कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दुग्धमती नदी अतिक्रमणमुक्त गराइने 

भाद्र १२, २०८१
दुग्धमती नदी अतिक्रमणमुक्त गराइने 

धनुषा — ऐतिहासिक तथा धार्मिक महत्त्वको दुग्धमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गरिने भएको छ । 

उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नै सो कार्य गरिने भएको हो । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय बैठकले वि.सं. २०२४/०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा सो कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्ने निर्णय गरेको छ ।

बैठकले दुग्धमती नदीको सीमा यकिन भएपछि अतिक्रमणका विषयमा जानकारी हुने र त्यसआधारमा नदीको बहाव क्षेत्र खाली गराउने कार्य तीव्रगतिमा अघि बढाउने निर्णय गरेको मुख्यमन्त्री सिंहले बताए ।

यसैगरी दुग्धमती नदीको बहाव क्षेत्र अतिक्रमण लगायतका स्थितिबारे जानकारी लिन मुख्यमन्त्री सिंहले धनुषाको क्षिरेश्वर नगरपालिका–५ स्थित दुग्धमतीको उद्गमस्थलदेखि लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं.३ स्थित बनिनियाँसम्म अवलोकन गरेका छन् ।

लक्ष्मीनियाँ-३ स्थित बनिनियाँभन्दा उत्तर उद्गमस्थलसम्म नदीको बहावक्षेत्र नै अतिक्रमित छ । त्यस क्षेत्रमा खेतमुनि भएर पानी बग्ने गरेको छ । सरकारी अधिकारीहरूसमेत सम्मिलित मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले दुग्धमती पोखरीसँगै दक्षिणी भूभाग बनिनियाँसम्मको नदी अवलोकन गरेको हो ।

दुधमती नदीमा धार्मिक तथा पौराणिक ग्रन्थमा समेत उल्लेखित पवित्र नदी मानिन्छ । श्रीपञ्चमीका दिन नदीको उद्गमस्थलमा ठूलो मेला लाग्ने गर्दछ ।

प्रकाशित : भाद्र १२, २०८१ १७:१०
x
×