कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दोलखामा १० दिनअघि हराएका २ मध्ये एक बालकको शव फेला

भाद्र २३, २०८१
दोलखामा १० दिनअघि हराएका २ मध्ये एक बालकको शव फेला

Highlights

  • बाल संरक्षण केन्द्रमा बस्दै आएका दुई बालक गत भदौ १२ गते विद्यालयबाट सम्पर्कविहीन भएका थिए । गतवर्ष यसैगरी हराएका २ जना अझै फेला पर्न सकेका छैनन् । 

दोलखा — भीमेश्वर–१ बुद्ध प्राथमिक विद्यालयमाबाट गत भदौ १२ गते हराएका दुईमध्ये एक बालकको हात्ती छहरा नजिकको घना जंगलमा शव फेला परेको छ । अर्का एक अझै फेला परेका छैनन् । अभिभावकबिहीन उनीहरू भीमेश्वर–१ सुस्पाको अधिकारका लागि बाल संरक्षण केन्द्रमा आश्रित थिए ।

१३ वर्षका सर्लाहीका विशाल थापामगर र ११ वर्षका सुशील रानामगर दिउँसोको खाजा खाएपछि विद्यालयबाटै सम्पर्कविहीन भएका थिए । १० दिनपछि शनिवार साँझ विशालको शव जंगलमा सडेको अवस्थामा फेला परेको हो

गत वर्ष पनि साउन २३ गते सोही केन्द्रमा आश्रित रही उक्त विद्यालमा विद्यालयमा अध्ययनरत ११ बर्षका रामेछापका धनबहादुर नेपाली र ९ बर्षका सोलुखुम्बुका अनिल सुन्दास हराएका थिए । उनीहरू पनि अहिलेसम्म फेला परेका छैनन् ।

विशाल र सुशीललाई केन्द्रले काठमाडौंबाट उद्धार गरेर ल्याएको थियो । विशाल अध्ययनमा निकै राम्रो रहेको विद्यालयका प्रधानाध्यापक ध्रुव थापाले बताए । ‘दिउँसो खाजाको समयमा उनीहरु दुवै जनालाई विद्यालयले खाजा दिएका थियौं, खाजा खाएपछि खेल्न चौरमा निस्केका थिए,’ प्रधानाध्यापक थापाले भने, ‘हामी पनि खाजा खाना लाग्यौं, खाजापछि कक्षा कोठामा उनीहरु देखिएनन् ।’

विशाल २ वर्षअघि र सुशील यहि शैक्षिकसत्रमा भर्ना भएको उनले बताए । 'विशाललाई सुशीलले दाई भनेर सम्बोधन गर्ने गरेको उनले बताए । ‘दुवैजना खुबै मिल्थे, खेल पनि सँगै हुन्थे,’ उनले भने, ‘गएको वर्ष पनि विद्यालयमा केन्द्रबाट अध्ययनमा आउने दुईजना सम्पर्कविहीन बनेका थिए, हामीले केन्द्रबाट आउनेलाई यो कुरा भनेका पनि थियौं ।’ विशाल र सुशीलले भने विद्यालय नछाडने र पढने ईच्छा जाहेर गरेको उनले बताए ।

उनीहरु किन विद्यालय छाडेर सम्पर्कविहीन बने अझै खुल्न सकेको छैन् । केन्द्रमा अभिभावक नभएका र सडकबाट उद्धार गरिएका बालबालिका राख्ने गरिएको छ । भूकम्पपछि उक्त केन्द्र खुलेको हो । केन्द्रमा हाल ३१ जना यस्ता ८ वर्षदेखि १८ वर्षसम्मका बालक र किशोरहरू छन् ।

विशालको घटनापछि केन्द्रमा बसेका बालकहरू किन भागिरहेका छन् भन्ने अनुसन्धान सुरु भएको छ ।

प्रहरीले उक्त जंगलमा अर्का बालकको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । केन्द्रबाट गत वर्ष र अहिले गरी हालसम्म ४ जना बालक हराएको र त्यसमध्ये एक जना मृत फेला परेको उनले बताए । विद्यालय गएका उनीहरु केन्द्र छाड्नेगरी दिउँसोको समयमा भाग्ने गरेको उनले बताए ।

केन्द्र र विद्यालय जंगलले भएको क्षेत्रमा छ । त्यहाँबाट भागेका बालकले बाटो पहिल्याउन कठिन हुने र जंगलको बाटो प्रयोग गर्ने गरेको खड्काले बताए । ‘विशालको शव फेला परेको स्थान निकै घना जंगलमा छ, भाग्ने क्रममा दुवैजनाले बाटो बिर्सिएको हुनसक्छ,’ उनले भने, ‘जंगलमा भोक र पानी वा अन्य केही कारणले विशालको मृत्यु भयो अनुसन्धान भइरहेको छ ।' विशालसँग गएका शुसिलको खाजी त्यही क्षेत्रको जंगमा भइरहेको उनले बताए ।

‘सडकबाट उद्धार गरेका बालबालिकामा पढ्ने भन्दापनि स्वतन्त्रता बढी चाहिने स्वभाव हुन्छ,’ उनले भने, ‘नियम र अनुशासनमा राख्दा उनीहरु बस्न रुचाउँदैनन्, केन्द्र किन छाडेर भाग्न खोज्छन् अनुसन्धान भइरहेको छ ।’ सडकबाट उद्धार गरिएका र अभिभावक नभएका बालकहरुलाई संरक्षण गर्ने र उनीहरुको खानापान,आवाससहित अध्यापन गर्ने गरिरहेको केन्द्रका सचिव एकता नारायण प्रधानले बताए । विशाललाई काठमाडौंको केन्द्रबाट दोलखा ल्याएको दुई वर्ष भएको उनले जानकारी दिए ।

‘काठमाडौंको केन्द्रबाट पनि उनी भागेका थिए,पछि खोजेर ल्यायौं, उनले भने,'सुशीललाई यहि वर्ष ल्याएको हो भाग्ला जस्तो लागेको थिएन ।’ केन्द्रले सबै बालकलाई राम्रोसँग हेरचाह गरिरहेको उनले दाबी गरे ।

‘गएको वर्षपनि यहि केन्द्रका २ जना बालक सम्पर्कविहीन बने, यो वर्ष पनि २ जना,’ उनले भने, ‘यस्तोमा विशालको अवस्था खुल्यो अन्यको खुल्न सकेको छैन।’ केन्द्र अलि अपायक स्थानमा भएको उनले बताए ।’

केन्द्रमा भएका बालक मध्ये सोही वडाको बुद्धमा १०, लामानागी आधारभूतमा १४ र भीमेश्वर–७को कुटिडाँडा माध्यमिक विद्यालयमा ७ जना अध्ययनरत भएको उनले बताए ।

प्रकाशित : भाद्र २३, २०८१ १७:३९
×