कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

पर्यटक भित्र्याउने दुर्लेनी योजना

श्रावण १, २०८१
पर्यटक भित्र्याउने दुर्लेनी योजना

बागलुङ — सदरमुकामनजिकै भए पनि दुर्लेनी र डोय बसाइँसराइले सुनसान बनेको छ । घरका युवा सदरमुकाम बस्ने, खेतीपाती लगाउनमात्रै गाउँ जाने गरेका छन् ।

सुनसान जंगलजस्तो लाग्ने दुर्लेनीबाट उत्तरतर्फ एकदर्जन हिमाली श्रृंखला देखिन्छन् । सदरमुकाम बागलुङ बजारसहित पर्वतका अधिकांश डाँडा यहीँबाट अवलोकन गर्न सकिन्छ । बस्ती घटे पनि रमणीय स्थल भएकोले दुर्लेनीलाई गुल्जार बनाउन बागलुङ नगरपालिकाले तयारी गरेको छ ।

यहाँको एक सय बढी रोपनी जमिन लिएर नगरपालिकाले पर्यटनको केन्द्र बनाउन लागेको हो । त्यसका लागि यहाँ सबैखाले संरचना बनाउने योजना छ । विशेषगरी यहाँ पोखराको जस्तै अग्लो शिवमूर्ति बनाउने, वनभोज स्थल निर्माण गर्ने र स्थानीय कला, संस्कृति, उत्पादन समेतको प्रचार र बजारीकरण गर्ने लक्ष्य राखिएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

समुन्द्री सतहदेखि २ हजार मिटर उचाइमा रहेको यो बस्तीमा पर्यटकीय केन्द्र बनाउँदा सदरमुकाममा आउने अधिकांश पाहुना पुर्‍याउन सकिने श्रेष्ठले विश्वास गरे । ‘पर्यटकका लागि सहज यातायात र सदरमुकामबाट नजिकै आकर्षण स्थलमा पुग्ने ठाउँ उपयोगी हुन्छ,’ उनले भने, ‘नगरपालिकाले यो क्षेत्रलाई गौरवको आयोजनामा समावेश गरिसकेको छ ।’ चालु वर्ष ७० लाख लगानी गरेर यहाँको जमिन सम्याउने, संरक्षणका लागि पर्खाल निर्माण, पर्यटकीय क्षेत्र र अग्लो मूर्ति बनाउने नजिकै सुरक्षाकर्मी बस्ने घरसमेत बनाइएको छ । हाल ती संरचना निर्माणाधीन छन् ।

खानेपानीको ट्यांकी निर्माण भइसकेको छ । नजिकैको मूलबाट पानी जोडिने छ । वडाध्यक्ष राजु थापाले गुरुयोजना अनुसारका काम पूरा गरिसक्दा महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्ने बताए । त्यसका लागि आगामी आर्थिक वर्षका लागि पनि नगरपालिकाले गौरवको आयोजना भन्दै २ करोड ५० लाख विनियोजन गरेको छ । नगरस्तरीय योजना वडा तहमा संचालन भएको यो नै सबैभन्दा ठूलो हो । ‘हामीले डीपीआर बनाइसकेकोले आगामी वर्ष सहज रुपमा काम हुनेछ,’ इन्जिनियर दिपेन्द्र भण्डारीले भने, ‘यहाँ पुग्ने सडक पनि स्तरीय बनाउने लक्ष्य छ ।’ यो सडक बनिसक्दा बागलुङकै विकट मानिने रायडाँडा पुग्न पनि सहज हुनेछ । त्यहाँ रहेको शान्ति गुम्बाको प्रचार र पर्यटन प्रवर्द्धनमा पनि सहज हुनेछ ।

दुर्लेनीमा पर्यटनका कार्यक्रम आउने भएपछि स्थानीयले पनि कृषि, पशुपालन लगायतको काम थालेका छन् । स्थानीय मिना जिसीले ५० वटा बाख्रा पालेकी छन् । आवश्यकता अनुसार बढाउन उनले आधुनिक खोरसमेत बनाएको बताइन् । भेटेरेनरी तथा पशु विज्ञ केन्द्रले उनको आधुनिक खोर र घाँस भण्डारणका लागि १ लाख २५ हजार अनुदान दिएको छ । जिसीले २ लाख ५० हजारमा भण्डारण गोठ बनाएको बताइन् ।

बजार झरेर बसेका कृष्णबहादुर खड्का र देवबहादुर खड्का लगायतका युवा मिलेर ओखर खेती पनि थालेका छन् । तरकारी खेतीका लागि पनि युवा सक्रिय छन् । स्थानीय कृष्ण खत्रीले तरकारी फलाएर बजार पठाउने गरेका छन् । पर्यटकीयस्थल बनेमा ती उत्पादन गाउँमै बिक्री गर्न सकिने उनीहरुको आश छ । नगरपालिकाले पनि उत्पादनमा आधारित अनुदान दिने र स्थानीय उत्पादनले पुगेसम्म आयात नगर्ने नीति लिएको छ ।

पर्यटन प्रवर्द्धनकै लागि बागलुङ बजार नजिकैको अग्लो पुलदेखि दुर्लेनी र डोयसम्म झण्डै ४ किमि लामो पदमार्ग पनि बनाउन लागेको छ । ‘गाडी चढेर आउनेलाई स्तरीय सडक बन्नेछ भने पैदल यात्रा गर्न चाहनेले पनि पदमार्गमा हिँड्न पाउनेछन्,’ भण्डारीले भने, ‘आकर्षक गन्तव्य बन्यो भने धेरै ठाउँमा लगानी गर्नै पर्दैन ।’ उत्तर तर्फको डाँडामा पञ्चकोट, पूर्वतर्फ भकुण्डे र दक्षिणतर्फ दुर्लेनी पर्यटकीयस्थल बन्न लागेको हो । ती सबै स्थानमा होमस्टेलाई प्राथमिकता दिएर स्थानीय उत्पादन, कला र संस्कृतिमार्फत पर्यटक आकर्षण गर्न सक्ने बनाउने लक्ष्यले काम भएको श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : श्रावण १, २०८१ १६:३५
×