कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘छोनाम’ जाग्दै गाउँगाउँमा

भाद्र २१, २०८१
‘छोनाम’ जाग्दै गाउँगाउँमा

चितवन — पाखोमा फल्ने घैया धान स्याहार्ने र मकै भित्र्याउने बेला सँगै हुन्छ । यतिबेला लहरे तरकारी घिरौला पनि प्रशस्तै हुन्छ । धान फल्ने समथर क्षेत्रमा नबस्ने हुँदा चेपाङ समुदायले भदौमै बाली भित्र्याउँछन् ।

नयाँ अन्न पितृलाई नचढाइ खान हुँदैन भन्ने मान्यता छ । चेपाङ भाषामा पान्दे भनिने झाक्रीले ढ्याङ्ग्रो ठटाउँदै पितृ बोलाउँदै नयाँ अन्न चढाउँछन् । त्यसपछि बल्ल उक्त अन्न वा तरकारी फलफूल खान खुला हुन्छ ।

न्वागी जस्तो यो विधिलाई चेपाङ भाषामा छोनाम भनिन्छ । छोनाम नै चेपाङ समुदायको मुख्य चाड हो । तर पछिल्लो समय गाउँमा झाँक्री कम हुँदै जाँदा छोनाम मनाउने चलन पनि घट्दै गयो । नेपाल चेपाङ संघले भदौ २२ मा छोनाम पर्व पर्ने भन्दै केन्द्रीय कार्यक्रम बनाएर खुला रुपमा छोनाम मनाउन सुरु गर्‍यो ।

विस २०६३ भदौ २२ यता हरेक वर्ष संघले चेपाङ बहुल कुनै एक जिल्लामा सामूहिक छोनाम मनाउँदै आएको छ । अहिले संघको केन्द्रीय कार्यक्रमका साथै चेपाङ बहुल जिल्लामा स्वस्फुर्त सामूहिक रुपमा छोनाम मनाउन सुरु भएको छ । जिल्लामा मात्रै नभएर वडा तहमा पनि छोनामको कार्यक्रम हुन लागेका छन् ।

चेपाङ बहुल चितवनको पहाडी गाउँ ओर्ल्याङमा शुक्रबार दिउँसो स्थानीयले सामूहिक रुपमा छोनाम मनाए । ओर्ल्याङ गाउँ इच्छाकामना गाउँपालिका–२ मा पर्छ ।

‘गोडमेल गरौं शिक्षा त बारी हो, विवाह गर्ने दाइ २० वर्ष पारि हो

सानै छँदा विवाह गर्ला नि, पछि ठूलै आपतमा पर्लानी ।

दाईजो हैन शिक्षा दिउँ छोरीलाई, कसैले नि हेप्दैनन् मोरीलाई ।

कसैले नि नगरौं अटेर, फजुल खर्च हो छेवर भतेर ।

उच्च शिक्षा पढाउनु पर्छ नि, छेबर भोजमा कम गरौं खर्च नि ।’

पर्व मनाउन जुटेका समुदायलाई मायाटारको विद्यालयमा पढ्ने विद्यार्थीले गीत मार्फत यस्तो सन्देश दिए । ‘पर्व परम्परा हो । यसलाई कायम राख्दै समाजलाई पनि सुधार्न आवश्यक छ । त्यसैले विद्यार्थीले गीत मार्फत सामाजिक हितका लागि सन्देश दिएका हुन्,’ मायाटार विद्यालयका प्रधानअध्यापक पदम चेपाङले भने ।

नेपाल चेपाङ संघ इच्छाकामना गाउँपालिका–२ को इकाइ कमिटीले कार्यक्रम आयोजना गरेको थियो । वडा २ चेपाङ बहुल वडा हो । वडाध्यक्ष पञ्चु चेपाङका अनुसार वडामा ३ हजार ३ सयको हाराहारीमा जनसंख्या छ । जसमा दुई तिहाइ संख्या चेपाङ समुदायको रहेको उनले बताए ।

पहाडी पाखो जमिनमा बस्ने भएका कारणले चेपाङसँग पर्याप्त खेती योग्य जमिन हुँदैन । पाखोबारीमा फल्ने मकै, पाङ्दुरे कोदो, सामा, कागुनो, घैयाधान नै उनीहरुको मुख्य बाली हो । जुन भदौमा स्याहार्ने गरिन्छ ।

‘पान्देले रातभर ढ्याङ्ग्रो ठटाएर पितृलाई चढाएपछि बिहान बल्ल छोनामको काम सकिन्छ । त्यसपछि घरघरमा नयाँ बालीको खान्की खान सुरु हुन्छ । तर अहिले पान्दे घट्दै गए । मेरो गाउँ हपनीमा अहिले पान्दे छैनन् । अन्यत्र पनि निकै कम कतै कतै छन्,’ वडाध्यक्ष पञ्चु चेपाङले भने ।

पान्दे नहुँदा छोनाम मनाउन कम हुँदै गएको उनले बताए । पान्दे नभएपछि घरका बुढापाकाले मात्रै चढाएर खान सुरु गर्न लागेको उनले बताए । यसो हुँदा छोनामको रौनक घट्दै गएको थियो ।

‘हाम्रो समुदायमा नयाँ धर्म अपनाउने क्रम पनि बढ्यो । क्रिस्चियन धर्म मान्छन् मान्छेहरु । अनि पुरानो चलन मान्न छाडे । कतै सबै कुरा संस्कार संस्कृति पनि हराउने हो कि भन्ने डर जाग्न थाल्यो । अनि संघले केन्द्रीय रुपमा हरेक वर्ष कार्यक्रम गर्न थालेको हो,’ वडाध्यक्ष पञ्चु चेपाङले भने । अहिले चितवनका धेरै चेपाङ गाउँमा पान्दे अर्थात झाक्री छैनन्, ढ्याङ्ग्रो बज्दैन ।

ओर्ल्याङ आडको अर्को चेपाङ गाउँ हपनीका ७६ वर्षीय बीरबहादुर चेपाङले छोनाममा पान्देले लगातार दुई रातसम्म फलाकेर पितृलाई नयाँ बाली चढाएको सम्झन्छन् । ४०/५० वर्षअघि यस्तो हुन्थ्यो ।

नाङ्लोमा धानको बाला, सामाको बाला, काँक्रो सप्पै कुरा राखेर फलाकेको सानै हुँदा हपनीकी मनमाया चेपाङले देखेकी थिइन् । अहिले त्यसरी खाने चलन हट्दै गयो भन्छिन् उनी । यो चलन हराउने पो हो कि झै उनलाई लागेको छ ।

राजबहादुर चेपाङ नेपाल चेपाङ संघ इच्छाकामना–२ वडा इकाई समिति उपाध्यक्ष हुन् । ‘यो लोप हुन थाल्यो भन्ने भएर केन्द्र जिल्लाले सामूहिक रुपमा कार्यक्रम गर्दै आएको हो । वडाले पनि पहिलो पटक शुक्रबार (आज) गाउँमा कार्यक्रम गर्न हामी युवाहरु जागेका छौं,’ राजबहादुरले भने ।

संघका जिल्ला अध्यक्ष भीमबहादुर चेपाङले चेपाङको राष्ट्रिय पर्व हो भन्ने प्रचार गर्न पनि सामूहिक रुपमा ठाउँठाउँमा छोनाम मनाउने गरेको बताए । अहिले यस्तो कार्यक्रम गाउँ टोलसम्म पुगेकोमा उनले खुसी जनाए ।

‘हाम्रो पर्व कुन हो भन्ने प्रचार नभएको, बाहिरी संस्कृति र धर्मको प्रभाव बढ्दै जाँदा छोनाम मनाउन कम हुँदै गएको थियो । अब हामी जगाउने प्रयासमा छौं,’ भीमले भने ।

संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले पान्दे र झाँक्री कम हुँदै गएकोमा चिन्ता प्रकट गरे । ‘हामी आफ्नो संस्कार, संस्कृति र पर्व जगाउने जोगाउने अभियानमा छौं । पान्देहरु जे जति छन् भेला राख्ने, नयाँ पुस्तालाई तालिम दिएर तयार गर्ने योजना छ । किन कि पान्दे बिना हाम्रो पर्व र संस्कार अगाडि बढ्न गाह्रो छ,’ केन्द्रीय अध्यक्ष गोविन्दरामले भने ।

अति सिमान्तकृत वर्गमा पर्ने चेपाङ समुदायको चितवनसहित मकवानपुर, धादिङ र गोरखाको पहाडी भूभागमा बसोबास छ । २०७८ को जनगणना अनुसार चेपाङको देशभर ८४ हजार ३६४ जनसंख्या छ । चितवनमा चेपाङको संख्या सबैभन्दा धेरै ३५ हजार ६३७ छ । यो वर्ष शनिबार संघको केन्द्रीय समितिले गोखराको गण्डकी गाउँपालिकामा छोनाम मनाउँदै छ ।

प्रकाशित : भाद्र २१, २०८१ २१:३६
x
×