कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बकैया खोलाले आमा बगाएपछि विदेश जान हिँडेका छोरा फर्किए

भाद्र १७, २०८१

हेटौंडा — मकवानपुरको बकैया खोलाले बगाउँदा महिला बेपत्ता भएकी छन् । बकैया गाउँपालिका–६ की ३६ वर्षीया नानुमाया तितुङलाई आइतबार बकैया खोलाले बगाएको थियो ।

बारा निजगढबाट घर फर्कने क्रममा बकैया खोलाले बगाएर नानुमाया बेपत्ता भएकी बकैया–६ का वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए। भोम्जनका अनुसार खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका थिए। तर अहिलेसम्म उनलाई फेला पार्न सकेको छैन । आइतबारदेखिनै आफन्त, स्थानीयवासी र प्रहरीले खोजतलास गरिरहेका छन् ।

नानुमायाका छोरा छिरिङ तितुङ वैदेशिक रोजगारीका लागि विदेश जान लागेका थिए। शनिबार श्रीमान् र छोरासँगै उनी निजगढ गएकी थिइन्।

श्रीमान् राजकुमार तितुङ र छोरासँगै शनिबार निजगढमै बास बसेका थिए। आफन्तका बास बसेकी नानुमायाले आइतबार बिहानै छोरालाई बिदाइ गरिन्। राजकुमार भने जहाज चढाउन छोरोसँगै काठमाडौं जाने तयारीमा जुटे।

नानुमाया हिँडेरै घर फर्किइन्। लामो बाटो छिचोलेर गाउँ आइपुग्नै लागेकी उनलाई बकैया खोलाले बगायो। ‘बिहानैदेखि परेको अविरल वर्षाका कारण बकैया खोलाको बेग निकै ठूलो थियो,’ वडाध्यक्ष भोम्जनले भने, ‘खोला तर्ने क्रममा बगाएछ। फास्ट ट्रयाकमा काम गर्ने मानिसहरूले देखेका रहेछन्। बचाउन खोजेछन् तर सफल भएनन्।’

उता राजकुमार पनि छोरो लिएर काठमाडौं जान नभ्याउदै कुकुरको टोकाइबाट घाइते भएका छन्। बिहान सबेरै कुकुरले टोकेपछि निजगढमै अल्मलिएका राजकुमारले श्रीमतीलाई खोलाले बगाएको खबर सुने । सोमबार राति साउदी जान हिँडेका छिरिङ आमालाई बगाएको खबरले गाउँमै फर्के । अहिले बाब छोरा नै बकैया खोलामा आमा खोजिरहेका छन् । घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी लगायतको टोलीले खोजी गरिरहेको छ। खोलाको बहावका कारण खोजी कार्यमा सकस भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित : भाद्र १७, २०८१ १३:४३
x
×