कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

तेमालका पहिरो प्रभावित ५ परिवारलाई सहयोग

भाद्र ९, २०८१
तेमालका पहिरो प्रभावित ५ परिवारलाई सहयोग

काभ्रे — पहिरोले घर क्षति भएका काभ्रेको तेमाल गाउँपालिका ५ का ५ परिवारलाई स्थानीय युवाको सक्रियतामा नगद र लत्ताकपडा सहयोग गरिएको छ । 

घर पूर्ण क्षति भएका स्थानीयलाई नगद १ लाख र २१ हजार ५ सय बराबरको घरायसी सामग्रीहरुका साथै दाल, चामल, बिस्कुट लगायतका खाद्यान र सिरक, डस्ना र लत्ताकपडा लगायतका खाद्यसामग्री हस्तान्तरण गरिएको हो । घरमा क्षति भएको स्थानीय एकल महिलालाई १ लाख र पहिरोबाट आएको ढुंगामाटो पन्छाउन ५ वटै परिवारको लागि संयुक्त रुपमा १ लाख २४ हजार ८ सय ९० रुपैयाँ सहयोग गरिएको हो ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका स्थानीय नेताहरु मिथुनकुमार लामा, हिरालाल लामा, बज्र लामा र मिन्टु लामा लगायतले सञ्चालन गरेको अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको हो । दुई दिन अभियान संकलन गरेर उनीहरुले विभिन्न संघसंस्था, व्यवसायी, सहयोगीहरुबाट ३ लाख ४६ हजार ३ सय नब्बे रुपैयाँ संकलन गरेका थिए ।

तेमाल ५ का अध्यक्ष हजारसिं लामा, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मीता लामा, नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय सचिव दावा फेन्चु लामा, नेपाल तरुणदल जिल्ला सदस्यद्वय निमा लामा, युवराज लामालगायत स्थानीयको उपस्थितिमा जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष हजारसिं लामाले वडा र पालिकाबाट कुनै कन्जुस्याइँ नगरी सहयोग गर्ने बताए । अभियानकर्ता मिथुनकुमार लामाले अभियानमा आर्थिक सहयोग गरी साथ दिने सम्पूर्णलाई धन्यवाद र कृतज्ञता व्यक्त गरे । प्रभावितहरुले दु:खको समयमा सहयोग गरेकोमा सबैलाई आभार प्रकट गरे ।


प्रकाशित : भाद्र ९, २०८१ २२:२८
x
×