कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

हिउँपहिराले थुनिएको बोक्सीखोला बग्न थाल्यो

भाद्र ७, २०८१
हिउँपहिराले थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी — धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।

'आज दिउँसो करिब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिदा दुई तिहाई पानीको मात्रा घटेको थियो,' उनले भने, 'दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौँ ।' खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए ।

बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करिब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ । गाउँपालिका अध्यक्ष गौचन, मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयवासीसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षणसमेत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लीदाँसम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । यसअघि विस २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिराले एक सय ५० भन्दा बढी चौरीगाई मरेका थिए । पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८१ २०:०२
x
×