कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

शिक्षक दरबन्दी कटौतीको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी

भाद्र १६, २०८१
शिक्षक दरबन्दी कटौतीको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी

गोरखा — शिक्षक दरबन्दी कटौतीको विरोधमा भिमसेन थापा गाउँपालिकामा अभिभावकहरुले तालाबन्दी गरेका छन् । भिमसेन थापा–१ को दुल्लभ माविको विज्ञान विषयका शिक्षक राजु नेपालीलाई सरुवा गरेकोमा विरोध जनाउँदै अभिभावकहरुले आइतबार गाउँपालिकामा तालाबन्दी गरेका हुन् । 

सहायक प्रध्यानाध्यापक समेत रहेका नेपालीलाई गाउँपालिकाले सिद्धकाली माविमा सरुवा गरेको छ । नियोजित रुपमा दरबन्दी कटौती गरी शिक्षकको सरुवा गरेको विरोधमा तालाबन्दी गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रोसन गुरुङले बताए ।

‘यो सरुवा नियमसम्मत छैन, विद्यार्थी संख्याको आधारमा दरबन्दी कटौती हुनुपर्ने हो, दुल्लभको मात्र काटिएको छ,’ उनले भने, ‘नियोजित रुपमा सरुवा गरिएको विरोधमा तालाबन्दी गरेको हौँ ।’ विद्यालयको आवश्यकता नबुझी शिक्षकको सरुवा गरिएको उनले बताए ।

आइतबार छलफलका लागि गाउँपालिका पुगेपनि अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत कोहीपनि नभेटिएको उनले बताए । ‘भोलिपनि पालिका जान्छौँ, दरबन्दी काटेको छ, त्यसलाई रोक्नुपर्‍यो भन्ने अभिभावकको माग हो,’ उनले भने ।

गाउँपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराएर शिक्षक सरुवा गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत यान प्रसाद नेपालीलले बताए । ‘निर्णय कार्यन्वयनको सिलसिलामा विद्यालयलाई बोधार्थ पनि दिएका थियौँ, अभिभावकहरुले पठाउन मिल्दैन भन्नुभएको छ,’ उनले भने, ‘आज अध्यक्ष, उपाध्यक्ष बाहिर हुनुहुन्थ्यो, भोलि(सोमबार) बसेर छलफल गर्छौं, समस्या समाधानका विकल्पबारे छलफल हुन्छ ।’

सोमबार अभिभावकहरूलाई पनि छलफलमा बोलाएको उनले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ १८:१८
x
×