कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भोटेकोसीमा जिप दुर्घटना : ड्यामसाइडमा भेटियो महिलाको शव, चालक अझै बेपत्ता

भाद्र २९, २०८१
भोटेकोसीमा जिप दुर्घटना : ड्यामसाइडमा भेटियो महिलाको शव, चालक अझै बेपत्ता

सिन्धुपाल्चोक — उत्तरी नाका तातोपानी जोड्ने बाह्रबिसे-तातोपानी सडक खण्डको छ्याक्साको भोटेकोसी नदीमा डुबेको क्षतिग्रस्त जिपमा सवार बेपत्तामध्ये महिलाको शव फेला परेको छ । 

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेकाअनुसार शनिबार सुनकोसी जलविद्युत्‌को ड्यामसाइडक्षेत्रको नदीमा बाहृबिसे नगरपालिका-९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ डुबेको अवस्थामा मृत भेटिएकी हुन् । 'महिलाको शव लासघरमा राखेका छौं, कानुनी प्रक्रिया सकेर भोलि पोस्टमार्टमका लागि अघि बढ्नेछौं, घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको छ,' पाण्डेले भने ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककाअनुसार क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेराका चालक भोटेकोशी गाउँपालिका-५ बस्ने ३८ वर्षीय सानु शेर्पा अझै बेपत्ता छन् । दुवै फोन सम्पर्कमा नआएपछि प्रहरीले शंकास्पद स्थानमा तीव्र खोजी थालेको छ ।

शुक्रबार बिहान बाह्रबिसे-६ बोर्डरल्याण्ड ढुंगाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोसीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ५ जनाको टोली र प्रहरी चौकी हिन्दीबाट प्रहरी हवल्दारको कमाण्डमा २ जना गरी जम्मा ७ जना खटिएका थिए ।

सशस्त्र प्रहरी बल, नेपाली सेनाको उद्धारको टिम बोलेरो निकाल्न खटिएको थियो । मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक-पटक प्रयास गरेका थिए । 'बेपत्ता चालकको प्रहरीले शंकास्पद स्थानमा खोजी गरिरहेको छ,' जिल्ला प्रहरी सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी निरञ्जन भट्टराईले भने ।

स्थानीय र आफन्तसँगको सोधपुछका आधारमा बोलेरो बिहीबार बेलुका नै सडकबाट नदीमा खसेर दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १७:२३
×