साँगाचोकका किसानलाई घाँसघर र सिँचाइ रिचार्ज पोखरी
Highlights
- ‘साइलेज मेसिन’ले मकैको ढोड र अन्य सबै प्रकारका घाँस एकैछिनमा प्याकिङ
सिन्धुपाल्चोक — जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–११ साँगाचोकमा किसानको घाँसघर र सिँचाइ रिचार्ज पोखरी कार्यक्रम प्रभावकारी देखिएको छ । साँगाचोकभरि ११ सय घरधुरी छन् भने सयौं सिँचाइ पाेखरी ।
स्थानीय मकैको ढोड र घाँसको भारी बोकेर वडा कार्यालयछेउ रहेको किसानको घाँसघर पुग्छन् । उक्त घरभित्र एउटा अत्याधुनिक ‘साइलेज मेसिन’ छ, जसले मकैको ढोड र अन्य सबै प्रकारका घाँसलाई एकैछिनमा प्याकिङ गरेर गुइँठो बनाउँछ । प्याकिङ गरिएको घाँस अनुमानित ५० किलोको पोको हुने गर्छ ।
‘यो हिउँदका लागि पनि चौपायालाई हरियो घाँस खुवाउन मिल्छ । यस काममा स्थानीयको ढुवानी खर्च वडाले नै बेहोर्छ,’ चौतारा साँगाचोकगढी–११ का अध्यक्ष रोशनराज गिरी भन्छन्, ‘नगरभरका सम्पर्कमा आउनुभएका किसानलाई प्याकिङ गरेर घाँस पठाइरहेका छौं ।’ वडाबासीको पशुपालन अभियानलाई व्यवस्थित पार्न ०८१ असारमा वडाबाट १० लाख बजेट छुट्याएर चीनबाट ‘साइलेज मेसिन’ ल्याइएको हो । नगरपालिकाले थन्किएका कवाडी सामग्री ल्याएर वडाबाट ५ लाख खर्च गरेर एउटा भवन ठड्याएर कृषक घाँस घर स्थापना गरेको छ । घाँसघरका कारण किसानको घाँस काट्ने समय बचत हुनेसँगै पशुपालनलाई सघाउ पुगेकाले स्थानीय हर्षित छन् ।
पानीचौरको तल्लो भेगमा नगर र वडाको साझेदारीमा ३० लाख रुपैयाँमा गत वर्ष एक करोड लिटर पानी अट्ने सिँचाइ पोखरी खनिएको छ । जहाँ खेर जाने बर्खाको भेल जम्मा गरिन्छ । यो पोखरी बनेयता वडामा खेतीपाती तथा वृक्षरोपणका लागि पानी खोज्नुपर्ने बाध्यता हटेको छ । भूकम्पपछि जताततै पानीका मूल सुकेर सिँचाइको हाहाकार भएपछि मुहान खोज्ने कामसँगै पानी बचत गर्न पोखरीको अवधारणा ल्याइएको वडाध्यक्ष गिरीले बताए ।
‘यो पोखरीमा आहिले वर्षाको पानी डोर्याएर २५ देखि ३० लाख लिटर पानी जम्मा पारेका छौं, यो सुक्खाग्रस्त क्षेत्र भए पनि पोखरीको पानीको सदुपयोग गरेर वडाभित्र चार हजार बिरुवा रोपिएका छन् । सिँचाइ र अन्य खेतीपातीको सुविधाका लागि ठाउँ–ठाउँमा श्रमदानबाट ५ सय वटा सानाठूला रिचार्ज पोखरी बनाइएको छ,’ गिरीले भने । एकदेखि सय घनमिटरसम्मका ती पोखरीको पानी स्थानीय किसानले सहजै प्रयोगमा ल्याएका छन् । काठमाडौं महानगरपालिकाबाट फालिएको कालो तार ल्याएर वन्यजन्तु नियन्त्रण गर्ने अभियानअन्तर्गत वन क्षेत्रलाई ८ किलोमिटर बारिएको छ ।
पत्करबाट कम्पोस्ट मल र पशु सापटी कार्यक्रम
यहाँ प्रायः जंगलमा झरेर खेर जाने ठूलो परिणामका पत्कर संकलन गरेर कम्पोस्ट मल तयार गरिएको छ । जंगलका बीचबीचमा सानो र ठूलो गरी उपयुक्त खाडल तयार गरेर त्यहाँ पत्कर राख्दै छोप्ने गरिन्छ । केही समयपछि पत्कर कम्पोस्ट मल बन्ने वडाध्यक्ष गिरीले बताए । ‘त्यसबाहेक पशुपालकलाई प्रोत्साहन गर्न सापटी कार्यक्रम चलाएका छौं, इच्छुक वडाबासीलाई गाईभैंसी र बाख्रा किन्न सापटी रकम दिइएको छ, पशुपालनमा वडाले दिएको ऋण कृषकले तीन वर्षपछि फिर्ता गर्नुपर्ने प्रावधान बनाएका छौं,’ उनले भने ।
दुई वर्षअघिबाट यो दुवै अभियान सुरु गरिएकामा पत्करबाट कम्पोस्ट मल बनाएर धेरैजसो किसानले प्रयोगमा ल्याइरहेका छन् भने वडाका धेरैजसो किसान पशु सापटी कार्यक्रममा सहभागी छन् । ‘यो अभियानले पनि सार्थकता पाइरहेको छ, किसान रकम फिर्ता गर्ने तयारीमा छन्,’ उनले भने ।
प्रकाशित : भाद्र २९, २०८१ २१:१८