छुरा हानी हत्या गरी शव जंगलमा लागि गाडेको स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

गिठिनी जंगलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्रि, कालो सल, चप्पल समेतका कपडाबाट उक्त शव करिब ८ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो ।

मिनाको शव फेला परेपछि बाबु चन्द्रे नेपाली (परियार)ले साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम खत्री समेत आमा, दाई, भाई र सालासमेत परिवार ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए ।

स्थानीय गलेश्वर माध्यामिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्री बीच प्रेम सम्बन्ध भै पटकपटक यौन सम्पर्कबाट मिनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक-पटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।

प्रकाशित : भाद्र २१, २०८१ २०:५०
x
×