कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सोलार प्लान्टका लागि आँप बगैंचा नमास्न स्थानीयवासीको माग

भाद्र ९, २०८१
सोलार प्लान्टका लागि आँप बगैंचा नमास्न स्थानीयवासीको माग

जनकपुर — धनुषाको बटेश्वरमा ८२ बिघाको आँप बगैँचा माँसेर सोलार प्लान्ट लगाउन भइरहेको तयारीको बिरोध गर्दै मुख्यमन्त्री सतिशकुमार सिंहलाई आइतबार ज्ञापन पत्र बुझाइएको छ । बटेश्वर क्षेत्रका अगुवाहरुले ज्ञापनपत्रमार्फत सोलार प्लान्टका लागि आँप बगैंचा मास्न नदिन आग्रह गरेका हुन् । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले आँप बगैंचाको साटो सोलार प्लान्टका लागि नदीउकास जग्गा उपलब्ध गराउने पहल भइरहेको बताएका थिए । उनले वृक्षारोपण गरी दिगो वन व्यवस्थापन, वनबाट हुने फाइदा बढाउन हरितगृह ग्यास उत्सर्जन घटाउन प्रदेश सरकार गम्भीर रहेको बताए।

बटेश्वरको ८२ बिघामा रहेको आँप बगैँचा मासेर ५० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्ने तयारी छ । त्यसको भने स्थानीयले विरोध गर्दै आइरहेका छन् । जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका फुलगेन मगहीसहितका अभियन्तालाई मुख्यमन्त्री सिंहले सोलार प्लान्टका लागि कृषि प्रयोजनबाट उब्रिने नदीउकास जग्गा दिने विषयमा गृहकार्य भइरहेको बताए ।

‘सोलार प्लान्ट राष्ट्रिय प्रसारण ग्रीडको निश्चित दूरीमा रहनुपर्ने भएकाले समस्या छ । तर, यसको समाधान पनि खोजिनेछ,’ उनले भने । मुख्यमन्त्री सिंहले प्रदेशमा आँपको पकेट क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक पूर्वाधार विकासलगायतका काम गरिरहेको भन्दै बटेश्वर क्षेत्रमा कृषि विद्युतीकरण तथा डिप बोरिङ‍मार्फत सिंचाइ व्यवस्थापन र आँप भण्डारण गर्न कोल्ड स्टोर व्यवस्थापनका लागि आवश्यक कार्य गर्न भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई निर्देशन दिएको बताए ।

मुख्यमन्त्री सिंहलाई बुझाइएको ज्ञापनपत्रमा आँप किसान लक्षित गरी बटेश्वर गाउँपालिकामा कोल्डस्टोर निर्माण, नीलगाई व्यवस्थापन, नमुना पकेट क्षेत्र घोषणा अनुसार किसानलाई अनुदान र आँप खेतीका लागि विशेष अनुदानमा कीटनाशक औषधि, मलखाद र उपकरणको व्यवस्था, सिंचाइ तथा बजार व्यवस्थापन गरिदिन प्रदेश सरकारसँग आग्रह गरिएको छ ।

प्रकाशित : भाद्र ९, २०८१ १५:३१
x
×