कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पर्न छाडे तिते माछा, खुँगा भए रित्तै !

भाद्र १७, २०८१
पर्न छाडे तिते माछा, खुँगा भए रित्तै !

दोलखा — खोलानजिकैको घरको दलिनमा राखेको खुँगा निकालेर मर्मत गरिरहेका थिए, ७१ वर्षीय मनबहादुर थामी । हरेक वर्ष भदौमा उनी बाँसको चोयाबाट बनाइएको माछा मार्ने उक्त खुँगा मर्मत गर्छन् । तिते माछालाई खुँगामा पार्न उनी बेलुका खोलामा लगेर थाप्छन् । तर, भदौमा पाइने तिते माछा गएको ७ वर्षदेखि आफूले थापेको खुँगामा पर्न नसकेको उनले सुनाए ।

कालिञ्चोक गाउँपालिका–२ बाबरेका उनी भूकम्पपछि खोलावारि विगु–८ सोरुङमा बस्दै आएका छन् । भदौ महिनामा उत्तरी क्षेत्रका तामाकोशी नदीका सहायक खोलामा रातको समयमा खुँगा थाप्नेको लर्को लाग्छ । ७/८ वर्षदेखि स्थानीयले खोलामा खुँगा थाप्न छाडेका छन् । कारण जलविद्युत् आयोजनाले तिते हिँड्ने बाटो बन्द गरिदिएपछि तिते पाइनै छाडेको हो ।

भदौ पहिलो साताबाट अन्तिमसम्म तामाकोशीका सहायक खोलाका मुहानमा माछा प्रजननका लागि माथिल्लो क्षेत्र जाने गर्छन् । त्यसलाई स्थानीयले तिते फुल्ने सिजन भन्छन् । माथिल्लो क्षेत्रको कञ्चन पानीको मुहानमा साना माछा प्रजननमा जाने र फर्कंदा स्थानीयले खुँगा थापेर मार्ने गर्छन् । २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको बाँधस्थलबाट माथितिर दुईवटा थप सहायक कालिञ्चोक र सोरुङ खोला छन् । यी खोलाको मुहानमा तिते पाइने गर्छन् । कुनै समय तत्कालीन जिल्ला विकास समितिले तिते मार्नका लागि बोलपत्र नै आह्वान गर्थ्यो । त्यतिबेला यी खोलामा तितेका ठेकेदारले ७ लाखसम्म कबुल गर्ने मनबहादुरले बताए ।

‘तिते फुल्ने समयमा ठेकेदार तिते लिन गाउँमै आउँथे,’ उनले भने, ‘त्यो समयमा मैले ७ पाथीदेखि एक मुरीसम्म तिते बेचेको छु, ७ वर्षजति भयो खोलामा तिते पर्न छाडेको ।’ अण्डा पार्न आउने माछा हिँड्ने बाटो नै जलविद्युत्का कारण बन्द भएपछि तिते पाइन छाडेको उनले बताए । ‘तिते बेचेको पैसाले चाडपर्वको जोहो गर्न सहज हुन्थ्यो, अब त त्यो पनि हरायो,’ उनले भने, ‘हाइड्रोले सबै मासिदियो, बाटो नभएपछि तिते आउनै छाडे ।’

सिंगटी खोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन लत्याएर खोलामा बर्खामा माछा हिँड्ने बाटो बन्द गरेको स्थानीयको आरोप छ । हिउँदमा खोला नै सुकाउने र बर्खामा माथिल्लो क्षेत्रका मुहानमा अण्डा पार्न आउने माछाको बाटोमा अवरोध भएका कारण तिते पाइन छाडेको स्थानीय वीरबहादुर तामाङले सुनाए । ‘खोला किनारका मुहान जसको जमिन पर्‍यो, उसैले तिते समात्ने चलन छ, त्यसबापत सरकारलाई कर पनि तिर्नु पर्थ्यो,’ उनले भने, ‘दुवै खोलाका मुहानमा मुरीका मुरी तिते पाइन्थे, अहिले औषधिका लागि पनि पाइन छाड्यो ।’ कालिञ्चोक र विगु गाउँपालिकाको सिमानामा बनेको सिंगटी खोला जलविद्युत् केन्द्र । तस्बिरहरू : केदार शिवाकोटी/कान्तिपुर

आकाशमा गड्याङगुडुङ भएपछि प्रजननका लागि तिते मुहान खोज्दै माथितिर लाग्छन् । माथिल्लो भेगका मुहानमा पुगेपछि तितेले अण्डा पार्ने गर्छन् । अण्डा मुहानमा छाडेर साँझ र रातको समयमा तिते तलतिर फर्कंदा खुँगा थापेर संकलन गर्ने गरेको तामाङले बताए । ‘जलविद्युत् आयोजना बनेपछि तिते संकलन हुन सकेको छैन, तलबाट आएका तिते हाइड्रो भएका ठाउँबाट उक्लन सक्दैनन्,’ उनले भने, ‘उक्लन नसकेपछि त्यही बसेका तितेलाई डोजरको बकेट लगाएर अण्डा पार्न नपाउँदै मार्छन् । अहिले त त्यो पनि हराएर होला आउँदैनन् ।’

तामाकोशीको सहायक सिंगटी खोलाको शिरमा मुख्य २ वटा खोलामा अण्डा पार्न आउने तिते बाटोमा जलविद्युत आयोजनाले (फिस ल्याडर) अर्थात् माछा हिँड्ने बाटो नबनाई खोला थुनेको छ । हिउँदमा माछा पौडने पानीसमेत नछाडी खोला सुकाउने गरेको कालिञ्चोक–२ का धनबहादुर थामीले बताए । ‘हिउँदमा खोलामा पानी सबै हाइड्रोको डुँडमा हालेर सुकाउँछन्, बर्खामा तिते हिँड्ने बाटोसमेत बन्द गर्छन्,’ उनले भने, ‘पानीमा पौडिने माछालाई कहिले पानी हुँदैन, कहिले बाटो, कतिसम्म भने भएका माछालाई पनि करेन्ट र विष हालेर मार्छन् ।’

७ वर्षदेखि तिते खोलाका मुहानमा नछिरेको उनले बताए । खोलामा आश्रित परिवार तिते नपाएपछि संकटमा परेको विगु–८ का वडाध्यक्ष हीरा थामीले बताए । ‘तिते पाइने समयमा तिते संकलन गरेर बेचेको पैसाले कतिपयले चाडपर्व र घरखर्च चलाउने गरेका थिए,’ उनले भने, ‘हाइड्रोले त्यो पनि बन्द गरिदियो, पटक–पटक तिते हिँड्ने बाटो बनाइदिनु पर्‍यो भन्दा हाइड्रोका कर्मचारीले सुनेको नसुन्यै गर्छन् ।’

सिंगटी खोला जलविद्युत् भएको क्षेत्र गौरीशंकर संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ । संरक्षण क्षेत्रले पटक–पटक फिस ल्याडर बनाउन भने पनि अटेर गरेको आयोजनाका प्रमुख तुलसीप्रसाद दाहालले बताए । संरक्षण क्षेत्रभित्र बनेका आयोजनालाई वातावरणीय प्रभाव मूल्यांकनमा भएका प्रावधानलाई पालना गर्न छलफल गरिरहेको उनले बताए ।

‘हिउँदमा १० प्रतिशत पानी छाड्न र बर्खामा माछा हिँड्ने बाटो बनाउने प्रतिबद्धता गरेका छन्,’ उनले भने, ‘हामी अनुगमन गरिरहेका छौं, नियम मिच्ने हाइड्रोलाई कारबाही हुनेछ ।’ जलविद्युत् आयोजनाले माछा हिँड्ने बाटो नबनाएको र हिउँदमा पानी नछाड्ने गरेको भन्दै स्थानीयले संरक्षण क्षेत्रमा उजुरी गरेको उनले बताए । तामाकोशीको सहायक खोलामा गौरीशंकर–५, ६ र ८ तल्लो खारे खोला विद्युत् केन्द्रले फिस ल्याडर नबनाउँदा त्यो क्षेत्रमा तिते फुल्न छाडेको छ ।

हिउँदमा यो केन्द्रले खोला सुकाएर पानी सबै हाइड्रोको डुँडमा हाल्ने गरेको भन्दै स्थानीयले संरक्षण क्षेत्रको कार्यालयमा उजुरी दिएका छन् । खारेखोलातर्फ ३० मेगावाटको सासा, ४० मेगावाटको खानीखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् भने ७ मेगावाट मकर जितुमाया र घट्टेखोला विद्युत केन्द्रले उत्पादन गरिरहेका छन् ।

तामाकोशीको मुख्य सहायक खोलामा २५ मेगावाटको सिंगटी जलविद्युत् केन्द्र छ । यस्तै सिंगटीकै सहायक सोरुङ साङ्बा खोलामा हिमपार्वत जलविद्युत आयोजना २५ मेगावाट निर्माणाधीन छ । त्यसमाथि थप उसकै ५ दशमलव ५ निर्माणाधीन र थप दुई आयोजनाको अध्ययन भइरहेको छ । सिंगटी खोलाकै अर्को सहायक खोलामा ५ मेगावाटको कालिञ्चोक जलविद्युत् आयोजना निर्माणाधीन छ ।

प्रकाशित : भाद्र १७, २०८१ २१:४९
x
×