कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

वीरगन्ज मेन रोड विस्तार मुद्दाको सुनवाइ २४औँ पटक पनि स्थगित

जेष्ठ २७, २०८१
वीरगन्ज मेन रोड विस्तार मुद्दाको सुनवाइ २४औँ पटक पनि स्थगित

वीरगन्ज — सर्वोच्च अदालतमा विचाराधीन रहेको वीरगन्ज महानगरपालिकाको मुख्य सडक (मेन रोड) विस्तारको मुद्दाको सुनवाइ आइतबार २४औँ पटक पनि स्थगित भएको छ ।

त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको गण्डक चोकदेखि पावर हाउस, घन्टाघर, माईस्थान चोक, आदर्शनगर, रजतजयन्ती चोक हुँदै नाकामा रहेको मितेरीपुल सम्मको मुख्य सडक विस्तारको विषयमा दायर मुद्दामा आइतबार पेशी तोकिएको थियो । तर सर्वोच्चले उक्त मुद्दाको सुनवाइ फेरि हेर्न नभ्याइनेमा राखेपछि पेशी २४औँ पटक पनि सरेको हो ।

वीरगन्जको मेन रोड विस्तारको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशमा परेको थियो । उक्त इजलासमा शुक्रबारकै मुद्दा सुनुवाइको निरन्तरता रहेकाले वीरगन्ज मुख्य सडकको मुद्दा १ नम्बरमै परे पनि हेर्न नभ्याइनेमा रह्न पुगेको सर्वोच्चका प्रवक्ता वेदप्रकाश उप्रेतीले जानकारी दिए ।

सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ मा छठ पर्व पछि नै सडक विस्तारको तयारी थालेको थियो । त्यसअघि २०७६ भदौमा निकालेको १५ दिने सूचनाको म्याद सकिएपनि फेरि म्याद दिएर आयोजना कार्यालयले धरधनीलाई आफ्नो घर आफैँ भत्काउन आग्रह समेत गरेको थियो ।

सडक विस्तार आयोजनाले एक चरणको नापीको काम समेत सम्पन्न गरिसकेको छ । मेन रोड दायाँ/बायाँ बस्ने घरधनीले मुआब्जाको माग गर्दै सर्वोच्चमा मुद्दा दिएका छन् । लक्ष्मण साह रौनियार, राजकुमारी देवी तुलस्यान, भरतप्रसाद रौनियार र वीरेन्द्र कुमार संघाइले मुद्दा दायर गरेका हुन् ।

सडक विस्तार हुने हो कि होइन् भन्ने विषय नटुंगिदा सडक दायाँ/बायाँका घरधनिले लामो समयदेखि घर रंगरोगन तथा मर्मत सम्भारमा समेत गरेका छैनन् । चाडपर्वमा समेत त्रिभुवन राजमार्ग छेउका घरहरु रंगरोगन हुन छाडेका छन्, यसले सहर कुरुप देखिदै गएको छ । ट्राफिक व्यवस्थापनमा समेत समस्या देखापरेको छ । बढ्दो जनसंख्या र सवारी चापले मधेशको एकमात्र महानगर सहर अस्तव्यस्त बनेको छ ।

प्रकाशित : जेष्ठ २७, २०८१ १९:०६
x
×