कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विद्यार्थीलाई विपद् उद्धार तालिम

भाद्र १६, २०८१
विद्यार्थीलाई विपद् उद्धार तालिम

चितवन — सशस्त्र प्रहरी बल (एपीएफ)को चितवन कुरिनटारमा रहेको नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा आइतबारदेखि विपद् उद्धारमा खट्ने स्वयंसेवक उद्धारक तयार गर्न तालिम दिन सुरु गरिएको छ ।

तालिममा कुरिनटारको प्रगति पाठशालामा कक्षा आठदेखि १२ सम्म पढ्ने ९३ जना विद्यार्थी सहभागी भएका छन् । तालिम मंगलबारसम्म चल्नेछ ।

शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) माधवप्रसाद पौडेल र प्रकृति पाठशालाका प्रधानाध्यापक टंक त्रिपाठीले संयुक्त रूपमा तालिमको उद्घाटन गरेका हुन् । सरकारले सशस्त्र प्रहरीका आठवटै बाहिनीहरूमा विद्यार्थीका लागि यस्तो तालिम सञ्चालन गर्ने र पाँच सय जना स्वयंसेवक उद्धारक तयार गर्ने योजना बनाएको एसएसपी पौडेलले बताए ।

तालिममा विपद्को परिचय, विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको भूमिका, आगलागी, बाढीपहिरो, भूकम्प लगायत विपद्मा हुने खोज, उद्धार र उपचारका क्षेत्रका विषयमा विद्यार्थीलाई प्रशिक्षित गराइने शिक्षालयले जनाएको छ । विपद्मा समुदायलाई नै कुशलतापूर्वक परिचालन गर्न तालिम सहयोगी हुने एसएसपी पौडेलले बताए ।

प्रकाशित : भाद्र १६, २०८१ १४:५३
x
×