कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

मुना हत्या प्रकरण : छोरीको अन्त्येष्टिका लागि आमा अमेरिकातर्फ

भाद्र २०, २०८१
मुना हत्या प्रकरण : छोरीको अन्त्येष्टिका लागि आमा अमेरिकातर्फ

धनकुटा — अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेको अन्त्येष्टिका लागि उनकी आमा अनिता अधिकारी पाण्डे बिहीबार बिहान अमेरिका प्रस्थान गरेकी छिन् ।

छोरीको हत्यापछि अनिताले अमेरिका जानका लागि भिसा आवेदन दिएकी थिइन् । काठमाडौंस्थित अमेरिकी दूतावासबाट भिसा पाएपछि अमेरिका जान लागेको उनले सुनाइन् ।

‘एनआरएनको सहयोगमा छोरीको सद्गतका लागि अमेरिका जान लागेकी हुँ, जहाजमा चढिसकें,’ बिहीबार बिहान २ बजे उनले कान्तिपुरसँग कुराकानी गर्दै भनिन्, ‘अमेरिकामा रहेका एनआरएनका पदाधिकारी लगायत त्यहाँ रहेका आफन्तजन र नेपालीको सहयोगमा छोरीको अन्त्येष्टि गरिने जानकारी पाएकी छु ।’ उनका अनुसार भदौ २४ मा मुनाको दाहसंस्कार हुने कार्यक्रम छ ।

उनले छोरीको हत्यामा संलग्नलाई कडा कानुनी कारबाहीको माग गर्दै आएकी छिन् । ‘आफू विछिप्त अवस्थामा रहेका कारण यसभन्दा धेरै कुरा गर्न नसक्ने’ भन्दै उनले अमेरिकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी गराउने पनि बताइन् ।

ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत मुना सन् २०२१ मा अमेरीका गएकी थिइन् । मुनाको ह्युस्टन राज्यस्थित हिलक्रप्ट नजिक उनी बस्दै आएको अपार्टमेन्टमा भदौ ११ मा गोली हानी हत्या गरिएको थियो । उक्त दिन अपरान्ह ५ बजेर ३५ मिनेटमा घटनास्थल पुगेका प्रहरीले उनलाई मृत फेला पारेका थिए ।

हत्याको अभियोगमा गत भदौ १३ मा अमेरिकी प्रहरीले बबीसिंह साह नामका व्यक्तिलाई पक्राउ गरेको छ ।

मुनाको मावलीघर भोजपुरको साल्पासिलिछो–३ चौकीडाँडा हो । उनको घर संखुवासभाको खाँदबारी नगरपालिका– २ चेवामा छ ।

प्रकाशित : भाद्र २०, २०८१ १४:२८
x
×