कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दुई सातामा तीन महिलाको हत्या

भाद्र १०, २०८१
दुई सातामा तीन महिलाको हत्या

हेटौंडा — दुई सातामा मकवानपुरमा तीन महिलाको हत्या भएको छ । एक महिलाको पतिले नै हत्या गरेका हुन् । अर्की एक युवतीको प्रेमीले हत्या गरेका छन् भने एक वृद्धाको एकाघर बस्ने नातिले हत्या गरेकाे खुलेको छ ।

हेटौंडा उमपहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा सोमबार मृत अवस्थामा एक युवतीको शव फेला परेको थियो । हेटौंडा उपमहानगरपालिका-११, सरस्वती टाेलकी करिब २३ वर्षीया एलिसा न्यौपानेको शव होटलको कोठामा रगताम्मे अवस्थामा फेला परेको थियो । उनी आइतबार अपरान्ह ४ बजेतिर एक युवकसहित न्यौपाने होटलमा कोठा लिएर बसेकी थिइन् ।

सोमबार बिहान अबेरसम्म पनि होटलको कोठा नखोलेपछि होटल साहूले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् । वडाध्यक्ष फुर्वादोर्जे लामाका अनुसार शवको प्रकृति हेर्दा केटाले मुख र नाक थुनेर बियरको बोत्तलले हिर्काएर हत्या गरेजस्तो देखिन्छ । उनीसँगै आएका युवक बेलुका नै कोठामा भित्रबाट चुकुल लगाएर झ्यालबाट हाम्फालेर भागेको देखिएको प्रहरीले बताएको छ ।

‘एलिसाको हत्या गर्ने लामो समयदेखि उनीसँग रिलेसनमा रहेका युवक हुन्, अहिले नाम सार्वजनिक नगरौं,’ प्रहरी उपरिक्षक सीताराम रिजालले भने, ‘युवकको खोजी गरिरहेका छौं ।’ होटलमा कोठा लिएका युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको प्रहरीको अनुमान छ । प्रहरीले युवकको पहिचान गरिसकेको पनि सार्वजनिक भने गरेको छैन ।

यस्तै, हेटौंडा उपमहानगरपालिका-१ की ७१ वर्षीया वृद्धाको आफ्नै नातिले आइतबार राति हत्या गरेका छन् । २८ वर्षीय नाति प्रवीन विश्वकर्माले मादक पदार्थ सेवन गरेर आइतबार हजुरआमा ठूलीमाया विश्वकर्माको हत्या गरेका हुन् । हत्याको आरोपमा प्रहरीले प्रवीनलाई पक्राउ गरिसकेको छ ।

हेटौंडा उपमहानगरपालिका पाथिभरा मन्दिर नजिक घर भएकी ठूलीमायालाई घरको कोठामा नै मृत अवस्था प्रहरीले फेला पारेको थियो । बूढी मानिस घरमा अचेत अवस्थामा छिन् भनेर प्रहरीलाई छिमेकीले खबर गरेका थिए । प्रहरी घरमा पुग्दा उनलाई मृत अवस्थामा फेला पारेको थियो । मृत ठूलीमायाको दुवै कानबाट रगत बगिरहेको थियो ।

यसका साथै, गत साउन ३० गते मकवानपुरको कैलाश गाउँपालिका-५ का २६ वर्षीय मंगलबहादुर पाख्रिनले २० वर्षीया पत्नी लक्ष्मी पाख्रिनको हत्या गरेका थिए ।

मंगलबहादुरले पत्नीलाई बन्चरो प्रहार गरी हत्या गरेपश्चात ११ टुक्रा बनाएर कालीखोला सामुदायिक वनको जंगल गाडेका थिए । ११ टुक्रा बनाएको पत्नीको शवलाई उनले २ वटा बोरामा प्याक गरेर घर नजिकै जंगलमा खाल्टो खनेर गाडेका थिए ।पत्नीको कपडाहरु पनि शव गाडेको स्थान भन्दा केही पर बोरामा हालेर खाल्टोमा पुरेका थिए ।

प्रहरीले मंगलबहादुरलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा पत्नीको हत्या गरेको स्वीकारेका छन् । आफूले भनेको नमानेकाले हत्या गरेको उनले प्रहरीसमक्ष साविती बयान दिएका छन् । पत्नीको हत्या गर्दा मंगलबहादुरले अत्यधिक मादक पदार्थ सेवन गरेको प्रहरीलाई बताएका छन् ।

प्रकाशित : भाद्र १०, २०८१ २१:३९
x
×