कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अझै संचालनमा आएनन् वीरगन्जका ७ छोटी भन्सार

भाद्र १५, २०८१
अझै संचालनमा आएनन् वीरगन्जका ७ छोटी भन्सार

पर्सा — वीरगन्ज भन्सार कार्यालय मातहतका ११ मध्ये ४ मात्र छोटी भन्सार संचानलमा रहेका छन् । हाल पर्साका ठोरी र भिष्वा तथा बाराका सिम्रौनगढ र मटिअर्वा छोटी भन्सार मात्र संचालनमा छन् । कोरोना महामारीपछि बन्द रहेको सिम्रौनगढ छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय पुनः संचालनका लागि दुवै पालिकाका बासिन्दाले लामो संघर्षसमेत गरेपछि यी छोटी भन्सार गत आर्थिक वर्षदेखि संचालनमा आएका हुन् ।

वीरगन्ज भन्सार कार्यालयले हाल प्रत्येक छोटी भन्सारमा १/१ नायब सुब्बा र कार्यालय सहयोगी खटाएको छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रघुलाल कर्ण बाँकी रहेका ७ छोटी भन्सार पुनः संचालन गर्ने सम्बन्धमा खासै योजना नरहेको बताउँछन् । ‘तत्काललाई संचालनमा आउन नसकेका ७ छोटी भन्सार पुनः संचालन गर्ने योजना छैन,’ उनले भने, ‘हामीसँग कर्मचारी अभाव पनि छ ।’

विगतमा संचालनमा रहेका कतिपय छोटी भन्सार माओवादी द्वन्द्वकालमा बन्द भएका थिए । अझै पनि पर्सा र बाराका कवही, सिर्सिया, कचोर्वा, अलौं, पिपरपाती, जानकीटोला र गाड प्रसौनी भन्सार अझै संचालनमा आएका छैनन् । यी मध्ये गाड प्रसौनी भन्सार एकीकृत सुरक्षा जाँच चौकी नजिक रहेकाले भविष्यमा यो भन्सार संचालन नै नहुने सम्भावना पनि छ ।

छोटी भन्सार भएका अधिकांश नाका बजारहरू अहिले ठूलो बजारका रूपमा परिणत भइसकेका छन् । त्यहाँबाट दैनिक भारतीय बजारमा गई किनमेल गरेर फर्किने नेपालीको संख्या बाक्लै छ । सीमामा भन्सार कार्यालय नै नहुँदा सरकारले दैनिक ठूलो परिमाणमा राजस्वसमेत गुमाइरहेको छ ।

सीमाका नेपाली बजारका व्यापारीहरूले आफ्नो पसलका लागि पनि भारतीय बजारबाट मालसामान खरिद गरेर ल्याउँछन् । तर, सीमामा खटिने सशस्त्र तथा नेपाल प्रहरीले ती सामान खोस्दा उनीहरूलाई मर्का पर्ने गरेको छ । भन्सार कार्यालय नहुँदा उनीहरूले राजस्व तिरेर ल्याउन चाहे पनि त्यसो गर्न पाउँदैनन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत कर्ण हाल संचालनमा रहेका ४ वटा छोटी भन्सारले मासिक सरदर २ देखि २ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरिरहेको बताउँछन् ।

प्रकाशित : भाद्र १५, २०८१ १८:२१
x
×