कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

चुमखोला र बुट्टार जोड्न त्रिशूलीमा 'बेलिब्रिज'

भाद्र २०, २०८१
चुमखोला र बुट्टार जोड्न त्रिशूलीमा 'बेलिब्रिज'

गोरखा — चितवनको इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्न त्रिशूली नदीमा बेलिब्रिज निर्माण भएको छ ।

नवनिर्मित पुलको वुधबार गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिना र चितवनको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरे । ब्लु इनर्जी कम्पनीले सडक विभागसँग समन्वय गरी पुल निर्माण गरेको हो ।

कम्पनीले त्रिशूली नदीमा १ सय मेगावाटको सुपर त्रिशूली जलविद्युत अयोजना निर्माण गर्दै छ । पुल निर्माणका सामाग्री ढुवानीमा सहजताका लागि पुल निर्माण भएको हो । १६ करोड १४ लाख रुपैयाँको लागतमा बेलिब्रिज निर्माण गरेको ब्लु इनर्जी लिमिटेडका निर्देशक निरन्जन कुमार रेग्मीले बताए । पुल एक सय १६ मिटर लामो छ । एक पटकमा २० टन भारवहन क्षमता रहेको र एक पटकमा एउटा मात्र सवारी आवातजावात गर्नुपर्ने उनले बताए । चार महिनामा ब्लु इनर्जीले पुल निर्माण सम्पन्न गरेको हो । प्राविधिक भारवहन क्षमताको परीक्षण गरी बेलिब्रिजमा आवातजावात खुल्ला गरिएको सुपर त्रिशूली हाइड्रोपावरका वातावरण परामर्शदाता सलिल देवकोटाले बताए । पुल निर्माण भएसँगै मकैसिङ, पातिस्वारा, नाम्जुङ आहाले हुँदै गोरखा बजार पुग्न सहज बन्ने अपेक्षा गरिएको छ ।

पुल नहुँदा यसअघि गण्डकी गाउँपालिकाको ताङ्लीचोक, मकैसिङ र भुम्लीचोकका बासिन्दाले उत्पादित कृषि उपज डोकोमा बोकेर झोलुङ्गे पुल मार्फत पृथ्वीराजमार्ग पुर्‍याउनुपर्ने बाध्यता थियो । अब सवारीसाधन मार्फत ढुवानी हुने छ । त्यस्तै पुल निर्माणले जलविद्युतका सामाग्री गोरखा तर्फ पुर्‍याउन पनि सहज बन्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ १४:३७
x
×