कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

म्याग्दीका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

भाद्र ९, २०८१
म्याग्दीका सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड

म्याग्दी — सामुदायिक विद्यालयहरुले स्मार्ट बोर्डबाट अध्यापन गराउन थालेका छन्। विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानमा पछिल्लो पटक आइतबार सदरमुकाम बेनीको प्रकाश माध्यामिक विद्यालयले एण्ड्रोइड १४.० भर्सनको आइओएस अपरेटिङ सिस्टम, फोर के रिजुलेसन सहितका २ वटा इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरी अध्यापन थालेको हो । 

जिल्लामा ७२ वटा सामुदायिक माध्यमिक विद्यालयहरु छन् । जसमध्ये अन्नपूर्ण गाउँपालिका भित्रका सबै १० वटा सामुदायिक मावि, बेनी नगरपालिकाका ३ वटा सामुदायिक मावि र दुर्गम धवलागिरीका २ वटा सामुदायिक विद्यालहरुले यसअघि नै कम्तीमा एक–एक वटा स्मार्ट बोर्डबाट अध्ययन/अध्यापन गराइरहेका छन् ।

‘समयले प्रविधिसँगै अनुकुलन नभइ नहुने अवस्थामा पुर्‍याएको छ । शिक्षक, अभिभावकभन्दा विद्यार्थी प्रविधिमा धेरै अगाडि छन् । अब शिक्षकलाई बढी सक्रिय र क्रियटिभ बनाउनु पर्नेछ,’ स्माट बोर्ड जडानपछि प्रकाश माविका प्रधानाध्यापक लेखबहादुर हमालले भने, ‘विज्ञान विषयमा कक्षा ११ र १२ संञ्चालन गर्ने जिल्लाको एक्लो विद्यालय हौं, हामीलाई प्रविधिमैत्री बन्न दबाब थियो । विज्ञान समूहमा स्मार्ट बोर्डबाट अध्यापन सुरु गरी अर्को दुई वर्षभित्र कक्षा ८ देखि माथिका सबै कक्षामा स्मार्ट बोर्ड पुर्‍याउने लक्ष्य लिएका छौं ।’

विद्यालयले कार्यसम्पादनमा आधारित मुल्यांकनमा बेनी नगरपालिकामा पहिलो भएपछि प्राप्त ३ लाख नगद पुरस्कारमध्येबाट २ लाख १८ हजार खर्चेर स्ट्याण्ड, ओपीएस बक्ससेट र स्मार्टबोर्ड खरिद गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठले एक लाख ६० हजार खर्चेर अर्को इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड जडान गरिदिएका हुन् ।

तर स्मार्ट बोर्ड जडान गरेसँगै अध्ययन/अध्यापन गराउन पावर ब्याकअप, उच्चगतिको इन्टरनेट र सुरक्षाकालागि सीसी क्यामेरा अभाव रहेको विद्यालयले जनाएको छ । ‘जिल्लाको जेठो विद्यालय भनेर मात्र कोही विद्यार्थी आउनेवाला छैनन् । विद्यालयहरु अब विद्यार्थीको माग र समयको आवश्यकता अनुकुलका प्रविधिमैत्री बन्नैपर्छ । त्यसैले विद्यालय ब्यवस्थापन समितिमा चयन भएपछि आफैँले स्मार्ट बोर्ड खरिदका लागि सहयोग गरेको हुँ,' अध्यक्ष श्रेष्ठले भने ।

यस अघि जिल्लामा अन्नपूर्ण गाउँपालिकाका हिमाञ्चल मावि, आदर्श मावि, टिकोट मावि, ज्ञानप्रकाश मावि समेतका सामुदायिक विद्यालयहरुले ५ वर्षअघि देखि नै स्मार्ट बोर्डबाट अध्ययन/अध्यापन गराउँदै आएका थिए ।

प्रकाशित : भाद्र ९, २०८१ १४:५१
x
×