कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

हेटौंडा कृषि थोक बजार निर्माण अन्तिम चरणमा

भाद्र २८, २०८१
हेटौंडा कृषि थोक बजार निर्माण अन्तिम चरणमा

हेटौंडा — हेटौँडा उपमहानगरपालिका—११ थानाभर्‍याङस्थित अन्तराष्ट्रियस्तरको कृषि थोक बजारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजारको निर्माण कार्य तीन वर्षदेखि भइरहेको छ । निर्माण कम्पनीले काम सकेर करिब एक महिनाभित्र प्रदेश कृषि विकास निर्देशनालयलाई हस्तान्तरण गर्ने जनाएको छ ।

वाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनोद भट्टराईले अब छिट्टै कृषि थोक बजार संचालनमा आउने बताए ।

कृषि विकास निर्देशनालयको ७० र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा कृषि थोक बजारको निर्माण भइरहेको हो । थोक बजार निर्माणपश्चात कृषिजन्य वस्तुको उपयुक्त भण्डारण, प्याकिङ, ग्रेडिङ, प्रशोधनलगायतको सुविधा हुने छन् ।

थोक बजारले कृषकले न्यून मूल्य पाउने, उपभोक्ताले चाहे अनुसार गुणस्तरीय उपज नपाउने र मूल्यको अन्तर बढी हुने समस्या समेत समाधान गर्ने अपेक्षा गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि बजार सञ्चालन कार्यविधि बनाउने तयारीमा छ ।

थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा जुटेको सचिव भट्टराईले बताए । भवन हस्तान्तरण हुनुअघि कार्यविधि बनाइसक्ने योजना हेरिरहेको मन्त्रालय मातहतको कृषि विकास निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले बताए ।

दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित २०७७ भदौ १४ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता भएको थियो । सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको हो । निर्माणका लागि अनक/माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का पाएको थियो ।

२०७८ जेठ ९ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता थियो । ७ महिना म्याद थप भएकाले मंसिर ८ सम्ममा काम सम्पन्न गरिसक्नुपर्ने छ । तर निर्माण कम्पनीले मंसिर भन्दा अगावै हस्तान्तरण गर्ने जनाएको छ ।

कृषि विकास निर्देशनालयले कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको जानकारी दिएको छ । सडक कालोपत्रे र अन्य सामान्य काम मात्रै बाँकी रहेको निर्देशनालयका सबइन्जिनियर मोदनाथ तिम्सिनाले बताए ।

निर्देशनालयले सडक निर्माणका लागि ठेक्का खुलाउने तयारी गरिरहेको छ । निर्माण कम्पनीलाई २६ करोड ५५ लाख ३५ हजार ९ सय ९६ रुपैयाँ गत असारमै भुक्तानी भएर थप २ करोड भन्दा बढीको भुक्तानीको चरणमा रहेको निर्देशनालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले थोक बजारका लागि ४ करोड विनियोजन गरेको छ ।

थोक बजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना हुने सबइन्जिनियर तिम्सिनाले बताए । बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा गरी ६३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेका छन् ।

‘यो अन्तर्राष्ट्रिय मापदण्डअनुसार थोक बजार निर्माण गरिएको छ । व्यवस्थित तवरले चलाउँछौं’, मन्त्रालयका सचिव भट्टराईले भने,‘यो संचालनमा उपमहानगरपालिकालाई जिम्मेवार बनाउनेछौँ ।’

थोक बजारको संचालन पश्चात कृषि वस्तु बजारीकरणमा नयाँ आयाम थपिने विश्वास प्रदेश सरकार र उपमहानगरपालिकाले लिएको छ । उक्त थोक बजारले वाग्मतीमात्र नभई छिमेकी प्रदेशका कृषि उपज बिक्री वितरण गर्न सहज हुने तथा कृषि व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने दाबी गरिएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १९:५७
×