कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न थारु समुदायको माग

भाद्र २९, २०८१
जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न थारु समुदायको माग

चितवन — आदिवासी थारु समुदायका महिलाहरूले मनाउने जितिया पर्व नजिकिंदै छ । यही पर्वको अवसर पारेर शनिबार थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति र थारु महिला सभा चितवनले पदमपुरमा आयोजना गरेको भेलाले ‘जितिया घोषणापत्र–२०८१’ जारी गरेको छ ।

जितियालाई राष्ट्रिय पर्व घोषणा गर्न र जितिया लगायत थारु समुदायका पर्वहरू यमोसा र फगुवा पर्वको घुरहेरीका दिन राष्ट्रिय बिदा दिन माग गरिएको छ ।

जितिया पर्व असोज महिनाको कृष्ण पक्षको सप्तमी, अष्ठमी र नवमी तिथिमा पर्छ । यस पटक असोज ८, ९ र १० मा यो तिथि परेको छ । सुरुको दिन महिलाहरू मिठा खानेकुरा खान्छन् । दोस्रो दिन ब्रत बसेर जितबहानको कथा सुन्ने गर्छन् । तेस्रो दिन जितियाको समापन हुन्छ । जितियामा थारु महिलाहरू ‘झाम्टा नाच’ नाच्छन् । समूह बनाएर महिलाहरू गोलाकार घुम्दै सबैले गीत गाउने र थपडी मिलाएर ताल मिलाउने गर्छन् ।

‘जितिया पर्व र यसको धार्मिक, सांस्कृतिक, नैतिक र व्यावहारिक पक्ष एवं मूल्य मान्यताबारे विद्यालय तहको पाठ्यक्रममा समावेश गरियोस्’ घोषणापत्रमा उल्लेख छ । जितिया पर्व र थारु समुदायले संरक्षण गरेको परम्परागत पहिरन, नाच, गीत एवं थारु समुदायले प्रयोग गर्ने हस्तकलाका सामग्रीहरूमा थारु समुदायको अधिकार स्थापित हुने गरेर कानुन निर्माण गर्न घोषणापत्रमा माग गरिएको छ ।

गैरथारु समुदायले थारु समुदायका गीत, नृत्य, हस्तकला र परम्परागत पहिरन प्रयोग गरी धन आर्जन गर्न खोजे थारु समुदायलाई रोयल्टी दिनु पर्ने व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन् । नजिक आएको जितिया पर्व थारु बहुल सबै क्षेत्रमा हर्षोल्लासका साथ मनाउन आह्वान गर्दै यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारले बजेट उपलब्ध गराउन माग गरिएको छ ।

थारु कल्याणकारिणी सभा चितवन शाखामा सभापति ललित चौधरी र थारु महिला चितवनका सभापति मञ्जु चौधरीले संयुक्त रूपमा उक्त घोषणापत्र जारी गरेका हुन् । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीको प्रमुख आतिथ्यमा घोषणपत्र जारी गर्न आयोजित भेला (कचहरी)को उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । मेयर रेग्मीले बिदाका लागि वाग्मती प्रदेशका मुख्यमन्त्रीसमक्ष आफैंले कुरा राख्ने आश्वासन दिए ।

२०७८ सालको जनगणना अनुसार चितवनको कुल जनसंख्याको १० प्रतिशत थारु रहेका छन् । ब्रह्मण र क्षेत्रीपछि यहाँ तेस्रो स्थानमा थारु समुदाय रहेका छन् । सातवटा पालिका रहेको चितवनमा जनसंख्याका हिसाबले खैरहनी र माडी नगरपालिकामा पहिलो र रत्ननगर नगरपालिकामा दोस्रो स्थानमा थारुहरू रहेका छन् । ७ लाख १९ हजार ८ सय ५९ जनसंख्या रहेको चितवनमा थारु समुदायको संख्या ७२ हजार ६ सय ५८ रहेको छ ।

प्रकाशित : भाद्र २९, २०८१ २२:०६
×