कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

नारायणी नदी कटानले तीन सयभन्दा बढी परिवार जोखिममा

भाद्र १६, २०८१
नारायणी नदी कटानले तीन सयभन्दा बढी परिवार जोखिममा

नवलपरासी — नारायणी नदीको कटानले मध्यविन्दु नगरपालिका अन्तर्गतका नन्दपुर, सितापुर र धजाह बस्ती जोखिममा परेका छन् । मध्यविन्दु नगरपालिका-२ को बलघट्टामा नदी नियन्त्रणका लागि निर्माण भएको ड्याम आइतबारको बाढीले खसालेको हो ।

बलघट्टाभन्दा १ सय ५० मिटर दक्षिण पश्चिममा नदीले सय मिटर बढी ड्याम खसालेको २ का वडाध्यक्ष रामभक्त अधिकारीले जानकारी दिए । मध्यविन्दुको यो बस्तीमा ३ सय घरभन्दा बढीको बसोबास छ । यही गतिमा नदीले तटीय क्षेत्र कटान गरेमा नदीको धार नै परिवर्तन हुने जोखिम रहेको मध्यविन्दु नगरपालिकाका प्रमुख भिमलाल अधिकारीले बताए ।

उनी भन्छन्, 'नदीको बाहव बढ्दै जाने हो र कटान नरोकिने हो भने नन्दपुर, सितापुर, धजाह बस्तीसहित मध्यविन्दु नगरपालिका–४, ६ र १५ को नदी तटीय क्षेत्रको पुरै बस्ती नै जोखिममा हुन्छन् ।'

२०५८ सालको बाढीले धजाह बस्ती नै बगाएको थियो । त्यतिखेर घरबारविहीन भएका १ सय २ घर परिवार स्थानीय हाल मध्यविन्दु नगरपालिका–६ र ७ को विभिन्न स्थानमा अव्यवस्थित रुपमा बसोबास गर्न बाध्य छन् ।

हाल नदीले कटान गरेको क्षेत्रबाट नदीले धार परिवर्तन गरेमा नन्दपुर, सितापुर, सेहरी, धजाह लगायतको बस्ती टापुमा परिणत हुने जोखिम रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : भाद्र १६, २०८१ १९:१२
x
×