कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

होटलको कोठामा युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

भाद्र १७, २०८१
होटलको कोठामा युवतीको हत्या गरेको अभियोगमा युवक पक्राउ

Highlights

  • हत्या आरोपीलाई भगाउन सहयोग पुर्‍याएको आरोपमा चार जना पक्राउ

हेटौँडा — एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित  होटलको कोठामा एक युवतीको हत्या गरी फरार भएका एक युवकलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । 

होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरू भदौ १० गते अपरान्ह ४ बजेतिर समिर खानसहित न्यौपाने होटलमा कोठा लिएर बसेका थिए । समिर बेलुका ८ बजेनै कोठाको ढोकाको भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम्फालेर भागेका थिए । खानले युवतीलाई २ वटा वियरको बोत्तलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेर भागेको पाइएको प्रहरीले जनाएको छ ।

भोलिपल्ट बिहान होटलको कोठा नखोलेपछि होटलवालाले प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए । कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीका अनुसार उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।

'उनीहरू ‘रिलेशन'मा रहेको खुलेको छ । तर किन हत्या भयो भनेर अनुसन्धान भइरहेको छ,' प्रहरी उपरीक्षक सिताराम रिजालले भने । घटनाको अनुसन्धानको क्रममा घटना पश्चात आरोपितलाई भाग्ने उम्कने कार्यमा सहयोग पुर्‍याएको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-४ कमलडाँडा बस्ने समिरकी आमा सैरुन खान, श्रीमती रविना खातुन, समिरका ससुरा पर्सा वीरगञ्जका लालबाबु खाँ पैठान र निजको छोरा समिरको जेठान ३० वर्षीय फैयाज अहमदलाई समेत पक्राउ गरेको छ ।

पक्राउ परेका चारै जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ २१:३७
x
×