कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

सुनसान छ टुटुवानको खर्क 

श्रावण २३, २०८१
सुनसान छ टुटुवानको खर्क 

Highlights

  • लम्की स्किनको महामारीले रित्तिए गोठ, किसानमा निराशा

दोलखा — टुटुवानको खर्कमा चौंरी चराउँदै २५ वर्ष बिताएकी पार्वती थामीको अनुहार मलिनो छ । उमेरले ६० टेकेकी उनी टुटुवानका खर्कका गोठमा वर्षौ बितेको पत्तै नपाएको बताउँछिन् । बर्खाको समयमा चौंरीपालक किसानले कालिञ्चोक गाउँपालिका–१ को टुटुवानमा चौंरी चराउन गोठ सार्ने लाने गरेका छन् । तर यसवर्ष भने टुटुवानका गोठहरु सुनसान छन् ।

कुनै समय चौंरी र याकका गोठालाले टुटुवानमा रौनक हुन्थ्यो । तर यो वर्ष टुटुवान सुनसान छ । केही वर्ष अघिसम्म टुटुवानमा शेर्पा, तामाङ, मगर र थामी समुदायका चौंरी गोठले भरिन्थे । तर अहिले टुटुवानको खर्क खाली छ । टुटुवानमा भएका शेर्पाले एक गोठ पनि छैन भने तामाङ र मगरको १/१, थामीका ६ गोठ छन् । यही टुटुवानमा केही वर्षअघिसम्म ३२ गोठ हुन्थे ।

चौंरी चराउन टुटुवान आएकी पार्वतीको दैनिकी भर्खर व्याएका चौंरीका बाच्छा र सुत्करी चौंरीको स्याहार गरेर बित्छ । उनको चौंरी गोठमा ५ वटा चौंरी व्याएका छन् । तर पनि उनीको अनुहार मलिनो छ । गएको वर्ष उनलाई निकै ठुलो संकट आइलाग्यो । वर्षौदेखि पालेका १५ वटा चौंरी लम्की स्किनको महामारीमा मरे ।

सबै चौंरीलाई खर्क वरपर खाल्डो खनेर गाडिन् । लम्की स्किनले चौंरी गोठ रित्तिएका छन् । उनको गोठमा ३० वटा चौंरी थिए । ‘टुटुवानका खर्क सुनसान छ, खासै गोठ ल्याउन पनि मन लागेको थिएन,’ उनले भनिन, ‘बाँचेका चौंरीलाई चराउनैपर्ने बाध्यताले आएकी हुँ, निकै संघर्ष गरेर गोठ भरिएका थिए रोगले खाली बने ।’

हाल एउटा चौंरीको मूल्य एक लाख पर्ने उनले बताइन् । रोगले १५ लाख भन्दा बढीको क्षति भएको उनको भनाइ छ । चौंरीको बिमाको रकम पनि नपाएको उनले गुनासो गरिन् । ‘चौंरी पालेर टुटुवानका लेकमा जीवनको जोशिला २५ वर्ष बिताएँ, आम्दानीको श्रोत पनि यही थियो,’ उनले भनिन्, ‘रोगले धेरै चौंरी मरिगयो, आम्दानी पनि घटेको छ, कसरी घरखर्च चलाउने भन्ने पीर परेको छ ।’

टुटुवानमा हाल ८ गोठ छन् । हरेक गोठका चौंरी लम्की स्किनको महामारीले क्षति गरेको छ । उमेरले ७० टेकेका तुले थामी कसैले चौंरी किन्न आएमा गोठबाट विश्राम लिने मनस्थितिमा छन् । उनको गोठका ६ वटा चौंरी लम्की स्किनले मरेपछि गोठ रित्तो जस्तो भएको छ । भएका १७ वटा चौंरीमा ६ वटा मरेको उनले बताए ।

‘भएका चौंरी रोगले मरे, चौंरी थप्न पैसा छैन । थोरै चौंरी पालेर फाइदा छैन,’ उनले भने, ‘थोरै चौरीको आम्दानीले घर चलाउन सकिदैन, कोही किन्न आउँछन् कि भनेर बाटो हरेर बसेको छु ।’ पहिलाको जस्तो चौंरी गोठ र गोठालाले टुटुवानमा हुने रमाईलो पनि हराएको उनले बताए ।

टुटुवानमा पुर्खयौंली गोठ ल्याउने गरेका अम्बर बहादुर मगरका १३ वटा चौंरी लम्की स्किनले मरे । तर पनि उनलाई टुटुवानको खर्क अझै प्यारो लाग्छ । तर विगतको जस्तो रौनक नभएको उनले बताए । ‘सुख सयलमा धेरैले चौंरी पाल्न छाडे, हरेक वर्ष गोठ घटने क्रममा छन्,’ उनले भने, पहिला धेरै गोठ हुँदा चरणका लागि खर्क पुग्दैन जस्तो लाग्थ्यो, अहिले खर्क धेरै छ, चौंरी गोठ थोरै छ । चौंरीपालनबाट आम्दानी राम्रो लिन सकिने उनको बुझाई छ ।

टुटुवानका चौंरी गोठमा महिलाको भूमिका धेरै हुन्छ । बिहान साँझ चौंरी दुहुन,दुध उमाल्नु र त्यसका परिकार तयार पार्नु हो महिलाको जिम्मेवारी हुन्छ । पुरुषले चौंरी गोठमा महिलालाई सघाएका हुन्छन् । अधिकांस टुटुवानका गोठका चौंरी महिलाले दुने गरेका छन् । तर विगतमा जस्तो गोठमा चौंरीका परिकार छैनन् यो वर्ष टुटुवानमा ।

चौंरीको दुध सिधै नजिकै खुलेको चिज उद्योगमा लैजाने गरेको मगरले बताए । चिज उद्योगले सिधै दुध खरिद गर्न थालेकाले चौंरी गोठमा घिउ छुर्पी बनाउन छाडेको उनले बताए । ‘सिधै दुध चिज उद्योगलाई दिने गरेका छौं, यसबाट फाईदा पनि राम्रो भएको छ,’ उनले भने, ‘फ्याट अनुसार प्रतिलिटर उद्योगले एकसयसम्म दिन्छ, गोठमा घिउ छुर्पी बनाएर बजार पुर्‍याउनु पर्ने अवस्था छैन् ।’

टुटुवानका खर्कमा लहरै चौंरी गोठ र ती गोठमा टुङना धुनहरु प्नि हराएको धेरै वर्ष चौंरी गोठमा विताएका ७६ वर्षिय निमाछिरि तामाङले बताए । ‘मैले टुटुवानमा गोठ ल्याउँदा खुबै रौनक हुन्थ्यो, दिनभरि गोठालाका भाका गुञ्जन्थे,’ उनले भने, ‘४/५ भेडी गोठ पनि थिए, निकै रमाईलो हुन्थ्यो, अहिले सुनसान छ ।’ शेर्पाहरु सबै चौंरी बेचेर विदेश लागेको उनले बताए । शेर्पा र तामाङको गोठले भरिन्थ्यो टुटुवान,’ उनले भने, सबै सुख खोजेर विदेश लागे, अहिले शेर्पाको गोठै छैन्, तामाङको पनि विउ एक गोठ छ, भेडी गोठ सबै मासिए ।’

आफुले जवानीको उमेर खाई खेली गरेर विताएको टुटुवान सुनसान बन्दा विरक्त लागेर आएको उनले बताए । कहिले काँही अहिलेपनि टुटुवान घुम्न जाने गरेको उनले बताए ।

प्रकाशित : श्रावण २३, २०८१ १६:२१
×