कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

नागरिकलाई सेवा दिन आँधीखोलाका जनप्रतिनिधि र कर्मचारी प्रदेश राजधानीमा 

भाद्र ७, २०८१
नागरिकलाई सेवा दिन आँधीखोलाका जनप्रतिनिधि र कर्मचारी प्रदेश राजधानीमा 

कास्की — स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार पोखरा (प्रदेश राजधानी) पुगेर आफ्ना नागरिकलाई सेवा दिएको छ ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलको नेतृत्वमा वडाध्यक्ष र कर्मचारीको टोली पोखरामा रहेका आँधीखोला–२ का बासिन्दालाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरण गर्न यहाँ आइपुगेको हो । यसअघि वडा नम्बर १ र ३ का बासिन्दाका लागि पनि सोही टोलीले पोखरामा सेवा दिएको थियो ।

ज्येष्ठ नागरिक, अपांग, एकल महिला, ५ वर्ष मुनिका दलित बालबालिकाको भत्ता कार्ड नवीकरण गरिएको आँधीखोलाका अध्यक्ष पौडेलले बताए । ‘यहाँबाट कार्ड नवीकरण गर्न गाउँपालिका जाँदा एक जनाको ३ हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘त्यो ३ हजार रुपैयाँ बचत गराउने र नसक्नेहरुको हकमा घरमै सेवा दिने उद्देश्यले पालिका स्वयम् आफ्ना बासिन्दा भएको ठाउँमा आएको हो ।’

उनले जनप्रतिनिधि जनताको सेवक भएकाले जनताको बसोबास भए ठाउँमा पुग्नु आफ्नो कर्तव्य रहेको सुनाए । आँधीखोलामा जम्मा ६ वटा वडा छन् । तीमध्ये १ र ३ को नवीकरण सम्पन्न गरिसकेको उनले बताए । हालसम्म १ नम्बर वडाका १ सय ३१ जनाले नवीकरण गराएका छन् भने ३ का ४१ जनाले नवीकरण गरेका छन् । २ नम्बर वडाको शुक्रबार ३६ जनाको मात्र नवीकरण गरिएको छ ।

पालिका अध्यक्ष पौडेलले छुटेकालाई अर्कोपटक सामेल गराउने बताएका छन् ।

प्रकाशित : भाद्र ७, २०८१ २२:०४
x
×