कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

शान्तिपूर्ण रह्यो भीमसेन जात्रा

भाद्र १२, २०८१
शान्तिपूर्ण रह्यो भीमसेन जात्रा

पर्सा — वीरगन्जका नेवार समुदायको भीमसेन जात्रा मंगलबार राति शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक भारतीले जात्राको क्रममा कुनै अप्रिय घटना नभई शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।  

जात्रामा विगतमा जस्तो हुन सक्ने सम्भावित झडपलाई दृष्टिगत गरी सादा पोशाकमा समेत गरी करीब २ सय ५० को संख्यामा नेपाल प्रहरी र करीब ५० को संख्यामा सशस्त्र प्रहरी समेत खटिएको थियो ।

‘महानगरको चोक चोकमा सुरक्षकर्मी परिचालित थिए,’ डीएसपी भारतीले भने, ‘सूचना संकलनलाई पनि प्राथमिकता दिएका थियौं, त्यस कारण पनि जात्रा अवधि भर कुनै अप्रिय घटना भएन ।’

दशक अघिसम्म पनि भीमसेन जात्राको नाम सुन्ने बित्तिक्कै दुई समूहबीच सम्भावित झडपको अनुमान गरिन्थ्यो । पछिल्लो केही वर्षयता भने यहाँको भीमसेन जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न हुन थालेको छ । विगतको जस्तो झडप हुने, जात्राका सहभागीहरु घाइते हुने र स्थानीय घर वा व्यापारिक प्रतिष्ठानको झ्यालका सीसी तोडफोड हुने घटना भएका छैनन् ।

परम्परा अनुसार, वर्षेनि जात्राको दिन विर्तामाई मन्दिरबाट डोलासहित जात्रा निस्कन्छ । जात्रा मुख्य सडकबाट गहवामाई मन्दिर भएर नगर परिक्रमा पछि पुनः विर्तामाई मन्दिरमा पुगेर सम्पन्न हुने गर्छ ।

विगतमा जात्रा गहवा पुग्दा त्यहाँ युवाहरुले डोला खोस्ने प्रयास गर्दा वर्षेनि विर्ता र गहवाका युवा समूहबीच झडप हुने गर्थ्यो । त्यस क्रममा जात्राका सहभागी घाइते हुनुका साथै झडप र ढुंगामुढाको क्रममा सर्वसाधारणको घर तथा व्यापारिक प्रतिष्ठानका झ्यालका सीसा तथा अन्य सार्वजनिक सम्पत्तिहरु पनि तोडफोड हुने गर्थ्यो ।

जात्रामा यहाका नेवार समुदाय बाहेकका गैर नेवार समूदायको पनि उपस्थिति हुने गर्छ । देशका अन्य सहरका र त्यसमा पनि तराइको सहरका नेवार समुदायले यो जात्रा कमै मान्ने चलन रहेपनि वीरगन्जका नेवार समुदायले भने पुर्ख्यौली जात्रा परम्परा विधि पूर्वक मनाएर जोगाएको नेवा पुचः वीरगन्जका कोषाध्यक्ष सुन्दर श्रेष्ठ बताउँछन् ।

जात्रामा ‘लियो लियो, पायो पायो’ नारा सहभागीहरुले उच्चारण गर्ने चलन रहेकाले धेरैले यो जात्रालाईनै ‘लियो लियो, पायो पायो’ जात्राको रुपमा सम्बोधन गर्छन् । नेवार समुदायले भीमसेनलाई कुल देउताको रुपमा पुजा अर्चना गर्ने चलन छ । जात्रा निकाल्दा आर्थिक सम्वृद्धी, बैभव, सुस्वास्थ्य र आरोग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित : भाद्र १२, २०८१ १५:२४
x
×